वातावरणका मुद्दा राष्ट्रिय पत्रिकाका प्राथमिकतामा छैनन : अध्ययन सबैभन्दा बढी ‘नागरिक दैनिक’मा

शनिबार, बैशाख १५, २०७५

 

काठमाडौं – मुलुकको वातावरण मात्र बिग्रिएको छैन । बिग्रिएको वातावरणका समाचार पनि कम प्राथमिकता परिरहेका छ्न । सायद त्यसैले होला यस्ता मुद्दाहरु बर्षौदेखि किनारा लाग्न नसकेको पुष्टि पछिल्लो एक अध्ययनबाट भएको छ ।

काठमाडौबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरूले वातावरण तथा जलवायु परिवर्तनका विषयलाई कम प्राथमिकता दिएको पाइएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले सन् २०१८ को जनवरीदेखि मार्चसम्म गरेको अध्ययनले यसको पुष्टि गरेको छ । वातावरणीय मुद्दाहरुको प्राथमिकताबारे नेफेजको मिडिया अनुगमन समूहले तीन महिना अध्ययन गरेको थियो ।

नेफेजको अनुगमन समूहले राष्ट्रिय पत्रिकाहरु कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, दी काठमाडौं पोस्ट, दी हिमालयन टाइम्स र रिपब्लिका गरी ६ वटाको अध्ययन गरेको थियो । अध्ययनले विशेषत वातावरण र जलवायू परिवर्तन सम्बन्धी समाचार, विचार र सम्पादकीयलाई समेटेको छ ।

अध्ययनका अनुसार ६ वटा दैनिक पत्रिकमा तीन महिनाको अवधिमा वातावरण र जलवायु परिवर्तनसम्बन्धी ३ सय ८३ वटा समाचार प्रकाशित छन् । पहिलो पृष्ठमा ४२ वटा समाचार छापिएका छन् । दोस्रोमा ५२, तेस्रोमा ३६, चौथोमा १०२, पाँचौंमा ३९, छैटाँैमा ३, पृष्ठ ७ मा १०, पृष्ठ ८ मा ३७, पृष्ठ ९ मा २४, पृष्ठ १० मा १८ र पृष्ठ ११ मा १९ वटा समाचार प्रकाशित भएका छन् ।

ती मध्ये वायु, पानी र माटो प्रदूषणका मुद्दा समेटिएका समाचार धेरै छन् । यस सम्बन्धी ११७ वटा समाचार प्रकाशित छन् । यसैगरि जलवायू परिवर्तन सम्बन्धी १ सय ११ वटा, विपद् सम्बन्धी २० वटा, जैविक विविधता सम्बन्धी ४३ वटा र फोहोर व्यवस्थापन सम्बन्धी २० वटा समाचार प्रकाशित भएका छन् ।

यसैगरी, दीगो विकास सम्बन्धी २० वटा, चिसोले जनजीवन प्रभावित बनेको ३५ वटा, वातावरण सम्बन्धी द्वन्द्वमा एउटा विचार प्रकाशित भएको छ । वन्यजन्तु र मानवबीचको द्वन्द्वका सम्बन्धमा ६ वटा समाचार प्रकाशित भएका छन् । अध्ययनले वातावरण जलवायु परिवर्तनसम्बन्धी दृष्टिकोण, विचार, विश्लेशण र सम्पादकीय न्यून मात्रामा प्रकाशित भएको देखाएको छ ।

वातावरण, जलवायु परिवर्तन र दीगो विकाससँग सम्बन्धीत ८ वटा विचार र एउटा मात्र सम्पादकीय प्रकाशित भएको छ । त्यस्तै, वातावरण तथा जलवायु परिवर्तनका समाचार पहिलो पृष्ठमा कमै मात्र छापिएका छन् ।

अध्ययनले सञ्चार अनुगमनको क्रममा पत्रकार महिलाहरूको बाइलाइन समाचार न्यून रहेको देखाएको छ । तीन महिनाको अवधिमा २ सय ८९ वटा समाचार बाइलाइनसहित आएका छन् । जसमा २३ वटा समाचारमा मात्रै पत्रकार महिलाको बाइलाइन आएको छ ।

यससम्बन्धि समाचार सबै भन्दा बढि नागरिक दैनिकले छापेको छ । वातवारणीय मुद्दाहरुबारे संचारमाध्यमहरुको बुझाई र प्राथमिकताको अवस्थाबारे अध्ययन गरेको हो ।

Facebook Comments