पश्चिम नेपालका जलाधारको संरक्षणका लागि ठोस कार्ययोजना आवश्यक

शुक्रबार, फाल्गुन २४, २०७५

काठमाडौं–पश्चिम नेपालमा पानीका स्रोतको व्यवस्थापनका लागि त्यहाँ रहेका जलाधार क्षेत्रको संरक्षणको आवश्यकता रहेको औंल्याइएको छ।

कैलालीकाे भजनी नगरपालिका, कुटीमा साेलारपम्प जडान गर्दै स्थानीय। Photo Source : Claire Swingle

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले बिहीबार ललितपुरमा आयोजना गरेको अन्तक्र्रियामा कर्णाली, मोहना र महाकाली नदी जलाधार क्षेत्र संरक्षणका लागि ठोस कार्ययोजनाका साथ काम गर्नुपर्ने औंल्याइएको हो। उक्त संस्थानले युएसएडको सहयोगमा पश्चिम नेपालमा ‘दीगो जल विकास परियोजना सञ्चालन गर्दै आएको छ।

संस्थानकी जलविद्युत एवं पानीको स्रोत सम्बन्धी अनुसन्धानकर्ता डा. लुना भारतीका अनुसार मध्य र सुदूरपश्चिममा रहेको उक्त जलाधार क्षेत्रमा पानीको स्रोत र जैविक विविधता बढी भएपनि पछिल्लो समय जलवायु परिवर्तनको उच्च जोखिममा छ। जसकारण अतिवृष्टि, अनावृष्टि, बाढीपहिरोको समस्या बढ्दै गएको उल्लेख गर्दै डा. भारतीले त्यसप्रति चनाखो हुनुपर्ने औंल्याइन्।

उनका अनुसार मेलेख, डोटी र कुनेबाटामा सञ्चालन गरिएका पाइलट परियोजनाले समूहको निर्माण गरेर, पोखरीहरूको पुनर्निर्माण गरिएको छ, भने सोलार पम्प र पाइपिङको सुविधामार्फत् सुख्खायाममा सिंचाइको सुविधा पुर्याइएको छ।

सोही संस्थानका जलविद्युत एवं पानीको स्रोत सम्बन्धी अनुसन्धानकर्ता विष्णुप्रसाद पाण्डे कर्णाली जलाधार क्षेत्रमा जलविद्युत र सिंचाइको एकदमै सम्भावना छ। ‘कर्णाली र महाकाली जलाधार क्षेत्रमा रहेका नदी, खोलामा जलविद्युतको सम्भावना धेरै छ, सिंचाइका लागि पनि पानी प्रयोग गर्न सकिन्छ,’ उनले भने।

पाण्डेका अनुसार ती तीनवटा जलाधार क्षेत्रमा ० दशमलव ५ मेगावाटमाथिका एक सय ५० वटा जलविद्युत/ लघुजलविद्युत आयोजना सञ्चालन गर्न सकिने सम्भावना रहेको छ। जसबाट २१ हजार मेगावाट विद्युत उत्पादन हुनसक्छ।

तर, पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा बाढीपहिरोको समस्या बढेको काठमाडौं विश्वविद्यालयकी अनुसन्धानकर्ता रामदेवी तचामो बताउँछिन्। ‘कुनै पनि जलवायु परिवर्तन सम्बन्धी नीतिमा लोकेसन र क्लाइमेट स्पेसिफिकक्लाइमेट प्रोजेक्सनको आवश्यकता पर्दछ, किनभने भौगोलिक रुपले प्रोजेक्सनहरू पश्चिम नेपाल भरी नै फरक पर्न सक्छ र साउथ रेसियाको प्राजेक्सनभन्दा लोकल भ्यालुहरु उच्च हुने गर्दछन्,’ उनी भन्छिन्।

लामो मनसुन, पानीसँग सम्बन्धीत छिनछिनमा हुने परिवर्तन र सुख्खापन देखापर्ने देखिन्छ, जुन समस्या सो क्षेत्रमा देखा पर्न थालेको उनी बताउँछन्।

Facebook Comments