लोकल माछा !

सिन्धुपाल्चोक पाङग्रेटार माझी गाउँका राजेन्द्र माझी र भपिन्द्र्र माझी माछा मार्ने पेशालाई नै निरन्तरता दिदै आएका छन् । स्थानीय सुनकोशी नदीमा माछा मार्नु उनीहरुको दैनिकी हो । तर केही वर्षयतादेखि नदीमा माछा कम हुनथालेपछि उनीहरु चिन्तित बन्न थालेका छन । भुपिन्द्र माझी भन्छन–‘नदीमा यसरी नै माछा घट्दै जाने हो भने हाम्रो पेशा अब धेर चल्दैन । त्यसपछि के गरिखाने होला ? हामी यसैमा चिन्तित छौं ।’

समयसंगै उनीहरुको माछा मार्ने तरीकामा पनि परिविर्तन आएको छ । दुवाली थाप्ने, ठूल्ठूला जाल हान्ने , बल्छिमा पाछा पार्ने काममा उनीहरु अहिले लाग्दैनन । अहिले नेटको पासोमा जिउँदै माछा पार्ने तरीका चल्तीमा छ । वेलुकी पख ढुङ्गाको सहयोगमा उनीहरुले नदीमा पासो थाप्छन् । नदीको वीचमा पासो थापिने भएकाले ढुंगाको सहारा लिनु परेको राजेन्द्र बताउँछन । भोलिपल्ट विहान सवेरै अघिल्लो दिन राखेको पासो एउटा लामो वाँसको सहाराले निकाल्ने गरिन्छ । रातभरिमा नदीमा ओहोरदोहारर गर्ने माछाहरु पासोको सुर्केनीमा जिउँदै अड्किन पुग्छन् । भोलिपल्ट सवेरै पासो उठाउने क्रममा माछालाई समातिन्छ ।

पुष, माघको चिसो पानीमा मुस्किलले कुनै पासोमा दुई तीनवटा माछा पर्ने गरेको उनीहरुले बताए । यतिखेर धेरै पासो खाली नै हुने गरेका छन । सरदर दैनिक एक किलोदेखि ४ किलोसम्म माछा मार्दै आएका उनीहरु प्रतिकिलो ६ सय रुपैंयामा माछा बिक्री गर्ने गर्छन् ।

जाडो महिना सकिएर गर्मी लाग्न सुरु भएपछि खोलामा बढी माछा पाईने उनीहरुको अनुभव छ । भुपिन्द्र भन्छन–‘गर्मी सुरु हुने वित्तिकै माछा चिसो खोज्दै माथिल्लो भागतिर आउने भएकाले त्यतिवेला धेरै माछा पर्छन् र कमाइ पनि हुन्छ । तर चिसो पानीमा माछा पिंधमा बस्ने भएकाले एकदमै कम माछा बल्छीमा पर्छन् ।

बाह्रबिसे, तातोपानी र दोलखा जिरी जाने यात्रुहरुबीच प्रख्यात दोलालघाट, खाडीचौर लगायत आसपासका बजारमा लोकल माछा आपूर्ति गर्ने माझीहरु नै हुन । नदी छेउछाउ बस्ने अन्य जातीका केही मानिसले माछा मारेपनि मुख्य बजारमा माछा आपूर्तिकर्ता पांग्रेटार माझीगाउँ कै माझि हुन ।

राजेन्द्र माझीका अनुसार, पहिले जस्तो अहिले माछा नपर्ने भएकाले यी बजारमा तराईका माछाले अहिले राम्रो बजार लिएको छ । खाडीचौरमा मात्र अहिले दैनिक ५० केजी तराईको माछा खपत हुने गरेको छ भने दोलालघाटमा त त्यसको दोब्बरले पनि पुग्दैन ।
तस्वीर: अमिष रेग्मी

Facebook Comments