नेपालमा मार्बल्ड बिरालोको पहिलो फोटो कैद

आइतवार, माघ १३, २०७५

काठमाडौं–वन्यजन्तु शोधकर्ताहरूले विश्वमै दुर्लभ मानिने मार्बल्ड (छिरबिरे) बिरालोको फोटो पहिलो पटक पूर्वी नेपालमा कैद गरेका छन्।

घरमा पाइने बिरालोभन्दा अलि ठूलो, गाढा रंग हुनुका साथै झाडीदार पुच्छर हुने छिरबिरे बिरालोको फोटो नेपालमा पहिलो पटक पाँचथर जिल्लाको २ हजार ७ सय ५० मिटर उचाइँमा रहेको जंगलमा खिचिएको हो।

उक्त तस्बिर ओपन एक्सेस जर्नल ‘नेचर कन्सर्भेसन’ मा यसै महिना प्रकाशित भएको छ। समीक्षामा भनिएको छ, ‘नेपालमा मार्बेल्ड बिरालोको पहिलो फोटोग्राफिक रेकर्ड बनेको छ। यसले विश्वको दुर्लभ एवं कम अध्ययन हुने बिरालोको उपस्थितिको पुष्टि गर्दछ।’

नेपालमा पहिलो पटक खिचिएको भनिएको छिरबिरे बिरालोको फोटो र अन्य सामग्री न्यूजिल्याण्डमा रहेको लिंकन विश्वविद्यालय र नेपालको रेडपाण्डा नेटवर्कका सोधकर्ताहरूले संकलन गरेका हुन्।

रेडपाण्डा नेटकवर्कका कार्यक्रम संयोजक एवं सोधकर्ता सोनम टासी लामाका अनुसार छिरबिरे बिरालो नेपालमा छ भनेर अध्ययनहरूमा उल्लेख भएपनि हालसम्म तस्बिर खिचिएको थिएन। उनी भन्छन्, ‘जनवरीमा कञ्चनजंगा क्षेत्रको सामुदायिक वनमा क्यामेरा ट्रयाप गर्दा छिरबिरे बिरालोको फोटो कैद भएको हो।’ भारत, चीन लगायतका देशमा छिरबिरे बिरालोको यसअघि नै फोटो कैद भइसकेको छ।

वन्यजन्तुविज्ञहरु पछिल्लो एक दशकदेखि पूर्वी नेपालका सामुदायिक वनमा निगरानी गर्दै आएका थिए। तर, उनीहरुले छिरबिरे बिरालो भेटाउन सकेका थिएनन्। लामा भन्छन्, ‘वन्यजन्तुविज्ञको निगरानी अनुरुप क्यामेरा ट्रयाप गर्दा नेपालमा छिरबिरे बिरालोको पहिलो तस्बिर खिच्न मद्दत पुग्यो।’ नेपालमा सात प्रजातिका सानो बिरालो पाइन्छ। त्योमध्ये एउटा छिरबिरे बिरालो हो।

Facebook Comments