किन अपरिहार्य छ साइकल लेन?

मङ्लबार, पुस १०, २०७५

काठमाडौँ । विकसित सहरमा यातायात पूर्वाधारले समग्र सहरको १५ देखि २० प्रतिशत क्षेत्र ओगट्ने गर्छ। तर, काठमाडौँ सन्दर्भमा भने ५ प्रतिशत भन्दा कम भएको अनुमान गर्न सकिन्छ।

काठमाडौँ सहरलाई एउटा पैदलयात्री मैत्री र साइकल सहरको रूपमा विकास गर्न सकिन्छ। सरकारलाई दबाब सिर्जना गर्ने र साइकलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपालका केही युवाले नेपाल साइकल सोसाइटी, साइक्लिङ युवा लगायतका संस्थाहरू गठन गरेका छन्। जुन निकै महत्त्वपूर्ण हो। साइक्लिङलाई सहरी यातायातको एउटा भरपर्दो विकल्पको रूपमा विकास गर्न सकिन्छ।

एउटा राम्रो सहर सबै खालका नागरिकको लागि हुनुपर्छ। विश्वका उत्कृष्ट सहरहरू सबै खालका पैदलयात्री र मोटर नचढ्नेहरूको लागि पनि उपयुक्त हुने गरी डिजाइन गरिन्छन् । तर, धेरै सहरहरू कारका लागि उपयुक्त बनाउने ढङ्गले बनाइएको हुन्छ किनभने कार चढ्नेहरूले नै यस्तो सडक र अन्य नीतिको डिजाइन गरेका हुन्छन्। यो एप्रोजका कारण तीव्र रूपमा ट्राफिक बढेको छ र ट्राफिक जाम बढेको छ। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने हो भने सहरहरूलाई पैदलयात्री र साइकलमैत्रीको रूपमा डिजाइन गर्न आवश्यक छ। जब साइकल चढ्नेहरूको सङ्ख्या बढ्छ, सडकमा गाडीहरूको सङ्ख्या स्वतः घट्छ र यसले क्रमशः ट्राफिक जाम कम गर्छ।

साइकल सबैभन्दा वातावरणमैत्री सवारी साधन हो। यो हाम्रो व्यक्तिगत बलको माध्यमले चल्छ त्यसैले यसले कुनै पनि प्रदूषण हुन दिदैन्। यसले थोरै स्थान ओगट्छ, यो शान्त पनि हुन्छ र स्वास्थ्यको लागि पनि यो उपयुक्त छ।

एनवाइसी प्लानिङ विभागले साइक्लिङलाई व्यक्तिको शारीरिक व्यायममका तीन महत्वपूर्णमध्ये एक माध्यमको रूपमा लिएको छ। नियमित रूपमा साइक्लिङ गरेमा शरीरको वजन बढ्ने चिन्ता कम गर्ने र फिटनेस कायम राख्न सहयोग गर्दछ। यसको दोहोरो फाइदा हुन्छ– शरीरका लागि आवश्यक पर्ने व्यायाममा साथै एकैपटक अफिसमा पनि पुग्न सकिन्छ। साइकललाई सबै उमेर समूहका व्यक्तिले रुचाउँछन् र रिक्रिएसनको लागि पनि प्रयोग गर्न सकिन्छ।

साइकल आर्थिक हिसाबले पनि निकै मितव्ययी रहेको छ। ट्रान्सपोर्ट अलटरनेटिभले गरेको एक अनुमान अनुसार अन्य सवारीसाधनको तुलनामा साइकल एक चौथाइ मात्र खर्च हुन्छ। तर, साइकलका लागी राम्रो पूर्वाधारको आवश्यकता पर्दछ। त्यसका लागि सुरक्षित, छुटै र सुविधाजनक साइकल लेनको आवश्यकता पर्दछ। त्यसै गरी पर्याप्त पार्किङ स्थल र राम्रो नेटवर्कको पनि आवश्यकता पर्दछ।

नेपाल विश्वमा नै एउटा गरिब मुलुक हो। नेपाल आफैले पेट्रोलियम पदार्थ उत्पादन गर्न सक्दैन। हामी पूर्ण रूपमा नै भारतसँग आश्रित छौ। जनतालाई पर्याप्त रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु नै सरकारको सबैभन्दा ठुलो चुनौती बनेको छ। अझ बेला बेलामा हामीले पेट्रोलियम पदार्थको सङ्कट भोगिरहेका हुन्छन्। यस सन्दर्भमा हामीले साइकललाई प्रवर्द्धन गरेमा यसले हाम्रो पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्न सहयोग गर्छ।

दिगोसहरी विकासको लागि राज्यले साइकल प्रयोग बढाउन प्रोत्साहन गर्नु पर्छ। जर्मनीको सहर फ्रेइबुर्गमा साइकल प्रयोगको लागि चाहेने पूर्वाधार विकास गरिएको छ। यो सहरको कुल यात्रा मध्ये १९ प्रतिशत साइकलबाट हुन्छ। तेती हुँदा पनि राज्यले साइकलको पूर्वाधारमा अरू यातायातको दाँजोमा जम्मा १ प्रतिशत बजेट मात्र हुन्छ। यो सहरको ५७प्रतिशत बजेट कारको पूर्वाधार बनाउन प्रयोग भएको छ भने सार्वजनिक यातायातको लागि ४२ प्रतिशत बजेट, ४२ प्रतिशत खर्चले १८ प्रतिशत यात्रु व्यवस्थापन गर्छ (The Economic Significance of Cycling) इन्धनिय सवारीसाधनले यो बाहेक अरू खर्च जस्तै वातावरणीय प्रदूषण, ऊर्जा खपत, सडक दुर्घटना जस्ता खर्च हुन्छ ।

नेपालमा सडक दुर्घटनाका कारण झन्डै दुई हजार मानिसको मृत्यु हुने गरेको छ। त्यसैले दुर्घटना कम गर्ने उपयुक्त उपाय भनेको साइकलको प्रवर्द्धन नै हो । हामीले साइकलको प्रयोग बढाउँदै गएमा यसले अन्य सवारीसाधनको सङ्ख्यामा कमी ल्याउँछ। अनि यसले ट्राफिक समस्या समाधानमा पनि सहयोग गर्छ। ठुलो यातायातले ठक्कर दिएको बाहेक कम गतिमा चल्ने हुनाले साइकलले दुर्घटना समेत कम गर्दछ। साइकल यात्रीहरू गम्भीर दुर्घटनामा परेका उदाहरणहरू एकदमै कम रहेको छ। काठमाडौँ एउटा सानो समूहले यस अगाडी नै साइकलको प्रयोग थालेको छ। अब मानिसहरूले बिस्तारै स्वास्थ्य, अर्थतन्त्र र वातावरणका लागि उपयुक्त हुने महसुस गर्न थालेका छन् । राज्यले साइकल सम्बन्धी नीति बनाएमा र त्यस अनुसारको पूर्वाधार बनाएमा मानिसहरूले साइकल चढ्ने गर्दछन्। त्यसैले सरकारले तत्काल साइकल लेनको विकास र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारको विकास गर्नुपर्छ। यसले सहरको गुणस्तरीयता कायम गर्न समेत सहयोग गर्छ।

यति बेला काठमाडौँको सडक विस्तारको काम भइरहेको छ। कतिपय सडक यस अगाडि नै विस्तार गरिएको छ। सडक विस्तारको क्रममा साइकल लेनको विकास गर्न सकेमा साइकलमैत्री सिटी निर्माणको दिशामा एउटा कोसेढुंगाा हुने छ। ठुला सडक मात्र होइन, अन्य साना सडकहरूमा पनि साइकल लेनको विस्तार गर्नुपर्छ । साइकलको प्रवर्द्धन गर्दा सुरक्षाको पाटोलाई हामीले विशेष ध्यान दिनुपर्छ। काठमाडौँमा अहिले माइतीघरदेखि तीनकुने २.३ किमी साइकल लेन रहेको छ ।

Facebook Comments