पत्रपत्रिकामा आज : ८ हजार हेक्टर वन सखाप, सडकसँगै गाउँ पुग्यो प्रदूषण

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा सडकसँगै गाउँ पुग्यो प्रदूषण शिर्षकमा दीपक भट्टको समाचार छापिएको छ । विकासका नाममा गाउँ पुगेका सडकले प्रदूषण बढाएका छन् । स्थलमार्ग हुँदै गाउँ पुगेका प्लास्टिकका झोला र प्लास्टिकजन्य सामानका खोलले गाउँलाई बिस्तारै कुरूप बनाउन थालेका छन् । जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न अचेल गाउँगाउँमा डोजर परिचालन भएका छन् । जिल्लाका अधिकांश स्थानीय तहका वडामा कच्ची सडक पुगिसकेका छन् । सडक नपुगेका वडामा पनि चालू आर्थिक वर्षभित्रै पुर्याउने लक्ष्य जनप्रतिनिधिले लिएका छन् ।

सडकबाट निस्केको धुलोले गाउँमा लगाएको अन्नबाली, तरकारी खेती र फलफूलका बगैँचा छोपिएका छन् । डाले तथा भुइँ घाँसमा समेत धुलोले असर पारेको किसानले गुनासो गरे । साथै, यात्रुले प्रयोग गरेका पानीका बोतल, चाउचाउलगायत प्लास्टिकका खोल र रक्सीका बोतल जतासुकै फुटाएका कारण समस्या भएको उमाकुण्ड गाउँपालिका–१ का रामचन्द्र विकले बताए । उनका अनुसार गुम्देल जिल्लाको सबैभन्दा दुर्गम गाउँ हो । गुम्देलमा समेत अहिले सडकजन्य प्रदूषणको असर परिरहेको उनको भनाइ छ ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ टेन्डर शिर्षकमा समाचार छापिएको छ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का गर्ने तयारी शुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ।

समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताए। ‘बाँकी काम सम्पन्न गर्नका लागि नयाँ ठेक्काको तयारी भईरहेको छ ।’, उनले भने–‘हप्तादिन भित्र ठेक्का लगाउने तयारी गरेका छौं ।

कान्तिपुर
–आजको कान्तिपुरमा ८ हजार हेक्टर वन सखाप शिर्षकमा प्रताप विष्टको समाचार छापिएको छ । प्रदेश ३ का जिल्लामध्ये मकवानपुरमा सबैभन्दा धेरै वन अतिक्रमण भएको खुलेको छ । प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको पार्श्वचिक्रअनुसार यहाँ ३ हजार ७ सय ९ हेक्टर वनक्षेत्र अतित्रमण गरी ५ हजार ९ सय ५५ घरटहरा बनाइएका छन् । मकवानपुर प्रदेशकै सबैभन्दा बढी वनक्षेत्र रहेको जिल्ला हो ।

यो प्रदेशका १३ जिल्लामा ७ हजार ७४ हेक्टर वनक्षेक्र अतित्रमण मन्त्रालयको तथ्यांक छ । मकवानपुरपछि चितवनमा १ हजार ४ सय २० हेक्टर अतिक्रमण भएको छ । यस्तै सिन्धुलीमा १ हजार १ सय २५, धादिङमा १९।५५ हेक्टर, रसुवामा २९।४, काठमाडौंमा ३५।४४, नुवाकोटमा ८४ र ललितपुरमा १७ हेक्टर वनक्षेत्र मासिएको छ ।

काभ्रेपलाञ्चोकमा २ सय ५७, सिन्धुपलाञ्चोकमा १ सय ९३, रामेछापमा १ सय ५४, दोलखामा २१ हेक्टर र भक्तपुरमा ७।४ हेक्टर वन अतिक्रमित छ । प्रदेशको कुल क्षेत्रफलको ५३।७३ प्रतिशत वनक्षेत्र रहेको छ । मकवानपुरमा सबैभन्दा बढी ६८।१५ प्रतिशत वनले ओगटेको छ । सबैभन्दा सानो जिल्ला भक्तपुरमा सबैभन्दा २०।१० प्रतिशत वनक्षेत्र छ ।

नागरिक
–आजको नागरिकमा चुरे दोहन नियन्त्रणमा सरकार उदासीन शिर्षकमा मिथिलेश यादवको समाचार छापिएको छ । देश २ को प्रदेशसभाको पहिलो बैठकमै सांसदहरूले ‘चुरे संरक्षण’ साझा मुद्दा बन्नुपर्ने धारणा जोडदारका साथ राखेका थिए। तर प्रदेशसभा गठनको एक वर्ष पूरा भइसक्दा पनि चुरे दोहन थामिएको छैन। मधेसी दलका नेताहरूले भाषणमार्फत प्रदेश समृद्धिबारे विविध सवाल उठाउँदै आए पनि त्यसको मेरुदण्ड चुरे क्षेत्र मजबुत बनाउनेतर्फ भने कुनै अर्थपूर्ण कार्य अघि बढाएको पाइँदैन। प्रदेश सरकारले प्रदेशसभामा अहिलेसम्म संरक्षणमुखी विधेयकसमेत ल्याउन सकेको छैन। प्रदेशसभा सदस्य एवं प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले चुरे संरक्षण नभए प्रदेशको भविष्य खतरामा पर्ने भन्दै ध्यान आकर्षण गराउँदै आएका छन्। मधेसलाई मरुभूमीकरणबाट जोगाउन मात्र नभई बाढीपहिरोको विपद्बाट जोगाउनसमेत चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ।

Facebook Comments