मनास्लु आगलागी घटना : तीन हेक्टर घाँसे मैदानमा क्षति, गाइडमाथि कारबाही हुने

बुधबार, पुस १८, २०७५

काठमाडौं–मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) अन्तर्गत पर्ने सामागाउँ नजिकको जंगलमा २ साता अघि लागेको आगलागिमा ३ हेक्टर घाँसे मैदानमा क्षति पुगेको छ।

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँको सो संरक्षित जंगलमा लागेको डढेलोले १ हेक्टर क्षेत्रफलको धुपी र भोजपत्रको रुखलाई विनास गरेको संरक्षण क्षेत्रका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले जानकारी दिए।

उनका अनुसार रुख–विरुवा र घाँसको क्षति भएपनि वन्यजन्तु मरेको कुनै तथ्य फेला परेको छैन। सुरुमा स्थानीयले ४ वटा कस्तुरी मृग मृत फेला भनेर जानकारी गराएका थिए।

आगलागी हुँदा त्यहाँका जंगली जनावरको वासस्थानमा भने गम्भीर असर परेको पाइएको छ। उनका अनुसार आगलागीका कारण कस्तुरी मृग, झारल, ब्वाँसो, फ्याकु बिरालो, हिमाली खैरो भालु, चरी बाघ लगायतका वन्यजन्तु र डाँफे, मुनाल लगायतका पंक्षीको वासस्थानमा असर पुगेको हो।  रेञ्जर हिराबहादुर केसी र सरोज केसीले आगलागीको क्षतिको विवरण संकलन गरेका थिए।

वन्यजन्तूसँगै धुपी सल्ला लगायतका रुखहरु पनि जलेका छन्। संरक्षण क्षेत्रमा करिब १ सय १० प्रजातिका पंक्षी, ३ प्रजातीका सर्प र २ सयभन्दा बढी प्रजातिका हिमाली वनस्पति पाइने संरक्षण क्षेत्रका प्रमुख नरेन्द्र लामाले जानकारी दिए।
पुस ८ गते लागेको आगो १० गते मात्र नियन्त्रणमा आएको थियो।

मनास्लु संरक्षण क्षेत्र भ्रमणमा गएका गाइडले सामागाउँबाट मनास्लु बेस क्याम्पसम्म जाने बाटोमा पर्ने सो जंगलमा चुरोट खाएर ठूटो फाल्दा आगो लागेको थियो।

सरकारले २० वर्षका लागि मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको छ। गोरखा सदरमुकामबाट ५२ कोषको दूरीमा चीनको स्वसशासित क्षेत्र तिब्बतको सिमाना नजिक रहेको सामागाउँ पर्छ। मनास्लु संरक्षण क्षेत्र सन् १९९१ पछि मात्र विदेशीहरुका लागि खुला गरिएको हो।

गोरखा सदरमुकामबाट बुढिगण्डकी नदीको तीरैतीर लार्के भञ्ज्याङ नाघेर करिब १० दिनको पैदलयात्रापछि यहाँ पु्ग्न सकिन्छ। सो संरक्षण क्षेत्र विश्वकै आठौँ अग्लो चुचुरो मनास्लुसम्म फैलिएको छ । मनास्लुको उँचाइ ८ हजार १ सय ६३ मिटरसम्म फैलिएको छ।

गाइडमाथि कारबाही हुने
आगलागी गराउने गाइड सुवास पोखरेललाई सरकारले कारबाही गर्ने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ७ का पोखरेललाई कारबाही गरिने भएको संरक्षण अधिकृत तुम्बाँहाम्फेले जानकारी दिए।

मनास्लु संरक्षण क्षेत्र भ्रमणमा गएका बेला उनले सामागाउँबाट मनास्लु बेस क्याम्पसम्म जाने बाटोमा पर्ने जंगलमा चुरोट खाएर ठुटो फाल्दा आगो लागेको थियो।

Facebook Comments