२१ वर्षमा वनक्षेत्र ५.१५ प्रतिशतले वृद्धि

१० सेमिभन्दा बढी व्यासका रुख २ अर्ब ५६ करोड ३३ लाख

दुई दशकयता नेपालको वनक्षेत्र बढ्दै गएको पाइएको छ । वन मन्त्रालयले दुई बर्षअघि सार्वजनिक गरेको ’राष्ट्रिय वनस्रोत सर्वेक्षणले’ २१ वर्षमा वनक्षेत्र ५.१५ प्रतिशतले वृद्धि भएको देखाएको हो ।

फिनल्यान्ड सरकारको सहयोगमा सन् २०१० मा सुरु गरिएको सर्वेक्षणको अन्तिम नतिजा र प्रतिवेदनले औंल्याएको वृद्धिदरसँगै नेपालको वनक्षेत्र ४४.७४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । भू–उपग्रहबाट प्राप्त नक्सा, स्थलगत नापजाँच र कम्प्युटर सफ्टवेयरमार्फत उक्त अध्ययन गरिएको हो ।

प्रतिवेदनअनुसार पछिल्ला दशक मध्यपहाडी क्षेत्रमा वन वृद्धिदर तीब्र छ । तराई र चुरेक्षेत्रमा भने विनाश रोक्न सकिएको छैन । मुलुकको करिब ५९ लाख ६२ हेक्टर (४०.३६ प्रतिशत) भूभाग वनले ओगटेको छ जसमा झाडी र बुट्यानले घेरिएको ६ लाख ४८ हजार हेक्टर (४.३८) क्षेत्र पनि समेटिएको प्रतिवेदनमा उल्लेख छ ।

देशको कुल गार्हस्थ उत्पादनमा वनको करिब १० देखि १२ प्रतिशत हिस्सा रहेको आँकलन छ ।

वनसचिव उदयचन्द ठाकुरका अनुसार अब यही सर्वेक्षणका आधारमा वनसम्बन्धी तथ्यांक अद्यावधिक गरिने छ ।

सर्वेक्षणमा सहभागी वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक यमप्रसाद पोखरेलका अनुसार यस अवधिमा तीन संयोगलाई वनक्षेत्र बढ्नुका प्रारम्भिक कारण अनुमान गरिएको छ । ती हुन् – दसवर्षे सशस्त्र द्वन्द्व, युवाशक्तिको विदेश पलायन र वन संरक्षणमा उपभोक्ताको सक्रियता ।

नागरिकमा प्रकाशित समाचारअनुसार सशस्त्र द्वन्द्वका कारण मध्य र उच्च पहाडी क्षेत्रका सर्वसाधारण तराई बसाइँ सरेपछि त्यस क्षेत्रका वनमा मानवीय अतिक्रमण हुन पाएन । त्यसै गरी युवा रोजगारीका लागि बिदेसिँदा गाउँमा काम गर्ने व्यक्तिको अभावमा निजी जमिन बाँझै हुन पुग्यो । त्यो जमिनमा वरिपरि जंगलबाट बिउ फैलिएर बिरुवा उम्रिएसँगै रुख र बुट्यान फैलियो । यसबाहेक संरक्षणप्रति उपभोक्ताको सक्रियताले पनि पहाडी र मध्यपहाडी क्षेत्रमा वन बढेको अध्ययनले औंल्याएको छ ।

वनविज्ञ डा. विनोद भट्ट वनक्षेत्र बढ्नुको मुख्य कारण बसाइँ सराइ र सामुदायिक वनको अवधारणालाई लिन्छन् ।

प्रतिवेदनअनुसार नेपालको कुल वनक्षेत्रमध्ये ३७.८० प्रतिशत मध्यपहाडी, ३२.२५ प्रतिशत उच्च पहाडी तथा उच्च हिमाली, २३.०४ प्रतिशत चुरेक्षेत्र र ६.९० प्रतिशत तराईमा पर्छ । यसमध्ये तराईमा प्रतिवर्ष ०.४४ प्रतिशत र चुरेमा ०.१८ प्रतिशतले वन विनाश भइरहेको छ ।

पछिल्ला अन्य अध्ययन र स्थलगत प्रतिवेदनले पनि जनसंख्याको अत्यधिक चाप, वनक्षेत्र अतिक्रमण र चोरीनिकासीले चुुरे र तराईमा रुख घट्दै गएको देखाएका छन् । यसमा डढेलो, बाढी, भू–क्षयजस्ता प्राकृतिक विपत्तिलाई पनि कारण मानिएको छ ।

सरकारले पुनर्वास गरिएकालाई वनक्षेत्रनजिक राख्नु, बाटो खन्नेलगायत बहानामा चुरेका रुख काटेर तस्करी गर्ने प्रवृत्तिले वन जोखिममा परेको वनविज्ञ भट्टको तर्क छ ।

वनक्षेत्रमा हाल १० सेमिभन्दा बढी व्यासका रुख २ अर्ब ५६ करोड ३३ लाख रहेको विवरण अध्ययनले दिएको छ । काठको कुल आयतन भने अघिल्ला अध्ययनको तुलनामा घटेको छ जुन यसपालि ९८ करोड २३ लाख घनमिटर (घनमिटर प्रतिहेक्टर) छ । सन् १९९५ को प्रतिवेदनले काठको आयतन १७८ घनमिटर प्रतिहेक्टर देखाएको थियो । यसै गरी रुखको जमिनमाथिको औसत तौल (बायोमास) १९४ दशमलव ५१ टन प्रतिहेक्टर छ ।

कुल वनमध्ये संरक्षित क्षेत्रमा १० लाख ३३ हजार हेक्टर (१७.३२ प्रतिशत) छ । यसमध्ये पनि संरक्षितभित्र १३.२९ र मध्यवर्ती क्षेत्रमा ४.०३ प्रतिशत छ । सर्वेक्षणले सामुदायिक वनमा ४ सय ४३ प्रजातिका रुख (२ सय ३९ जाति र ९९ परिवार) रहेको जनाएको छ ।

उक्त अध्ययनले पहिलोपटक वनक्षेत्रमा कार्बनको तथ्यांकसमेत समेटेको छ जसअनुसार नेपालका वनमा करिब १ अर्ब ५ करोड ५० लाख (प्रतिहेक्टर १७६.९५ टन) टन कार्बन सञ्चित रहेको उल्लेख छ । यसमध्ये ६१.५३ प्रतिशत रुखमा, ३७.८० प्रतिशत माटोमा र ०.६७ प्रतिशत पातपतिंगरमा रहेको प्र्र्तिवेदनले औंल्याएको छ ।

अध्ययनमा २०० भन्दा बढी प्राविधिक सहभागी थिए । उनीहरूले सुरुमा नेपालको सम्पूर्ण भूभागलाई भू–उपग्रह तस्बिरसाथै अन्य नक्सामार्फत अध्ययन गरे । स्थलगत भ्रमणपछि समग्र क्षेत्रलाई वन, बुट्यान र अन्य क्षेत्र गरी तीन भागमा छुट्याई नक्सांकन तयार गरे ।

पहिलो चरणमा ४ किमि वर्गाकार ग्रिडअन्तर्गत ९,२३० क्लस्टरमा रहेका ५५,३५८ प्लट अध्ययन गरिएको थियो । दोस्रो चरणमा १,५५३ बुट्यानमा १०५ र अन्य गरी जम्मा २,५४४ नमुना प्लट फिल्डमा गई नाँपजाँच गरिएको थियो ।

सर्वेक्षणमा डिजिपिएसरजिपिएस, भर्टेक्स–४ र ट्रान्सपोन्डर टी ३, डेन्सिओमिमिटरलगायत उपकरण प्रयोग गरिएको थियो । यसअघि पनि फिनल्यान्ड सरकारकै सहयोगमा सन् १९८७ देखि १९९५ सम्म नेपालको वनक्षेत्र अध्ययन गरिएको थियो ।

‘उच्च पहाडी तथा उच्च हिमाली क्षेत्रमा कुल रूख २ अर्ब ११ करोड ६४ लाख रहेको पाइयो,’ प्रतिवेदनमा छ । यसमध्ये वन क्षेत्रमा १ अर्ब ८९ करोड ५३ लाख र काष्ठ र बुटयान क्षेत्रमा ६ करोड ४८ लाख तथा अन्य क्षेत्रमा १५ करोड ६३ लाख रूख छन् ।

पोखरेलका अनुसार अध्ययनले तराईमा प्रतिवर्ष ०.४४ र चुरेमा ०.१८ प्रतिशतका दरले वन विनाश भइरहेको छ । अध्ययनले वन क्षेत्रको रूखको कुल जैविक पिण्ड, कुल कार्बन सञ्चिति र जैविक विविधताको पनि अध्ययन गरेको थियो। अध्ययनले नेपालको वनमा एक अर्ब ५ करोड ५० लाख टन कार्बन सञ्चिति रहेको देखाएको छ ।

नेपालको वनमा ४४३ प्रजातिका रूख छन् । यसमध्ये मध्य पहाडका वनमा ३२६, चुरेमा २८१, उच्च पहाडी तथा उच्च हिमालीमा २७५ र तराईका वनमा १६४ रूखका प्रजाति पाइएका छन् ।

(हाकाहाकीमा प्रकाशित समाचारका आधारमा)

Facebook Comments