फोहोर जति नदी–खोलामा

धनगढी–नेपाल र भारत सीमा भएर बग्ने मोहना नदी अत्यधिक प्रदूषित बन्दै गएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको छेउ भएर बग्ने मोहनामा फोहोर मात्र फ्याँक्ने गरिएको छैन, धनगढीमा रहेका नालाको ढल समेत सीधैं मिसिन्छ।

नेपाल-भारतसीमा भएर बग्ने माेहना नदी किनारमा फ्याँकिएकाे फाेहाेर। तस्वीर : खेमा

२० वर्षदेखि धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ६० वर्षीय बलबहादुर डगाैंरा भन्छन्, ‘पहिले गर्मीयाममा यो नदीमा पौडी खेल्नेको भीड हुन्थ्यो। तर, अचेल फोहोरले भरिएको छ।’

डगौंराले गाईपालन गरेका छन्, उनी गाईलाई पानी खुवाउन मोहना नदीमै लग्छन्। तर, पछिल्लो समय नदी प्रदूषित बन्न थालेपछि डगौंरा चिन्तित बनेका छन्।

मोहनामा बढ्दै गएको फोहोरको डंगुर देखेर डगौरा दुःखी छन्। भन्छन्, ‘धनगढी बजार क्षेत्रको फोहोर यही फालिन्छ। यहाँ अस्पतालजन्य फोहोर, सिसा प्लास्टिक अत्यधिक छन्। यसलाई सबैले मिलेर सफा गर्न सके गाई,भैँसीले पनि सफा ठाउँमा चर्न पाउँथे।’

धनगढी उपमहानगरपालिका–२ की ८५ वर्षीया धौलीदेवी विष्टका अनुसार पहिलाको तुलनामा मोहनामा फोहोर बढ्दै गएको छ। नदीलाई पवित्र मान्ने। शव जलाउने। पूजा गर्न तर,सरसफाइ गर्नेतर्फ सबैले व्यवस्था गरेको उनी बताउँछिन्।
‘यहाँका सबै मानिसहरूले फोहोर यही फाल्छन्। बर्खामा यहाँको सबै फोहोर मोहनाले बगाएर लान्छ,’ उनले भनिन्,‘शव यही आउँछ। फोहोर यही आउँछ। कसैले केही भन्दैन। फोहोर भयो भन्दैमा सफा कसले गर्छ। सबैले फोहोर मात्र गर्न हो।’

नेपाल-भारतसीमा भएर बग्ने माेहना नदी छेउमा फ्याँकिएकाे फाेहाेर। तस्वीर : खेमा

धनगढी उपमहानगरपालिका क्षेत्रबाट निस्कने फोहोर फाल्ने ठाउँ भनेकै मोहना नदी र यहाँका स–साना खोलाहरू रहेका छन्। फोहोरमात्र होइन यहाँका होटेल तथा अस्पतालबाट निस्कने संक्रमणजन्य फोहोर पानी तथा फोहोर कैलाली खोलामा फालिन्छ। कैलाली खोला मोहनामै गएर मिसिन्छ।

‘अस्पतालमा फोहोर पानी प्रशोधन केन्द्र छैन। त्यसैले सबै संक्रमणजन्य फोहोर पानी कैलाली नालामा गएर मिसिन्छ, ‘सेती अञ्चल अस्पताल इमर्जेन्सी शाखाका इन्चार्ज कृष्ण बोहराले भने।

धनगढी उपमहानगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिका–२ मा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) बनाउन १० मंसिर २०७४ मा सम्झौता भएको थियो। तर, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्थानीयले विरोध गरेपछि ल्याण्डफिल साइट बनाउने काम अलपत्र परेको छ।

धनगढी बजारमा रहेकाे कैलाली नाला। पानी परेपछि याे नालामा रहेकाे फाेहाेर बगेर माेहना नदी पुग्छ। तस्वीर : खेमा

धनगढीमा ल्याण्डफिल साइट बन्न नसक्दा फोहोर फाल्ने विकल्पको ठाउँ नदी नाला भएको छ। धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी यहाँका नदी नालाहरूमा फोहोर फोहोरजन्य पानी खोला नदीमा मिसाउँदै आएपनि आफूहरूले केही गर्ने नसकेको बताउँछन्। ‘होटेल, अस्पतालले फोहोर पानी प्रशोधन केन्द्रको स्थापना गरेपछि मात्र सञ्चालन गर्ने स्वीकृत दिनुपर्ने हो। तर,यसलाई रोक्नका हामीसँग कुनै विकल्प छैन।’

मोहना नदी मात्र होइन कर्णाली र यसको सहायक नदी सेती फोहोरले प्रदूषित बन्दै गएका छन्। नदी आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसहरूले शौचालयको ढल तथा दैनिक प्रयोगविहीन फोहार सिँधै नदीमा फाल्दा नदी प्रदूषित बन्दै गएको हो।

डल्फिन पाइने चिसापानीस्थित कर्णाली नदी क्षेत्र पनि प्रदूषित बनेको छ। कर्णाली नदी प्रदूषित बन्दा डल्फिन लगायत अन्य चलचरलाई असर परेको संरक्षणकर्मीहरू बताउँछन्।  पर्यटकीय क्षेत्र भए पनि सरसफाइ र जहाँ त्यही फोहोर फाल्दा कर्णाली नदी प्रदूषित बन्दै गएको हो। पर्यटकलाई भित्र्यार व्यापार राम्रो भए पनि यहाँको सरसफाइमा भने कसैको ध्यान पुगेको छैन।

चिसापानी बजारबाट निस्केको फोहोर पानी कर्णाली नदीमा रानी जमरा सिंचाई कुलरिया आयोजनाका लागि बनाइएको बाँधमा गएर जम्मा हुने गरेको छ।

‘अगाडी बजार क्षेत्र सफा छ। तर,पछाडितिर होटेलबाट निस्कने फोहोर पानी कर्णाली नदीको नहरमा गएर जम्मा भएको छ,’ स्थानीय व्यापारी लक्ष्मी लिगलले भनिन्, ‘यहाँ आउने पर्यटकले नाक थुनेर हिँड्नुपर्छ।’

त्यसैगरी, २०६९ सालदेखि दिपायलको सेती नदी हुँदै चिसापानी कर्णालीसम्म -याफ्टिङ्ग गराउँदै आएका छन्, -याफ्टिङ्ग एन्ड एड्भेन्चर प्रालिका अध्यक्ष विष्णुप्रसाद जौशी। दिपायल, सुर्खेतदेखि चिसापानीसम्मको जलयात्रामा सेती र कर्णाली फोहोर र ढलले गर्दा प्रदूषित बनिरहेको उनी बताउँछन्।

चिसापानीस्थित कर्णाली नदी छेउमा रहेकाे फाेहाेर। तस्वीर : खेमा

‘पानीमा फोहोरको टुक्रा पनि फाल्नु मिल्दैन तर,यहाँ दुर्गन्ध बढी छ। पाहुनाहरूलाई -याफ्टिङ्ग गाउँदा गाई, भैँसी, फोहोर बगेर आउँछन्,’ उनले भने, ‘यस्तो देख्दा आन्तरिकदेखि बाह्य पर्यटकको एउटै आवाज हुन्छ। नदी सफा गर्नुहोेस्। नदीमा फोहोर नफाल्नु भन्नहुन्छ। त्यतीबेला आत्मग्लानी हुन्छ।’

सेती नदीमामा शौचालयको ढल र कर्णालीमा प्लास्टिकजन्य वस्तुले नदी प्रदूषण भएकोे सात वर्षको जलयात्राको अनुभव भएको उनी सुनाउँछन्। ‘पिपल्ला बजार पारी दिपायल क्षेत्रको शौचालयको फोहोर सीधैं सेतीमा नदीमा फालिन्छ। नदी छेउछाउमा बस्ने मानिसहरूले आफ्नो शौचालयको पाइप सीधैं नदीमा जडान गरेका छन्,’ उनले भने,‘जलयात्रा गर्दा शौचालयको ढल नदीमा मिसिरहेको प्रत्यक्ष देखिन्छ।’

कर्णाली नदी पश्चिम तिब्बतमा उत्पत्ति भई नेपाल हुँदै भारतको शारदा नदीसँग मिसिन्छ। त्यस्तै, बझाङको साइपाल गाउँपालिकाको कालंगा भन्ने ठाउँमा रहेको सेती नदीको मुहानमा सिसा तथा फोहोर थुप्रिएको छ।

जयपृथ्वी नगरपालिकाको बजार क्षेत्रबाट निस्कने सिसा लगायतका फोहोर सुरक्षित तरिकाले विसर्जन गर्ने ठाउँको अभावमा सबैले फोहोर फाल्ने ठाउँ भनेकै सेती नदी र बाहुली गाडलाई बनाएका छन्। बाहुली गाड सेती नदीमै गएर मिसिन्छ ।

कर्णालीकाे छेउमै रहेकाे चिसापानी बजारमा फ्याँकिएकाे फाेहाेर। तस्वीर : खेमा।

सुदूरपश्चिम रहेका नदी तथा खोलामा बढ्दै रूपमा रहेको प्रदूषणलाई रोक्न उद्योग, पर्यटन,वन तथा वातारण मन्त्रालयसँग कुनै नीति तथा योजना छैन। मन्त्रालयका सचिव मेघराज काफ्लेले प्रदेश मन्त्रालयसँग नदी नाला सफा गर्न तथा प्रदूषण हुनबाट रोक्नका लागि कुनै नीति तथा कार्यक्रम नभएको बताउँछन्।

‘सुदूरपश्चिमका केही नदी नालाहरू प्रदूषणको चपेटामा छन्। त्यसलाई हामीले स्वीकार गछौं,’ सचिव काफ्ले भने, ‘वातारण ऐन संसद्मा पेस गरेका छौँ।’ स्वच्छ वातावरण महाभियान अन्तर्गत वृक्षरोपण मात्र यो वर्ष गरिने उनले बताए।

Facebook Comments