ल्याण्डफिल साइटको अवस्था बुझ्न मेयर शाक्य बञ्चरेडाँडामा

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य स्यानिटरी ल्याण्डफिल साइटको अवस्था बुझ्न बिहीबार नुवाकोट पुगेका छन्।

तस्बिर : चन्द्रमणि भट्टराई।

उपत्यकाको फोहोर विस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागिएको बञ्चरेडाँडाको अवस्थाको स्थलगत जानकारी लिन मेयर शाक्य, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली, काठमाडौं महानगरका सहसचिव भरत अर्याल, महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल र वातावरण व्यवस्थापन र पूर्वाधार विकास विभागका अधिकारीसहित त्यहाँ पुगेका हुन्। सो स्थलगत भ्रमण अवलोकनका क्रममा संघीय संसद सदस्य रामबीर मानन्धर पनि सहभागी थिए।

मेयर शाक्यले आउँदो बर्खायाम अघि नै बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको काम थालनी गर्ने गरी पूर्वाधार विकास गर्न मन्त्रालयका अधिकारीलाई आग्रह गरे। ‘सिसडोलको क्षमता बढाउन सकिने अवस्था छैन। हामीले अर्को बिकल्प पनि सोचेका छैनौं । त्यसैले बञ्चरे डाँडाको पूर्वाधार विकासलाई प्राथमिकतासाथ अघि बढाउनु प-यो, ’ मेयर शाक्यले भने।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले माटो परीक्षणको काम थालिएको जानकारी दिए। ‘यसलाई दुईवटा प्याकेज बनाउँदा एक अर्काको मुख हेरेर काम झन् ढिलो हुने सम्भावना छ।

त्यसैले हामी एउटै प्याकेजमा काम गर्ने सोचमा छौं,’ उनले भने। माटो परीक्षणको नतिजाका आधारमा डिजाइन हुने, बोलपत्र आव्हान हुने काम हुने उनले जनाए।

Facebook Comments