नदीमै आश्रित, माछाले धानेको जिन्दगी

कैलाली– ‘अहिलेसम्म कर्णाली नदीले हामीलाई खानेपानी र सिंचाइका लागि धेरै सहयोग गरिरहेको छ,’ कर्णालीमा माछा समेत मारेर घरखर्चको जोहो गर्दै आएका सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँका डम्बर राजीको यो भनाइसँग नदी तटीय क्षेत्रका मानिसको भोगाइ जोडिएको छ।

उनको वास्तविकता पनि यहि हो। छेउमै बग्ने कर्णाली नै उनको परिवारको बाँच्ने आधार हो। खानेपानीको मुख्य स्रोत नै कर्णाली हो। बिहान र साँझ यही नदीको पानीले उनको भान्छाको खाना तयार हुन्छ। खानेपानीको वैकल्पिक स्रोत नभएका ठाउँमा नदीबाट जीवन गुजार्नु नदी तटीय क्षेत्रका स्थानीयको बाध्यता हो। चौकुने गाउँपालिका ९ घाटगाउँकी कमला जोशी भन्छिन्, ‘बर्खा र हिउँदमा कर्णाली नदीकै पानी पिउछौं।’

पछिल्लो समय जलाधार क्षेत्रमा हुने गरेका मानवीय गतिविधि र अतिक्रमणले पनि नेपालका धेरै नदी खोलामा असर पुर्याएको छ। नदी करिडोरमा प्राविधिक जाँच बिना सडक खनिनु र नदी किनारलाई फोहोर विस्थापन गर्ने थलोको रुपमा लिइनु जस्ता कारण नदीले आफ्नो प्राकृतिक स्वरूप गुमाउँदै गएका छन्। जनसंख्या वृद्धिका कारण पनि प्राकृतिक स्रोतमाथिको चाप बढेको देखिन्छ। नदीजन्य स्रोतको व्यवस्थित उपभोग नगरिनु अर्को कारण हो। धेरै फाइदा लिने बहानामा अपनाइएका हानिकारक गतिविधिकै कारण जलचरको अस्तित्वसमेत संकटमा परेको छ।

कयौँ प्रजातिका जलचर लोप हुँदै गएका छन्। त्यति मात्र नभइ यसले समग्र पारिस्थतिकीय प्रणालीमा समेत असर पार्ने देखिन्छ। यसको असर जलचरदेखि सर्वसाधारणको दैनिकीसम्म परेको छ।

कैलालीको मोहन्याल गाउँपालिका ६ सोल्टा कैलालीका दानबहादुर नेवार विष हालेर माछा मार्दा कर्णाली नदीमा माछा कम हुँदै गएको बताउँछन्। ‘अहिले त माछा भन्दा पनि शिकारी धेरै छन्। एक त माछाका भुरा खोलामै उत्पादन हुन्छन्। खोलामा गएर विष हाल्दिने, त्यसले गर्दा सानोदेखि ठूलो माछा कामै नलाग्ने गरी मरेर जान लाग्यो। त्यसकारण नदीमा माछा दिनप्रतिदिन कम हँुदै गइरहेको छ,’ उनले भने।

पहिलेदेखि माछा मारेर घरखर्च चलाउँदै आएका यस क्षेत्रमा मानिसहरु एक्कासी माछा मार्ने छोड्न नसक्ने समेत उनी बताउँछन्। दैलेखको आठबिस नगरपालिका–१ काका केशव बिकले कर्णाली नदीको पानी माछा मार्नेदेखि खानेपानी, नुहाउन, कपडा धुने काममा प्रयोग भइरहेको बताउँछन्।

नदी तटका स्थानीयको जीवन प्रायः नदीमै आश्रित छ। कतिपयको आम्दानीको मुख्य स्रोत नै माछा हो। उनीहरुको जीवन नदीखोलाकै माछाले धानेको छ। विभिन्न प्रजातिका जलचरहरुको आश्रयस्थल पनि नदी नै हो। यसरी नै गाँसिएको छ जल र जीवनबीचको सम्बन्ध।

प्राकृतिक स्रोतहरुमा महत्वपूर्ण स्थान ओगटेको पानी सम्पूर्ण जीवजन्तु एवं वनस्पतिहरूका लागि नभई हुँदैन। यसको प्रत्यक्ष फाइदा नदी तटीय क्षेत्रका जनताहरुले लिन पाउँछन। जसले स्थानियको दैनिकीमा सहजता ल्याउन सहयोग पुर्याउछ। त्यसैले तटीय क्षेत्रका बासिन्दा र संरक्षणपे्रमीहरु दिगो संरक्षणको पक्षमा छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, सुर्खेतका सचिव तथा मत्स्य विज्ञ शिवनारायण चौधरी करेन्ट लगाएर, बम पड्काएर माछा मार्दा अरु माछाहरु नपुंसक हुने र विष प्रयोग गरेर माछा मार्दा वंश विनाश हुने बताउँछन् ।

पछिल्लो समय नदी तथा जलाधार क्षेत्रमा भइरहेका विनाशकारी गतिविधिकै कारण जलचर संरक्षणमा चुनौती थपिएका छन्। त्यसैले कर्णाली प्रदेश अब यस्ता समस्या समाधान गर्न कानुनी रुपमै अगाडि बढ्ने भएको छ। नदी तथा जलचरको दिगो संरक्षणका लागि जलचर नीति बनाइने भएको छ। जलचर संरक्षण कार्यविधि तयार पार्न विभिन्न गृहकार्य भइरहेको छ। कार्यविधि पहुँचभन्दा पनि आवश्यकता आधारमा तयार पारिने छ।

‘हाम्रो त्यो कार्यविधि बनाउँदाखेरी जुन यो माछापालनको कुरा गरे त्यो आदिवासि, जनजाति र नदीमा माछा मार्ने आश्रित समूहलाई हामीले प्राथमिकता दिन्छौ,’उनले भने। कर्णाली प्रदेशले बनाउन लागेको जलचर संरक्षण ऐन जलचरमैत्री हुने उनी बताउँछन्।

‘जलचर संरक्षण ऐनमा हामीले के हाल्दै छौ भने माहु माछालाई नसमात्ने किनभने ऊ अण्डा पार्नलाई जादैछ। ठूलो वा एक किलोको माछा समाते पछि तीन चार लाख अण्डा त त्यसमा हुन्छ। सबै बिनाश हुने भयो। त्यसले गर्दा माहु माछा नसमात्ने र त्यसको साइज भन्दा धेरै सानो माछा पनि नसमात्ने धेरै ठूलो माहु पनि नसमात्ने र माहु समाते पनि प्रजनन समयमा नसमात्ने,’ उनले भने ।

सचिव चौधरीले दिनदिनै खोलामा माछा मार्न जादाखेरी माछाको संख्या पनि निकै घट्ने भएकाले त्यसको विकल्पमा माछा पाल्न दियाैं भने पालेकै माछा निकालेर बेच्नेसँगै आफूलाई पनि उपभोग गर्न र नदीमा माछा मार्नेको चाप कम हुने बताउँछन्।

सचिव चौधरीले कार्यालय परिसरमै माछा पोखरी बनाएका छन्। पोखरीमा विभिन्न प्रजातिका माछा हुर्काइएका छन्। मत्स्य तालिम सञ्चालन गर्दा उनी यहि पोखरीको सहयोग लिन्छन्। यसले माछा पालनका लागि आवश्यक ज्ञान बाँड्न सघाएको छ।

कर्णाली प्रदेशले जलचर संरक्षणका लागि योजनावद्ध ढंगले अगाडि बढ्ने भावी योजना पनि बनाएको छ। यसका लागि माछा संरक्षणको दिगो योजना बनाइने छ। नदी तटीय क्षेत्रमा सामुदायिक नदीको अवधारणा ल्याइने छ। त्यस्ता ठाउँमा माछा संरक्षण समूह गठन गरिने छ। स्थानियलाई जलचरको दिगो संरक्षणप्रति जिम्मेवार पनि बनाइने छ। यसले संरक्षण क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने चौधरीको विश्वास छ।

‘हामीले खाएर माछा घट्ने वाला छैन। किनभने एक किलोको माछा हो भने उसले तीनदेखि चार लाखसम्म अण्डा दिन्छ। भनेपछि हामीले मिलाएर गर्यौं भने माछाको पनि संरक्षण हुन्छ,’ उनले भने।

Facebook Comments