बञ्चरेडाँडा ल्याण्डफिल साइटका लागि बोलपत्र आह्वानको तयारी

काठमाडौं– शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहोर संकलन केन्द्र (ल्याण्डफिल साइट) निर्माणका लागि बोलपत्र आह्वानको तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल निर्माणका लागि फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिए। बोलपत्रको समयसीमा ३५ दिनको रहने र त्यस लगतै काम शुरु हुने उनले बताए।

प्रवक्ता दवाडीका अनुसार अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहोर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहोर विसर्जनस्थलसम्म जान सडक विभागले बाटो निर्माणको काम गरिरहेको छ ।

निर्माणका लागि मन्त्रालयले ३८ करोड बजेट छुट्याएको छ। मन्त्रिपरिषद्को गत मंसिर १७ गतेको बैठकले सो निर्णय गरेको हो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण गर्ने जिम्मा सो मन्त्रालयलाई दिएको थियो ।

निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ। उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। रासस

Facebook Comments