वन संरक्षणमा शुक्लाफाँटाका वडाध्यक्ष महरा डढेलाे नियन्त्रणका लागि विशेष युनिट, वनमा अग्नि रेखा र पथ निर्माण

सोमवार, चैत्र ११, २०७५

महेन्द्रनगर–सुख्खायाममा वनजंगलमा डढेलोको जोखिम हुन्छ। वन तथा भू–संरक्षण विभागका अनुसार मुलुकका विभिन्न क्षेत्रका वनजंगलमा डढेलो लाग्न शुरु भइसकेको छ। डढेलोको जोखिम जेठ अन्तिमसम्म रहन्छ। वनमा लाग्ने डढेलोको कारण बोटबिरुवा मात्र सखाप हुँदैनन् वन्यजन्तु समेत मर्ने गर्छन्।

वन वातावरण तथा विपद् व्यवस्थापन वन्यजन्तु सुरक्षा विशेष युनिटलाई आगलागी नियन्त्रण सम्बन्धि तालिम दिँदै शुक्लाफाँटा नगरपालिका–८ का अध्यक्ष बहादुरसिंह महरा।

गाउँघरमा आगलागी र वनजंगलमा डढेलोका घटना हुनसक्ने भएकाले न्यूनीकरणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ को कार्यालयले अग्नि नियन्त्रण कार्यक्रम नै सञ्चालन गरेको छ। सामुदायिक वन, स्थानीय र वडा कार्यालयले चैत महिना लागेसगै सावधानी अपनाएका हुन्।

आगलागी तथा डढेलोबाट हुनसक्ने सम्भावित घटनालाई मध्येनजर गर्दै सामुदायिक वन तथा वडाका कार्यालयले डढेलो नियन्त्रण रेखा (अग्नी रेखा) र वन पथ निर्माणको काम भइरहेको छ। त्यस्तै, डढेलो नियन्त्रणका लागि सामुदायिक वनको सहयोगमा ५ जनाको युनिट गठन गरिएको छ। वडामा आगलागी भएमा नियन्त्रणका लागि युनिट २४घण्टा खट्नेछ। वन वातावरण तथा विपद् व्यवस्थापन, वन्यजन्तु सुरक्षा युनिटले १० हजार हेक्टरमा काम गरिरहेको छ।

उत्तरमा चुरे क्षेत्र, पश्चिममा कृष्णपुर नगरपालिका–१ दोमिल्ला, दक्षिणमा गाउँबस्ती र वडा नं. ८ मा रहेका सामुदायिक वनमा हुने चोरीसिकार नियन्त्रण गर्ने कार्य विशेष युनिटले गरिरहेको वडाध्यक्ष बहादुरसिंह महराले बताए।

उनका अनुसार युनिटले अहिलेसम्म वन्यजन्तुको चोरीसिकारमा संलग्न तीन जनालाई पक्राउ गरी आवश्यक कारबाही लागि वन कार्यालयलाई बुझाएको छ। ‘उनीरूरुका साथबाट २ नाल कटुवा बन्दुक लगायत अन्य चोरीसिकारमा आवश्यक पर्ने सामग्री बरामद गरिएको थियो, उनीहरुलाई वन कार्यालयले कारबाही समेत गरिसकेको छ,’ अध्यक्ष महराले भने।

विशेष युनिटलाई वाटर व्याग, हेलमेट, ड्रेस, पञ्जा, जुत्ता लगायतका सामग्रीसहित वनमा परिचालित गरिएको छ। युनिटले फायर लाइन, पातपंत्तिगर हटाउनुका साथै वनमा प्रज्वलनशिल सामग्री निषेध गरी वनमा भेटिएका व्यक्तिलाई सचेत गराउँदै आएको छ।

विषेश युनिट गठनपछि चुरे क्षेत्र, सामुदायिक वनमा डढेलो तथा वडामा आगलागीका घटनामा कमी आएको महराले बताए। उनका अनुसार युनिटलाई वन संरक्षण सम्बन्धि तालिम प्रदान गर्न डिभिजन वन कार्यालयसँग समन्वयको काम भइरहेको छ। ‘आगो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री र तालिमको माग वन कार्यालयसँग गरेका छौं, अहिलेसम्म युनिटलाई विपद व्यवस्थापन सम्बन्धि र आगो नियन्त्रण सम्बन्धि आधारभूत तालिम दिएका छौं,’ उनले भने।

वडामा खुला चरीचरन बन्द
शुक्लाफाँटा नगरपालिका–८ मा खुला रुपमा गाईबस्तु चराउन बन्द गरिएको छ। वडामा रहेका ६ वटा सामुदायिक वनको पहलमा चरिचरन बन्द गरिएको हो।

वन संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि खुला चरिचरन बन्द गरिएको वडा अध्यक्ष महराले बताए। उनका अनुसार २०७२ सालमा वडामा रहेका कालिका, बैजनाथ, भगवती, बैजनाथ धार्मिक, सुनदेवी महिला सामुदायिक वन र प्रगति महिला सामुदायिक वनले खुला चरिचरन बन्द गर्ने अभियान सुरु गरेका थिए। ‘सामुदायिक वनको निरन्तरको प्रयासले खुला चरिचरन बन्द भएको छ, वडामा रहेका नदी तथा खोलामा हरियाली बनाउन वृक्षरोपण समेत थालेका छौं,’ उनले भने।

चरीचरन बन्दले खालानालमा घाँस र रुखले हरियाली छाएको कालिका सामुदायिक वनका सदस्य सुरत साउँदले बताए। उनले खोलानालमा उर्मेका बिरुवाले जैविक तटबन्धको काम गरेको बताए।

वन संरक्षणमा वडाको योजना
शुक्लाफाँटा नगरपालिका– ८ को कार्यालयले घाइते वन्यजन्तु उद्धार तथा उपचार केन्द्र स्थापना गर्ने योजना बनाएको छ। वनमा घाइते भएका वन्यजन्तुको उपचारको लागि केन्द्र स्थापना गरिने वडा अध्यक्ष महराले बताए।

सामुदायिक वनद्वारा परिचालन भइरहेको वन वातावरण तथा विपद् व्यवस्थापन, वन्यजन्तु सुरक्षा विशेष युनिटको आगामी दिनमा वडाले व्यवस्थापन गर्ने उनले बताए। ‘वडाबाट आवश्यक बजेट विनियोजन गरेर युनिटको संख्या बढाउँछौं, वन संरक्षणमा जोड दिन्छौं,’ अध्यक्ष महराले भने।

Facebook Comments