ललितपुर– गोदावरी नगरपालिका –४ बडिखेलको पथप्रदर्शक माध्यमिक विद्यालयमा विद्यार्थीको स्वास्थ्यमा सुधार गर्ने अभिप्रायका साथ सात झण्डे सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।
स्वास्थ्य र सरसफाइका क्षेत्रमा काम गर्ने संस्था प्रभाव नेपालले विद्यालयको खानेपानी, शौचालय र वातावरण अध्ययन गर्दा सङ्क्रमण पाएसंँगै पूर्ण सरसफाइ गर्ने अभिप्रायका साथ सम्मेलन आयोजना गरेको हो ।
कार्यक्रममा सांसद नवराज सिलवालले सम्मेलनले बडिखेलको मुहार फेर्ने विश्वास व्यक्त गरे ।
बडिखेलका वडाध्यक्ष मुकुन्दबहादुर पहरीले विद्यालयमा देखिएको सङ्क्रमणलाई पाँचवर्षीय कार्यकालभित्र अन्त्य गराई स्वच्छ पानी र सफा शौचालय प्रयोग गराउने बताए ।
विद्यालयका प्रधानाध्यापक शान्तिकुमारी अधिकारीले विद्यालयमा खानेपानीको समस्या समाधान गराउन केही दिनभित्र फिल्टर वितरण गरिने जानकारी दिए ।
प्रभाव नेपालका कार्यक्रम संयोजक प्रदीप खड्काले सम्मेलनमार्फत विद्यालयमा खानेपानी, शौचालय र विद्यालयस्तर सुधार गराउने बताए ।
सम्मेलनमा विद्यालय र त्यहाँका विद्यार्थीलाई सफा चर्पीको प्रयोग गर्न सिकाइने, साबुनपानीले हात धुने र व्यक्तिगत सरसफाइ गर्न प्रेरित गर्ने, महिनावारी हुँदा स्वच्छताको धारणा र सरसफाइ अग्रसर गराउने, सुरक्षित पानी पिउने वातावरण सिर्जना गराइने बताइएको छ । (रासस)