युट्रोफिकेशनले आक्रान्त जलाशय

पोखराको फेवाताललाई तालकै स्वरूपमा राख्न बर्सेनी क्रेन लगाएर झारलाई निकाल्नु परेको छ। चितवनको बीसहजारी तालमा झार पलाएर अक्रान्त छ। उता कपिलबस्तुमा रहेको जगदीशपुरी, कैलालीमा घोडाघोडी मात्र होइन प्रायः पोखरीमा यस्तै प्रकारले जलीय झारहको अनियन्त्रित वृद्धि हुने समस्या देखिएको छ। यो समस्यालाई युट्रोफिकेशन भनिन्छ । बुझौँ कि जुन पोखरी झारले ढाकेको छ, त्यहाँ युट्रोफिकेशन भएको छ। यो वातावरणीय समस्याले भविष्यमा पोखरीलाई नै नाश पारिदिन्छ।

युट्रोफिकेशनले नेपालका मात्र होइन विश्वभरका जलाशयलाई प्रभाव पारेको छ। खासगरी पहाडीभन्दा तराईका जलाशयहरूमा युट्रोफिकेशनको प्रभाव बढी देखिएको छ। जहाँ युट्रोफिकेशन देखियो बुझ्नुपर्छ त्यहाँको पानी धेरै प्रदूषित छ र त्यहाँका जलचर ठूलो संकटमा छन्। उनीहरू निस्सासिएर मरिरहेका छन्। सो जलाशयको पारिस्थितिकीय प्रणाली उथलपुथल भएको छ र चाँडै त्यो जलाशयको अस्तित्व नामेट हुने सम्भावना छ। एक प्रकारले भन्दा युट्रोफिकेशन भनेको पोखरीको ‘क्यान्सर’ नै हो।

के हो युट्रोफिकेशन ?
पानीका भण्डार वा जलाशयमा अनियन्त्रित रुपमा झारपातहरूको औधि वृद्धि भइकन पूरै जलाशयलाई ढाक्ने समस्यालाई युट्रोफिकेशन भनिन्छ। आफ्नै वरपरका पोखरी र सुस्त गतिमा बग्ने नदीलाई अनि शहरीया नालालाई हेर्यौ भने कुनै पनि यो समस्याबाट मुक्त छैनन्।

युट्रोफिकेशन हुन्छ कसरी ?
यो खासमा दुई तरिकाले हुन्छ– प्राकृतिक र मानवीय क्रियाकलाप। स्वभावैले पोखरीभित्र र वरिपरि साना जलीय बिरूवा उम्रिएका हुन्छन्। तीनै जलीय बिरूवामा आश्रित थुप्रै कीटपतंग हुन्छन् अनि ठूला जनावर पनि। यी जीवले नै पोखरीलाई जीवन्त राखेका हुन्छन्। जीव हुन् यिनीहरूको मर्ने क्रम पनि चलिरहेको हुन्छ। मरेका जीवको जीउले जिउँदालाई मल लाग्छ। त्यति मात्र होइन आकाशबाट परेको पानीमा नाइट्रोजनयुक्त मल हुन्छ। पोखरी भूसतहका गहिरो ठाउँमा नै हुने हुन् अनि त आसपासबाट पानी बगी आएर पोखरीमै मिसिने हो। यस किसिमले पोखरीमा मलजम्मा हुन गई जलीय बिरुवा हौसिएर आउँछन्।

मानवीय क्रियाकलाप खास गरेर कृषि र उद्योग अनि बसोबास क्षेत्रबाट नाइट्रोजन,सल्फर,फोस्पोरसयुक्त पानी प्रसस्तै निस्कन्छ। धानबालीलाई लगाएको युरिया, डीएपी र अन्य मल सो धानले मात्र सोसी लिएर सकिन्न। ती वस्तु पानीमा मिसिएर पोखरी या अन्य जलाशयमा पुग्छन् र त्यहाँका वनस्पतिलाई पनि मल भइदिन्छन्। अनि त्यहाँ लेउदेखि ठूला लहरे वनस्पतिको वृद्धि हुन जान्छ। यही नै युट्रोफिकेशन हो। जमेका पोखरी मात्र होइन बगेका खोलामा समेत यस्तो समस्या देखिएको छ। नहर, नाला अनि व्यवसायिक साना पोखरीलाई पनि यो रोगबाट सुरक्षित राख्न सकिएको छैन।
असर के हो ?

युट्रोफिकेशन भएपछि जलाशयको जीवन रहँदैन भने नि हुन्छ किनभने त्यहाँ अक्सिजनको अभाव हुन्छ। पोखरीभित्र बस्ने वनस्पति र जनावर दुबैको अक्सिजनको स्रोत भनेको वायुमण्डल नै हो। वायुमण्डलबाट अक्सिजन खुल्ला पोखरीको सतही पानीसँग मिसिने हो। अब, जब पोखरीको सतह नै पूरै ढाकिएको भएमा वायुमण्डलको अक्सिजन पोखरीमा मिसिन पाउँदैन। यसैले पोखरीमा अक्सिजन अभाव हुन्छ। जसले गर्दा पानीभित्र हुने जीवहरु सास फेर्न नपाई मर्छन्।

जैविक विविधताले भरिपूर्ण कैलालीको घोडाघोडी ताल । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

विश्वव्यापी समस्या
नेपालका लगभग सबैजसो तलाउमा यो समस्या छ। सबैभन्दा होचो भागमा रहेको केचना झिल त पीडितै छ। सबैभन्दा अग्लो ठाउँमा रहेको तिलिचो तालमा पनि फोहोर जम्न थालेको छ। जब फोहोर जम्मा हुन थाल्छ युुट्रोफिकेशनको सुरुआती भनेर बुझ्दा हुन्छ। तराईमा रहेका सबै अझ शहरी क्षेत्र आसपासमा त अक्रान्त स्थिति छ।

संसारको सबैभन्दा ठूलो ताल क्यास्पियन सागर पनि युट्रोफिकेशनबाट पीडित छ। त्यसैगरी दोश्रो ठूलो क्यानाडाको सुपेरियर ताल,युगान्डाको भिक्टोरिया मात्र होइन संयुक्त राज्य अमेरिकाको मिचिगन ताल, उत्तर अमेरिकाको एरि, हुरोन, जापानको बिवा तालसमेत यस्तो समस्याबाट ग्रसित छन्।

केवल ताल होइन नदीहरूमा पनि युट्रोफिकेशन पाइएको छ। मिसिसिपी मिसौरी,चेसापिक बे,गल्फ अफ मेक्सिको, जापानको योडो नदीमा यस्तो पाइयो। नेपालमा सबै भागमा कति मात्रामा र कस्तो किसिमले युट्रोफिकेशन भइरहेको छ विस्तृतमा अनुसन्धान त भइसकेको छैन यद्यपि शहरी क्षेत्र हुँदै बग्ने साना नदी कुनै पनि समस्याबिहीन छैनन्।

वल्र्ड रिसोर्सेस इन्स्टीच्युट भन्ने संस्थाले कहाँ कति मात्रामा मलयुक्त पानी भण्डारण हुन्छ भनेर आँकडा निकालेको छ। उक्त आँकडा हेर्दा लाग्छ कुनै पनि देश अछुतो र सुरक्षित छैन। सन् १९५० देखि १९९५ सम्ममा ६० करोड मेट्रिक टन फोस्पोरस मल खेतबारीमा हालिएको रहेछ। सोको करीब ५० प्रतिशत जलभण्डारमा भण्डारण हुन पुगेको अनुमान छ । सन् १९४६ मा पहिलो पटक युट्रोफिकेशन एउटा वातावरणीय समस्या हो भन्ने कुरा पहिचान भएको थियो। अहिले आएर धेरै नदी र ताल हुँदै समुद्री भागसमेत जीवबिहीन (डेड जोन) मा रूपान्तरण भइसकेका छन्।

बीसौँ शताब्दीको मध्यतिर युरोप र अमेरिका अतालियो युट्रोफिकेशन देखेर किनभने ती पोखरीको उत्पादनबाट हुने लाभ त सखापै हुने भयो नै पिउने पानीको स्रोतसमेत सकिने भो। युुट्रोफिकेशन भएको पोखरी प्रदूषित हो र यहाँको पानी पिउन हुन्न भन्ने प्रष्ट हुन्छ । अझ भनौ पानी प्रदूषणको उपज युट्रोफिकेशन हो। क्यानाडाको ३० प्रतिशत जनसंख्याको पिउने पानीका स्रोत युट्रोफिकेशनको शिकार भएका छन्। त्यस्तै अमेरिकाको २० प्रतिशत मानिसको पिउने पानीलाई यस वातावरणीय समस्याले ग्रसित बनाएको छ।

उत्तर अमेरिकाका दुई करोड ४० लाख मानिसको पिउने पानीको स्रोतमा युट्रोफिकेशन देखियो। युट्रोफिकेशन भएपछि पानीमा घुलनशील लवणको मात्रा बढ्छ, अक्सिजनको मात्रा शून्यप्राय भइदिन्छ,कार्बनडाइअक्साइडको मात्रा बढिदिन्छ, पानी अम्लीय बनेको हुन्छ। जापानको बिवा पोखरीबाट एक करोड ३० लाख मानिसले पिउने पानीको सुविधा लिन्थे। आज उनीहरूलाई समस्या भएको छ। एक दशक अगाडिकै विवरणअनुसार एसिया महादेशका ५४ प्रतिशत र युरोपका ५३ प्रतिशत पोखरीहरू युट्रोफिकेशनबाट प्रताडित भएका छन्। साथै संसारका जति पनि ठूला बाँधहरू छन् सो को ६० प्रतिशतलाई युट्रोफिकेशनको रोग लागिसकेको छ।

समाधान
पोखरीलाई ढाक्ने गरी आएको झारलाई बर्सेनि उखेलेर फ्याँकेर साध्य लाग्दैन यसको दीगो समाधानतिर लाग्नुपर्ने हुन्छ। समाधानका लागि पहिलो सर्त हो पानी प्रदूषणको नियन्त्रण हो। अर्काबनिक रासायनिक मललाई न्यूनिकरण नै यसको उत्तम उपाय हुन सक्छ। साथै मिचाहा प्रवृति भएका आगन्तुक झारहरुलाई समयमै पहिचान गरी व्यवस्थापन गर्न आवश्यक छ। उद्योगको फाहोर, शहरको ठोस फोहोरमैला, शहरी क्षेत्रको फोहोर मलिलो पानी, शौचालयको मल आदि जलाशयमा पस्न पाउनु भएन। इमेल : ramchandra.adhikari@gmail.com

Facebook Comments