कैलाली र कञ्चनपुरमा ६ वटा पानी प्रशोधन केन्द्र बन्ने

धनगढी–कैलाली र कञ्चनपुरमा ६ वटा पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ट प्लान्ट) निर्माण गरिने भएको छ।

सुदूरपश्चिम प्रदेश, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका अनुसार फोहोर पानी प्रशोधनका लागि कैलालीको लम्की,चौमला र राजीपुर तथा कञ्चनपुरको दोधारा–चाँदनी, बेल्डाँडी र कलकत्ता बजारमा प्रशोधन केन्द्र निर्माण गरिने छ। यस क्षेत्रमा भूमिगत पानी फोहोर हुने समस्या छ।

यी स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बनाउने हाम्रो योजना छ,’ डिभिजन प्रमुख मोहनबहादुर कुँवरले भने, ‘अहिले स्थान मात्र चयन भएको हो। परियोजनाको विस्तृत अध्ययन गरेर लागतको टुंगो लगाइनेछ।’

उनका अनुसार तराईका जिल्लामा शौचालयको फोहोर जमिनमुनि पठाइने गरिन्छ। जसले गर्दा भूमिगत पानी फोहोर हुने गरेको छ। ‘यहाँका शौचालयको फोहोर पानी सधैँ भूमिमा जाने गरी बनाइएको हुन्छ। तर, अब भूमिगत पानीलाई प्रदूषण हुनबाट रोक्न यो योजना अगाडि सारेका हौं,’ उनले भने।

प्र्रशोधन केन्द्रमा अस्पताल, होटेल तथा घरबाट निस्कने फोहोर पानीको समेत प्रशोधन गरिने कुँवरले बताए। यहाँका अस्पताल, होटेल तथा भान्साको फोहोर पानी प्रशोधन बिनै सीधैं खोला तथा नदीमा मिसाइँदै आएको छ भने शौचालयको फोहोर जमिनमै जाने गरेको छ।

संघीय सरकारले हालै मात्र फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनका लागि ढल व्यवस्थापन नीति–२०७५ कार्यान्वयनमा ल्याइसकेको छ। नीतिअनुसार

शहरी, जिल्ला सदरमुकाम, प्रदेश राजधानीमा मूल ढल प्रणाली र प्रशोधन केन्द्र संघीय सरकारको सहयोगमा निर्माण गरिनेछ, भने उपभोक्ताको घरबाट मुख्य ढलसम्मको ढल पाइप जडानको कार्य र आयोजनाको सञ्चालन एवं मर्मत सम्भार स्थानीय तहबाट हुनेछ।

त्यसैगरी, तीनवटै तहलाई ढल व्यवस्थापन सम्बन्धी योजना, व्यवस्थापन, अनुगमन र नियमनको अधिकार दिइएको छ। र, केन्द्र तहमा प्राविधिक सहयोग इकाईको स्थापना गरिनेछ। सोही अनुरुप यहाँका स्थानीय तहले समेत प्रशोधन केन्द्र निर्माणको तयारी थालेका छन्।

Facebook Comments