काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र २ सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सिफारिस गरिएको छ।
६ माघमा गठन भएको कार्यदलले सोमबार प्रतिवेदन पेश गर्दै हाल सञ्चालनमा रहेका ५८ वटा सार्वजनिक शौचालयको सुविधा समेत थप्न भनेको हो। प्रतिवेदनमा भनिएको छ, ‘पहिलो चरणमा भएकालाई सुधार गर्ने र त्यसपछि क्रमशः नयाँ निर्माण तथा आधुनिक शौचालय थप गर्नुपर्छ ।’
यसमा कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, सांस्कृतिक संस्थान, गुठी संस्थान, त्रिभुवन बिश्वविद्यालयजस्ता निकायसँग समन्वय गर्दा १२ वटा शौचालय थप गर्न सकिने देखाइएको छ भने आयल निगमले सञ्चालन गरेको पेट्रोल पम्पमा ७२ वटा शौचालय थप्न सकिने देखाइएको छ। महानगरभित्रका व्यवसायिक भवनहरु (सपिङ् कम्प्लेक्स र मलहरु) मध्ये ६७ वटामा सार्वजनिक शौचालय सञ्चालन गर्न सम्भव छ। उनीहरुसँग छलफल गर्नुपर्छ, प्रतिवेदनले देखाएको अर्को सम्भावना हो ।
कार्यदलले महानगरका ५७ स्थानमा शौचालय राख्न सकिने सम्भावना देखाएको छ। यसरी हेर्दा टेकु चोक, सानेपा पुल, कालीमाटी, कलंकी, सीतापाइला, बालाजु, माछा पोखरी, गोङ्गबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी पहिलो चरणमा काम गर्नु पर्ने स्थानका रुपमा सिफारिस भएका छन्।
यससँगै गौशाला, तीनकुने, कोटेश्वर, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसि, जुद्ध शालिक आसपास, हनुमान ढोका, जमल, लैन चौर सोह्रखुट्टे, बल्खु र कुलेश्वर पनि पहिलो चरणमा काम गर्नु पर्ने स्थानमा रुपमा शिफारिस छन् । यी बाहेकका स्थानमा दोश्रो चरणमा काम गर्दा चाप व्यवस्थापन हुनेछ ।
प्रतिवेदन बुझिसकेपछि समितिकी संयोजक एवं महानगरकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले शौचालयको अवस्था र व्यवस्थामा सुधार गरेर अघि बढ्ने बताइन्।
कार्यदलका संयोजक एवं सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेले अहिले चलेका कतिपय शौचालयमा चुकुनल नभएको, साबुनको व्यवस्था नभएको, अपाङ्गमैत्री नभएको, प्रकाशको व्यवस्था नभएको, महिलाहरुलाई स्यानिटरी प्याड फेर्ने तथा फाल्ने ठाउँ नभएको देखिएको उल्लेख गर्दै यी आधारभूत सुविधा नियमन गर्न सके मात्रै पनि तत्काल सुधार देखिने बताए।