कैलाली–पानीको स्रोत व्यवस्थापन र स्रोतको दिगो संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

यूएसआइडी र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाको सहकार्यमा सञ्चालित ‘दिगो जल विकास’ कार्यशाला गोेष्ठिमा सहभागीहरुले पानीको दिगो व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका हुन्।
पानी व्यवस्थापन संस्थाले दिगो जल विकास कार्यक्रम अन्तर्गत सन् २०१७ मा डोटीको मेलेख, पुनेवाटा र कैलालीको कुटी क्षेत्रमा बसोबास गर्ने ६ सय ४४ घरधुरीमा पानीको स्रोत कस्तो छ र व्यवस्थापन कसरी भैरहेको छ भनेर अध्ययन गरेको थियो।
सो अध्ययनबाट हिमाली तथा पहाडी क्षेत्रमा पानीको समस्या भएको त्यसमाथि पानीको सही सदुपयोग नभएको पाइएको पानी व्यवस्थापन संस्थाका अनुसन्धान अधिकृत इमा एस कार्कीले बताइन्। धेरै दुरीसम्म पानी लिन जानुपर्ने समस्या पहाडी क्षेत्रका महिलाले भोग्दै आएको र खेर गैरहेको पानीको सदुपयोग नभएको पनि उनले बताइन्।
६ सय ४४ घरधुरीमा अनुसन्धानमा गर्दा ८४ दशमलब ५ प्रतिशतले ट्युबेलको पानी खाने गरेका छन्, भने ३३ दशमलव २ प्रतिशतले सार्वजनिक धाराको पानी प्रयोग गर्दै आएका छन्। यस क्षेत्रका मानिस ७५ दशमलव ९ प्रतिशत भूमिगत पानी र ५४ प्रतिशत आकाशे पानीमा निर्भर रहेका छन्।
४ दशमलव ५ प्रतिशतसँग विद्युतीय पम्पसेट छ, भने २० दशमलव ५ प्रतिशतसँग डिजेल पम्पसेट रेहको उनले बताइन्।
संस्थाका अनुसन्धानकर्ता तथा सिंचाइ इन्जिनियर डा. भेषराज थापाले जल विकास कार्यक्रममार्फत् खेर गएको पानीको सदूपयोगका लागि सोलार, फिरफिरे सिंचाइ तथा पोखरीको संरक्षणका लागि सहयोग गरेको बताए।
त्यसैगरी, डोटीका किसान नरबहादुर खड्काले पोखरीमा जम्मा भएको पानीको खेर गैरहेको बेला अहिले पोखरी संरक्षणपछि त्यहाँको पानी प्रयोग गरी तरकारीखेती गरिरहेको बताए।
साथै किसानहरुले स्थानीय तहले पानीको दिगो व्यवस्थापन गरी किसान लक्षित कार्यक्रम ल्याउनुपर्ने, पानीको स्रोतको अध्ययन र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने, स्रोतको दिगो संरक्षण गरिनुपर्ने लगायतका सुझाव समेत राखेका थिए।