कञ्चनपुर : दुईवटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन, ६ मा तयारी

महेन्द्रनगर–कञ्चनपुरका अधिकांश सामुदायिक वनमा सालको घना जंगल छ। सालका वनमा प्रायः बुढा रुखको संख्या अत्यधिक छ। बाक्ला रुखका कारण माथिल्लो भागमा रुख जोडिएर छत्र जस्तै बनेका छन्, सामुदायिक वन।

रामनगर सामुदायिक वन क्षेत्रमा भइरहेको वैज्ञानिक वन व्यवस्थापन पुनः उत्पादन कटान कार्यको अनुगमन गर्दै वनका कर्मचारी।

यसले प्रकाश संश्लेषण हुन नसक्दा बिरुवा उत्पादन हुन सकिरहेको छैन। एक्कासी बुढा रुखहरु एक पटक ढलेमा वन क्षेत्र नांगो वा नष्ट हुने जोखिम छ। यहि जोखिमबाट जोगिन कञ्चनपुरका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको छ।

गत वर्षदेखि सामुदायिक वनमा वन व्यवस्थापनको काम सुरु भएको हो। डिभिजन वन कार्यालय र विभिन्न सामुदायिक वनले वन व्यवस्थापनको काम गरिरहेका छन्। प्राकृतिक प्रकोपले बुढा रुख ढलेमा वन क्षेत्र नांगो हुने सम्भावना अत्यधिक भएकाले विरुवा पुनःउत्पादनका लागि कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन सुरु गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत मोहन काफ्लेले  जानकारी दिए। उलने सालका रुखको औसत आयु ८० वर्ष मानेर त्यहि अनुसार कार्ययोजना निर्माण गरि वन व्यवस्थापनको काम भइरहेको बताए।

गत वर्ष कृष्णपुर नगरपालिका–५ र ६ मा पर्ने सिंहपुर सामुदायिक वन र बेलौरी नगरपालिका–५ को रामनगर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भएको थियो। पहिलो वर्ष सिंहपुर सामुदायिक वनमा २.८ हेक्टर र रामनगरमा २ हेक्टरमा रहेका बुढा रुख काटिएको सबडिभिजन वन कार्यालय बाणिका सहायक वन अधिकृत विश्वराज पण्डितले बताए।

‘यो वर्ष पनि करीब ३ हेक्टरमा रहेका बुढा रुख काटन देखि व्यवस्थापन गरिन्छ, विरुवा पुनः उत्पादनमा पनि जोड दिएका छौं,’ उनले भने । बुढा रुख कटानदेखि काठ व्यवस्थापन र विरुवा पुनः उत्पादनमा समुदायको उत्साहजनक सहभागिता देखिएपछि डिभिजन वन कार्यालयले उक्त क्षेत्रका थप आधा दर्जन सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरिएको सहायक वन अधिकृत पण्डितले बताए।

उनका अनुसार पश्चिम तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा कृष्णपुर नगरपालिका–९ को सिता सामुदायिक वन, वडा नं. ४ को ग्वासी सामुदायिक वन, वडा नं. ६ को महाकाली सामुदायिक वन, वडा नं. १ को जगदम्बा मयुर सामुदायिक वन, र पुर्नवास नगरपालिका १० को अमर गोकुल सामुदायिक वनमा यस वर्षदेखि वैज्ञानिक वन वयवस्थापनको काम सुरु भएको छ।

अहिले सबै सामुदायिक वनमा कार्ययोजना निर्माणदेखि माउ रुख छनौट लगायतका गतिविधि भइरहेका छन्। कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको सहायक वन अधिकृत पण्डितले बताए। ‘कार्ययोजना बनेपछि कटानको काम सुरु गर्छौ,’ उनले भने। एउटा सामुदायिक वनमा ८० वर्षको कार्ययोजना बनाएर व्यवस्थापनको काम भइरहेको डिभिजन वन अधिकृत काफ्लेले बताए ।

‘वनलाई विभिन्न ब्लक र उपब्लकमा विभाजन गरेर सानो अंशमा व्यवस्थापनको काम भइरहेको छ, वन व्यवस्थापनको काम ८० वर्षपछि सकिनेछ, फेरि दोस्रो पटक व्यवस्थापनको काम सुरु हुनेछ,’ उनले भने । वैज्ञानिक वन व्यवस्थापनले विरुवा पुनःउत्पादनसँगै ग्रामीण भेगमा रोजगारी समेत सृजना हुने उनले बताए । ‘यसले धेरै बुढो भएको वनको उपभोगसंगै भावि पुस्ताका लागि नयाँ वन उत्पादन गर्छ, अहिले सामुदायिक वनमा रहेका अधिकांश सालका रुख बुढा छन्,’ उनले भने, ‘धेरै बुढो भएपछि भित्रको काठ समेत काम नलाग्ने धोत्रो हुन्छ, नयाँ विरुवा पनि उत्पादन हुँदैन ।’

काफ्लेले अहिले विदेशबाट ठूलो मात्रामा आयात भइरहेको काठ रोक्न समेत सबै वनमा व्यवस्थापनको काम सुरु गरिनुपर्ने बताए। ‘यहाँका अधिकांश सामुदायिक वनमा नयां विरुवा उत्पादन एकदमै कम छ, उत्पादन बढाउन वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनु गर्नुपर्छ,’ उनले भने। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राविधिकले छनौट गरि टाँचा लगाएका रुख मात्रै कटान गरिने उनले बताए। काफ्लेका अनुसार वनको अवस्था हेरेरप्रति हेक्टरमा २०-२५ वटा माउ रुखहरु राखिनेछन् ।

रामनगर सामुदायिक वन क्षेत्रमा भइरहेको वैज्ञानिक वन व्यवस्थापन पुनः उत्पादन कटान कार्यको अनुगमन गर्दै वनका कर्मचारी।

तिनै रुखबाट नयां बिरुवा पुनःउत्पादन हुनेछन् । लालझाडी मोहना संरक्षित क्षेत्रसंग जोडिएका ६२ वटा सामुदायिक वनमा क्रमशः वैज्ञानिक वन व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको प्राविधिकहरु बताउँछन् । तर उपभोक्ता र जनप्रतिनिधिलाई यसबारे चेतना जगाउन नसक्दा केहि समस्या भइरहेको वन अधिकृत काप्mलेले बताए । ‘अहिले पनि रुखहरु काटनु हुदैन, रुख काटे वन सखाप हुन्छ भन्ने मान्यता छ,’ उनले भने, ‘तर पुराना रुखहरु काट्दै जाने नयां वन हुर्काउदै जाने हो भने वन संरक्षण दीगो हुन्छ ।’

वैज्ञानिक वन व्यवस्थापनका क्रममा कटान गरिएका रुखमा उपभोक्तालाई ग्राहयता दिइनेछ । उपभोक्ताको अवश्यकता पुरा भएपछि लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गरिने उनले बताए । काठ बिक्रीबाट संकलन भएको रकम विरुवा पुनः उत्पादनसँगै समुदायको आयआर्जन तथा वन संरक्षणमा खर्च गरिने सहायक वन अधिकृत पण्डितले बताए । ‘बुढा रुख कटान गरिएपछि विरुवा पुनःउत्पादनका लागि तारबार लगाउने, गोडमेल गर्ने लगायतमा विशेष जोड दिन्छौं, सिंहपुर र रामनगर सामुदायिक वनमा यो काम भइरहेको छ,’ उनले भने ।

Facebook Comments