चितवन निकुञ्जमा सेनाको स्वीप अप्रेशन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ। वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान शुरु गरेका हुन्।

विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पोष्ट नभएका क्षेत्रमा रातमा पोष्ट खडा गरी बस्ने काम पनि अभियानअन्तर्गत गरिएको छ । निकुञ्जलाई चार क्षेत्रमा विभाजन गरी सोही क्षेत्रका गुल्मपति र निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा हात्ती, डुङ्गा, गाडी, साइकल र पैदल गस्ती गरिएको उनले बताए।

निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको छ । कम्तिमा एक महीना अभियान जारी रहने ढकालले बताए। वर्षातको समयमा वन्यजन्तु मरेर कुहिएको भए पनि थाहा लाग्ने र बाह्य व्यक्तिको प्रवेश भए जानकारी हुने भएकाले अभियान प्रभावकारी भएको छ ।

भारतीय सीमाक्षेत्रमा रहेकाले उच्च सुरक्षा जरुरत रहेको हो । निकुञ्जले दश टोली बनाएर लामो दूरीको पैदल गस्तीसमेत गरिरहेको छ । निकुञ्जभित्रै महाहन्ट अभियान पनि जारी रहेको छ । यस विशेष अभियानका क्रममा महाहन्टमा खटिएका कर्मचारी र सेनाले समन्वय गरेर गस्ती गरिरहेको ढकालले बताए। रासस

Facebook Comments