काठमाडौं–नेपालका लागि अति संकटापन्न मानिएको लौठसल्ला प्रजातिको एउटा रूख संकटमा परेको छ।
काभ्रेपलान्चाेक जिल्ला बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा रहेको ट्याक्सुस माइरेई प्रजातिको लौठ सल्लाको रूख ढुंगा खानीका कारण मासिने खतरा बढेको हो।
नेपालमा लौठसल्लाको अवस्थाबारे अध्ययन गरिरहेका संरक्षणविद् कुमार पौडेलका अनुसार उक्त रुख करीब २ सय ५० वर्षभन्दा पुरानो मानिएको छ।
खानीबाट ढुंगा झिक्ने क्रममा उक्त लौठसल्ला पनि मासिने खतरा बढेको हो। ढुंगा झिक्दाझिक्दै खानी लौठसल्ला नजिकै पुगिसकेको छ।
उनका अनुसार नेपालमा तीन प्रजातिका लौठसल्ला पाइन्छन्। मुलुकको पश्चिमी क्षेत्रमा कन्टाेर्टा, मध्यमा माइरेई र मध्यदेखि पूर्वी नेपालमा वालीचियाना प्रजातिको लौठसल्ला पाइने गरेको छ। ‘जसमा माइरेईको संख्या अझ न्यून रहेको छ। सिन्धुली, काभ्रेपलान्चाेक र मकवानपुरमा मात्र माइरेई प्रजातिकाे लाैठसल्ला भेटिएकाे पाइन्छ,’ संरक्षणविद् पौडेलले भने।
नेपालमा प्राकृतिक वासस्थानमा लौठसल्लाको संख्या एकिन नभएपनि माइरेई प्रजातिकाे रूख करीब ५ सयभन्दा पनि कम रहेको अनुमान गरिएको छ। अध्ययन भम्रणका क्रममा उक्त रूख देखेपछि पाैडेलले नेपाल सरकारलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त महत्त्वपूर्ण रूख बचाउन अपिल गरेका छन्।
डिभिजन वन कार्यालय काभ्रेका प्रमुख बाबुराम कार्कीले लौठसल्लाको रूख मासिने खतरामा परेको खबर पाएपछि सवडिभिजन कार्यालयलाई बुझ्न निर्देशन दिइसकिएको बताए।
क्यान्सरको औषधिको कच्चा पदार्थका रूपमा लिइने लौठसल्लाको पछिल्लो समय खेती समेत हुने गरेकाे। तर, प्राकृतिक वासस्थानमा रहेका लौठसल्लालाई जोगाउन अपरिहार्य रहेको पौडेल बताउँछन्। लौठसल्लाको पात, बोक्रा बिक्री हुने गर्छ।