बाँकेमा व्यावसायिक जडीबुटी खेती

शनिबार, माघ १९, २०७५

नेपालगञ्ज– जडीबुटी सङ्कलन, प्रशोधन र निकासीको हब मानिएको बाँके जिल्लामा व्यावसायिक रुपमा जटीबुटीको खेती हुँदै आएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका जडीबुटीलाई अहिले व्यावसायिक खेतीका लागि सिफारिश गरिएको छ ।

नेपालको आर्थिक विकासका लागि ३० प्रजातिका जडीबुटीलाई सरकारले प्राथमिकतामा राखेको छ । प्राथमिकतामा राखिएकामध्ये १२ प्रजातिका जडीबुटीलाई प्रविधि विकासको माध्यमबाट व्यावसायिक खेतीका लागि सिफारिश गरिएको वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यले बताउछन् ।

बाँकेमा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ । खेतीका लागि तोकिएका क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ ।

“जडीबुटीको बाह्य प्रजाति पनि हुर्काउन त सकिन्छ तर, यसले रैथाने प्रजातिका जडीबुटीको उत्पादकत्व घटाउन सक्छ । खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनोट गर्दा वैज्ञानिक प्रविधिबाट विस्तृत अध्ययन गर्नुपर्छ”, केन्द्र प्रमुख आचार्यले भने ।

बाँकेमा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्टरुपमा व्यावसायिक योजना बनाउनुपर्छ ।

उत्पादन गरिएका जडीबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्र प्रमुख आचार्यको सुझाव छ । बाँके जिल्लामा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुने गरेको छ ।

सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण, इथो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र सम्वद्र्धन तथा वनस्पतिको रासायनिक गुणको प्रतिफल स्थानीयस्तरमा पु¥याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना गरेको हो ।

केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवद्र्धन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि बढाएको छ ।

बाँके जिल्लाको ढकेरीमा रहेको वनस्पति उद्यानमा वनस्पतीय जडीबुटीको बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धानसमेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी, बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादन गरिएका जडीबुटीको सङ्कलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमा आबद्ध व्यवसायीले गर्दै आएका छन् । सङ्घले सङ्कलन गरेको जडीबुटी भारत र तेस्रो मुलुकमा निकासी हुने गरेको सङ्घका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए ।

नेपालमा करीब पाँच प्रतिशत जडीबुटी उत्पादन र गैरकाष्ठ वन पैदावार क्षेत्र रहेको । शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी निकासी भइरहेकोमा अहिले १५÷१६ वटा प्रजातिका जडीबुटी मात्र निकासी हुने गरेको छ ।

“भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि निकासी घटेको हो”, सङ्घका अध्यक्ष अन्सारी बताउछन् ।

भारतको यही व्यवस्थाका कारण पछिल्लो समय बाँकेबाट जडीबुटी निकासी घटिरहेको छ । केही वर्षअघि यहाँबाट भण्डै ६५ लाख किलो जडीबुटी निकासी हुने गरेकोमा गत वर्षदेखि निकासीको मात्रा करीब ४५ लाख किलोमा झरेको छ ।

जडीबुटीको निकासी घट्दै गयो भने व्यावसायिक खेतीमा पनि यसले असर पु¥याउने सम्बद्ध व्यवसायीको भनाइ छ । (रासस)

Facebook Comments