सिण्डिकेट अन्त्यमा मन्त्री महासेठ नै ‘बाधक’ बनेपछि प्रधानमन्त्रीले चाले कदम

    बुधबार, असार २७, २०७५

    काठमाडौं–सार्वजनिक यातायातको सिण्डिकेट र काठमाडौं उपत्यकाका सडकको दुरावस्थाबारे सरकारको व्यापक आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बोलाएका छन्।

    मन्त्री महासेठ, यातायात मन्त्रालयका सचिवसहितका पदाधिकारीलाई बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर प्रम ओलीले सार्वजनिक यातायातलाई कम्पनीमा रुपान्तरण गर्ने काम तत्कालै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

    सरकारले गत वैशाखमा सिण्डिकेट अन्त्यको घोषणा गरेपनि प्रायः सार्वजनिक यातायातले अझै पनि कम्पनीमा दर्ता गरेका छैनन्। सरकारले असारभित्र कम्पनीमा जान निर्देशन दिएपनि अझै समितिमार्फत् सञ्चालित छन्।

    सिण्डिकेट अन्त्यमा विभागीय मन्त्री महासेठ नै बाधक रहेको र उनले यातायात व्यवसायीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै व्यापक आलोचना भइरहेका बेला प्रम ओलीले उनलाई बोलाएर यातायातको सिण्डिकेट सदाका लागि अन्त्य गर्न दीर्घकालीन रुपमा सम्पन्न गर्ने कार्यको उपर्युक्त कार्ययोजनासहित अगाडि बढ्न निर्देशन दिएका हुन्।

    छलफलपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक यातायातलाई भरपर्दाे, सेवाग्राहीमैत्री एवं प्रविधिमैत्री बनाउँदै जेष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिलाई प्रदान गरिने आरक्षण सिटको उपभोगलाई सहज बनाउन निर्देशन भएको छ।’

    गत वैशाखमा मन्त्रिपरिषद्को बैठकले ‘संस्था ऐन २०३४ अनुसार जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएका देशभरका विभिन्न नामको यातायात व्यवस्था समितिको नवीकरण र दर्ता बन्द गराउने’ निर्णय गरेपनि अझै समितिको नामबाट सञ्चालनमा छन्। तर, उक्त अभियानमा विभागीय मन्त्री महासेठ बाधक मात्र बनेनन्, सिण्डिकेट अन्त्यका लागि नेतृत्वदायी भूमिका खेलेका यातायात विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालय ताने।

    अहिले विभाग निमित्तको भरमा चलिरहेकाले पनि सिण्डिकेट हटाउन नीतिगत प्रक्रियामा ढिलाइ भइरहेको भन्दै आलोचना भइरहेका बेला प्रम ओलीले मन्त्री महासेठलाई बोलाएर सिण्डिकेट फर्काउन असम्भव रहेको बताएका हुन्।प्रम ओलीले सरकारद्वारा गठीत कार्यदलबाट अबको एक साताभित्र प्रतिवेदन प्राप्त हुने र सो प्रतिवेदनको सुझावका आधारमा थप काम अगाडिग बढाइने बताए।

    यसैबीच, प्रम ओलीले चाबहिल–बोद्ध–जोरपाटी सडक र कलंकी–थानकोट सडकसँगै उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएका छन्। अबको ५० दिनभित्र महसुस हुने गरी काम गर्न उनले निर्देशन दिए।

    काठमाडौंमा हरेक वर्ष बर्खायाममा सडकमा खाल्डाखुल्डी पर्ने र सडक हिलाम्य हुने समस्या दोहोरिरहन्छ। गत वर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न १५ दिने म्याद दिए पनि कार्यान्वयन भएको थिएन।

    Facebook Comments