जलवायु परिवर्तनको असर हिमश्रृखलादेखि जैविक विविधतामा

काठमाडाैं–विश्वमा बढ्दै गएको जलवायु परिवर्तनका असर र प्रभाव प्रत्यक्ष रुपमा नेपालको हिमाली क्षेत्रमा देखिन थालेको छ। नेपालको उत्तरी हिमाली क्षेत्रमा विगत पाँच वर्षलाई आधार मानेर हेर्दा हिमाली क्षेत्रमा पाईने वन्यजन्तु माथिल्लो क्षेत्रमा बसाइँ सरेर जाने क्रम बढेको छ।

The Hindu Kush Himalayan region and 10 major river basins.
source : icimod nepal

तापक्रम बृद्धिसँगै हिमालका हिउँ छिटो पग्लने र हिउँ पर्ने क्रम घट्दै गइरहेका बेला बनस्पति र वन्यजन्तुको बसाइँ सर्ने क्रम बढेको पाइएको छ। दिनप्रतिदिन बढ्दो तापक्रम र वातारणमा देखिएको प्रभावको असर पछिल्लो समय रसुवाको लाङटाङ क्षेत्रमा पाइने पिका जातको खरायो, पुतली माथिल्लो क्षेत्रमा बसाइँ सर्ने क्रम बढेको छ।

हिउँ छिटो पग्लदै, हिमनदी बढ्दै
पाँच बर्षको अबधिमा हिमालबाट बगेर आउने लेन्दे, लाङटाङ, भोटेकोसी जलप्रवाहमा समेत परिवर्तन देखा पर्ने थालेको वातावरण संरक्षण क्षेत्रमा काम गर्ने सरोकारवालहरू बताउँछन्। जर्नल अफ डेभलपमेन्ट ईनोभेसनले गरेको अध्ययन अनुसार सन् २००९ मा लाङटाङको ग्ल्यासियरको क्षेत्रफल १४२.०६ वर्ग किलोमिटर देखाएकोमा सन् २०१८ सम्म आइपुग्दा १३५ वर्ग किलोमिटरमा मात्रै ग्ल्यासियर र हिउँ रहको देखाउँछ। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा यसको प्रभाव अझै बढ्दै जाने रिपोर्टले देखाउँछ। रिपोर्ट अनुसार लाङटाङ क्षेत्रमा ३० वर्षको अबधीमा हिउँ पग्लने क्रम २६ प्रतिशतले घटेको देखाएको छ।

नेपालमा वार्षिक औसत तापक्रम वृद्धि ०.०६ डिग्रि सेन्टिग्रेट रहेको छ। उचाइँ बढ्दै जाँदा तापक्रमको वृद्धि बढ्दै जाने र त्यसको सबैभन्दा बढी असर हिमालमा परेको देखिएको एक तथ्यांकले देखाएको छ ।

बसाइँ सर्दै वन्यजन्तु र वनस्पति
लाङटाङ क्षेत्रमा पाइने वन्यजन्तुको विषयमा लाङटाङ राष्ट्रिय निकुञ्जको सहकार्यमा भएको अध्ययनमा पाँच वर्ष अघि २ हजार ८ सय उचाइँमा देखिने पिका जातको खरायो ३ हजार ५ सय मिटरको उचाइँमा पाईएको अध्ययनकर्ता मनोज भुसालले बताए। उनका अनुसार वन्यजन्तु र बनस्पति माथिल्लो भेगमा बसाइँ सर्दै जाने क्रम देखिएको छ।

‘एक हजार ९ सय मिटरमा देखिने पाँच थरीका हिमाली पुतली अहिले ३ हजार २८ मिटरमा मात्रै देख्न सकिन्छ,’ वातावरणविद् तथा अनुसन्धानकर्ता भुसालले भने, ‘लाङटाङमा दुई महिना लगाएर गरेको अध्ययनमा उक्त तथ्य भेटिएको हो।’ ‘२० प्रजातिको बनस्पति २ हजार मिटरबाट २ हजार ३ सय ५ मिटरमा भेटियो,’ उनले भने। करीब ६ महिना लगाएर गरेको अध्ययनमा आफूहरुले उक्त तथ्य फेला पारेको उनले बताए।

हिमस्खलन र जलवायु परिवर्तनका असर हिमाली क्षेत्रमा पाइने चराचुरूङ्गी, हिमाली भालु, हिमचितुवामा समेत बासस्थानको खोजीमा बसाइँ सर्ने क्रम बढेको पाइन्छ। पाँच वर्ष अघि गाउँ नजिकै हिमचितुवा देखेपनि अहिले उक्त वन्यजन्तुको अवस्था के छ भन्न सकिने अवस्था छैन, लाङटाङका स्थानीय ङेरुप तामाङले भने। पाँच वर्ष अघि गाउँमै हिमचितुवा देखिन्थ्यो,’ तामाङले भने, ‘तर अहिले कतै देखिएको छैन।’ लाङटाङ निकुञ्जको सहकार्यमा ‘फ्रेन्डस अफ नेचर’ नामक संस्थाले हिमालमा पुगेर चार वर्ष अघि स्कयाट (दिसा) को जाँच गर्दा भाले र पोथी जातको हिमचितुवा रहेको पत्ता लगाए पनि स्थानीयले भने हिमचितुवा बिरलै देखिने बताए।

तापक्रम अनुकूल खोज्दै बदेंल
सात वर्षयतादेखि लाङटाङको माथिल्लो भेगमा २ हजार मिटरमा पाइने बदेंल तल्लो क्षेत्रबाट माथिल्लो भेगमा बसाइँ सरेका छन्। जसको असर कृषिबाट निर्भर लाङटाङका किसान समस्यामा परेका छन्।

जलवायु परिवर्तनसँगै तापक्रम वृद्धिको असरले जंगली बँदेलको बसाइँ सराईमा पर्न थालेको छ। ‘दुई हजार मिटरमा पाइएको बदेंल तल्लो क्षेत्रबाट बसाई सराई गरेर लाङटाङ केन्जिङको ३ हजार ९ सय ५० मिटरको उचाइँमा देखिन्थ्यो,’ स्थानीय सुब्बा लामाले भने, ‘अहिले लाङटाङको ४ हजार ५ सय मिटर उचाइँको लाङसिसा भन्ने ठाउँमा भेटिन्छ।’

बदेंल बसाइँ मात्रै सरेन कृषिमा निर्भर स्थानीयले सास्ती समेत भोग्नु परेको गुनासो छ। स्थानीयले शुरुमा रेडियो बजाएर बदेल भगाउन खोजे। ड्याङ्ग्रो र थालको साहरा लिए तर बदेल भगाउनका लागि उनीहरूको केही सीप चलेन। निकुञ्ज संरक्षित क्षेत्र भएकाले लाङटाङमा बदेंलको सिकार गर्न बन्देज छ। नियन्त्रणका उपाय पनि किसानले लगाए ।

खेती जोगाउने उपायको लागि निकुञ्ज धाउँदा पनि सुनुवाई नभएपछि केन्द्र सरकारसम्म आइपुगे पनि कसैले आफूहरुको आवाज नसुनेको स्थानीय शिक्षक फिन्जो तामाङले बताए। ‘वर्षेनि बदेंलको संख्या बढ्दो छ, एकातिर खेतमा कृषिका उपज लगाउन पाइएको छैन,’ उनले भने, ‘अर्को तिर घरसम्म बदेंलले जोत्न आउँछ।’

कति छ बदेंलको संख्या
सन् २०१२ मा फ्रेन्डस अफ नेचर (प्रकृतिका साथी) नामक संस्थाका तीन जनाको टोली र तत्कालीन निकुञ्जका सहायक संरक्षण अधिकृत रामदेव चौधरी सहितको टोलीले निकुञ्जको क्षेत्रभित्र बदेंलको अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिबेदन अनुसार बदेंलको संख्या एक हजार दुई सय ९४ देखि दुई हजार १ सय ५६ रहेको अनुमान प्रतिवेदनमा उल्लेख गरेको छ।

चार महिनासम्म निकुञ्ज क्षेत्रको बदेंलको बासस्थान भएको क्षेत्रमा गएर अध्ययन गर्दा सबैभन्दा बढी लाङटाङ क्षेत्र बदेलको संख्या बढी भएको तथ्याङ्क निकालिएको छ। सबैभन्दा कम रसुवाको यार्सामा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। अध्ययन टोलीले गरेको प्रतिवेदन अनुसार लाङटाङ क्षेत्रमा बदेलबाट प्रति घर ३८ हजार १ सय ३० रुपयाँको दरले नाक्सान गर्ने गरेको देखाएको छ।

बदेंलबाट बालीनाली बचाउन टल्कने कपडा
लाङटाङ निकुञ्ज मध्यवर्ती क्षेत्र सहयोग आयोजना विश्व वन्यजन्तु कोषले बदेंलबाट बच्नका लागि भन्दै अष्टेलियन प्रविधीको टल्कने कपडा र ढुङ्गाको घेराबारको प्रयोग गरेको क्षेत्रमा मात्र केही सुरक्षित भएको स्थानीय बनाउँछन्। बदेंलकै कारण स्थानीय कृषि पेशा छोडेर पलायन भएका छन । लाङटाङमा स्थानीयको ८ सय रोपनीभन्दा बढी जग्गा छ तीमध्ये ७ सय रोपनी खेतबारी दुई वर्षदेखि सुख्खा बाँझो रहेको स्थानीय सुब्बा लामा बताउँछन्।

‘वन्यजन्तुको त्रासले खेती लगाउन नसकिएपछि अहिले अधिकांश स्थानीय खेतीबाली छोडेर गाउँ छाडेर गइसकेका छन्,’ उनले भने, ‘केही स्थानीय आफ्नो केही व्यवसाय सञ्चालन गरेर जीबिको निर्वाह गरिरहेछन्।’ पर्यटन क्षेत्रको रुपमा लाङटाङ नहुँदा यहाँका स्थानीय आलु, फाँपर, गहुँसँग चामल साटेर जीविकोपर्जन गर्न बाध्य थिए। पर्यटन क्षेत्रको रुपमा परिचित भएपछि पर्यटन व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन्। पर्यटन व्यवसायमा संलग्न नहुनेहरुको कृषि पेशमाा भने वन्यजन्तुको त्रासका कारण संकटमा परको छ।

हिउँ पर्ने ठाउँमा तरकारी खेती
उच्च हिमाली भेग प्रायः हिउँ पर्ने भएकाले हरियो तरकारी उब्जनी असम्भव जस्तो थियो। तर, अहिले लाङटाङ गाउँमै तरकारी उत्पादन हुन थालेको छ। लाङटाङ ७ का फिनजो तामाङले दुई वर्षदेखि यता खुल्ला बारीमा तरकारीखेती शुरु गरेका छन् । हिमालमा बन्दा, काउली, मुला, गोलभेडा हुदैन थियो अहिले हिउँ कम पर्ने थालेपछि तरकारी खेती शुरु गरेको उनले बताए।

‘टनेल भित्र गोलभेडा खेती, साग, बन्दा, लसुन खेती, र अन्य तरकारीका बीऊबिजन लगाएर फलाएको छु,’ तामाङले भने, ‘हिमाली भेग भएकाले यहाँ केही पनि उत्पादन हुँदैन मैले टनेलबाट तरकारी खेती थालेको हुँ।’

करीब एक रोपनीमा परीक्षणका रुपमा तरकारी रोप्दा फलेपछि अब गोलभेडा, करेला, साग लगायतका तरकारी विस्तारको योजनामा छु,’ उनले भने। उनले लगाएको तरकारी खेती देखेपछि ३ हजार ९ सय मिटर देखि ४ हजार २ सय मिटरको उचाईमा रहेको लाङटाङको थाङस्याप देखि क्यान्जिन गोम्पामासम्मका किसानले तरकारी खेती थालेका छन्। उच्च स्थानमा हुने हिमाली भु–बनोट र हावा पानीमा तरकारी नफल्ने समस्या भएका स्थानीय आफंै आत्मनिर्भर भएका छन्।

‘विदेशीले हिमालको फेदीमा पनि तरकारी कसरी सम्भव भएको भनेर प्रश्न गर्छन्,’ फिन्जो भन्छन्, ‘ग्रिन हाउस टनेललाई बेलुका कतैबाट पनि सित र चिसो हावा छिर्ने नदिने विहानपख खोल्ने गरेपछि फल्छ।’ टनेल हाउसमा उत्पादित तरकारीमा कुनै विषादी समेत प्रयोग नगर्ने गरेको उनले बताए। ‘गोलभेंडा बजारमै १ सय रुपैयाँ किलो छ, म १ सय ५० रुपैयाँसम्म आफ्नै टनेलबाट बिक्री गर्छु,’ उनले भने।

Facebook Comments