मौसम विभाग भन्छ : लेदो सहितको पानी पर्नुको कारण राजस्थानको धुलो

शनिबार, असार २, २०७५

काठमाडौं –आकाशबाट परेको पानीमा हिलो मिसीएर आउनुमा भारत राजस्थानको धुलो कारक भएको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ । देशका विभिन्न भागमा २ दिनयता आकाशबाट परेको पानीमा हिलो मिसिएर आएको छ । केही दिन अघि राजस्थानको मरुभूमीमा आएको हावाहुरीका क्रममा वायुमण्डलमा थुप्रिएको धुलोका कणहरु जल वाष्पसँग मिसीएर बादल बनेको विभागको भनाई छ । केही दिन अघि राजस्थान नजिकको मरुभुमिमा ठूलो हावाहुरी आएको थियो । हावाहुरीका क्रममा संकलन भएको धुलोका कण , वाष्पसग मिसीएर बादल बन्दै नेपालतीर आएको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।  ‘राजस्थान मरुभूमिमा हावाहुरीसँगै संकलन भएको धुलोका कण वायुमण्डलमा मोइस्चरसँग मिसिएको र त्यही बादल बन्दै पश्चिम नेपालबाट भित्रीएको हो ’, उनले भने , ‘ पश्चिमबाट विस्तारै वायु पूर्वतीर सर्दै आएकाले शुक्रबार पश्चिम नेपालमा हिलो, लेदो सहितको वर्षा भएपनि काठमाडौं उपत्यका र पूर्वतीर शुक्रबार राती र शनिबार विहान पानी पर्दा यस्तो देखिएको हो । ’ सामान्यतया बादल बन्न धुलोका कण आवश्यक पर्छ तर यो वर्षा भएको बादलमा बढि धुलोका कण मिसीएकाले त्यही धुलो पानीसँग मिसीएर खस्दा जमिनसम्म आइपुग्दा हिलो या लेदो बनेको उनले स्पष्ट पारे ।

तस्बिर : नवीन लुइँटेल

शुक्रबार दिउँसोदेखि काठमाण्डौ उपत्यका , कपिलबस्तु , बारा , बिराटनगर, पर्सा , रौतहट लगायतका स्थानमा पटक पटक हिलो मिसीएको पानी परेको स्थानियले जनाएका छन्। वर्खामा खोलामा हुने पानी जस्तै हिलो धमीलो पानी परेको उनीहरुको भनाई छ ।

एकैपटक ठूलो वर्षा भएको भए कसैले यसबारे थाहा नपाउने विभागका महानिर्देशक डा शर्मा बताउँछन् । ‘ ठूलो पानी परेको भए एकै चोटी पानीले सबै हिलो पखाल्थ्यो र लेदो र हिलोको बारेमा कसैलाई थाहा नहुन सक्थ्यो ’, उनले भने , ‘ सानो –सानो र क्षणीक मात्र वर्षा भयो , जसका कारण सबैले हिलो झरेको महसुस गर्न सके । ’ कतिले आफ्ना बगैँचामा रहेका फलफूलका बोट , फूल या अन्य विरुवाको पातमा हिलो देखेर , खुला आकाशमा पार्किङ गरी राखीएका गाडी र मोटरसाइकलमा हिलो र लेदोको दाग देखेर तथा कसैले आफ्नो घरको छतमा पनि हिलो आएको देखेर वर्षामा हिलो मिसिएर आएको महसुस गरे ।

भारतीय आकाशमा परेको प्रभाव नेपाली आकाशमा पनि केहि परेको र भारतीय सिमा नजिकको नेपाली आकाश मुनीका नागरिकहरुले समेत उक्त अनुभुती गर्न पाएको मौसम विभागले जनाएको छ । यस्तो वर्षा अब तत्काल नहुने विभागले जनाएको छ । काठमाडौंमा ठूलो हावाहुरी चलेर धुलो उडेमा पनि यस्तो वर्षा हुने संभावना कम रहेको डा शर्माले जानकारी दिए ।विभागले यसबारेमा प्रेस विज्ञप्ति नै जारी गर्ने तयारी गरेको छ ।

Facebook Comments