चितवनमा ४३ करोडको तटबन्धन

शुक्रबार, मंसिर २१, २०७५

चितवन–चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी र राप्ती नदी, कयर खोला र केरुङ्गा घोलमा तटबन्धन गर्न लागेको हो ।

आयोजनाका प्रमुख मोहनकुमार शाक्यका अनुसार नारायणी नदीको चितवनतर्फ रु १२ करोड, सुस्तासहित नवलपरासीतर्फ रु आठ करोड, कयर खोलामा रु १५ करोड राप्ती र केरुङ्गा रु चार/चार करोडको लागतमा तटबन्ध गर्न लागिएको हो ।

उक्त नदीका चितवनतर्फ गाँजापुरको चौकीडाँडा, हिरापुर, न्यूरेचोक र मझुवा सामुदायिक वन पछाडि तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । नवलपरासीतर्फ गैँडाकोट, रजहर, मध्यविन्दु र अमलटारीमा पनि तटबन्ध निर्माण गरिने छ ।

कयर खोलाको शक्तिखोर पुल २०० मिटर पूर्वबाट करीब तीन किमी दुवैतर्फ तटबन्ध गर्ने तयारी भएको प्रमुख शाक्यले बताए। भरतपुर महानगरपालिका हुँदै राप्ती मिसिएको केरुङ्गा घोलमा आवश्यक परेका ठाउँमा तटबन्धनका लागि अध्ययन भइरहेको छ ।

यसअघिका वर्षहरुमा नारायणी नदीमा मात्रै तटबन्धन गर्दै आएको आयोजनाले यस वर्षबाट अन्य स्थानमा पनि तटबन्धन गर्न शुरु गरेको हो । आर्थिक वर्ष २०६६/६७ मा जनताको तटबन्धन नामबाट काम गर्दै आएको उक्त कार्यालय हाल जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा गाभिएर आयोजनाको रुपमा विकास गरिएको हो । कार्यालय स्थापना भएदेखि नै नारायणी नदीमा तटबन्धन बनाउन थालिएको थियो । हालसम्म नारायणी नदीमा तटबन्धनका लागि रु एक अर्ब ३० करोड खर्च भइसकेको उनको भनाइ थियो ।

विसं २०६८ मा गरिएको अध्ययनमा नारायणी नदीबाट चितवन र नवलपरासी क्षेत्रलाई जोगाउन पुरै नदी तटबन्ध निर्माण गर्दा रु १० अर्ब ८१ करोड लाग्ने अनुमान गरिएकामा कम बजेट निकासा भएपछि बजेटअनुसार अत्यावश्यक ठाउँमा मात्रै तटबन्ध गरिँदै आएको थियो ।रासस

Facebook Comments