चरीचरनका लागि भारतीय जंगलमा निर्भर

कैलाली–धनगढी उपमहानगरपालिका–१० घुइँयाघाटकी ६० वर्षीया शान्तीदेवी रानाले १० बाख्रा पालेकी छन्। तर, बाख्रा चराउन घर नजिकै वनजंगल छैन, सीमावर्ती भारतीय जंगलमा जानुपर्ने बाध्यता छ। पहिले यस्तो अवस्था थिएन। घर छेउमै वनजंगल थियो। र, उनले पनि थुप्रै भेंडाबाख्रा पालेकी थिइन्।

तर, अहिले पूरै बस्ती बसेपछि यस्तो समस्या निम्तिएको हो। ‘चराउने ठाउँ नभएपछि बाख्रा पाल्न कम गरेकी हुँ,’ उनले भनिन्, ‘त्यहाँ पनि देखेपछि गाली गर्छन्।’

खेतबारीमा अन्नबाली नहुँदा खेतबारीमै चराउने गरिएको तर, अन्य समय सीमावर्ती भारतीय जंगलमा गएर बाख्रा चराउनु पर्ने बाध्यता रहेको उनको भनाइ छ।

७० वर्षीया बदैयादेवी राना भन्छिन्, ‘हामी बसेको ठाउँमा वनजंगल नभएकाले मोहना नदी किरानामा गाईबाख्रा चराउँछौं।’
३० वर्षदेखि बाख्राको गोठालो गर्दै आएकी ४५ वर्षीया रामकुमारी रानाले विगतको अनुभव यसरी सुनाउँछिन्, ‘पहिले नेपालकै जंलगमा चराएर यहीको नालामा बाख्रालाई पानी खुवाउथे। तर, अहिले जंगल पनि छैन। पानी पनि सुकिसक्यो।’
उनले पनि पहिले २० वटा बाख्रा पालेकी थिइन्।

तर, जंगल नहुँदा चराउने ठाउँको अभावमा अहिले १० वटा बाख्रा मात्र पालेकी छन्। भएका बाख्रा पनि बिक्री गर्ने सोचमा उनी छिन्।

यहाँका बासिन्दा घास, दाउराका लागि पनि सीमावर्ती भारतीय जंगलमा निर्भर छन्। उनीहरू १५÷२० जनाको समूह बनाएर बाख्रासहित सीमावर्ती भारतीय जंगल वनकट्टा जाने गर्छन्।

धनगढी उपमहानगरपालिका–३ का ६५ वर्षीय बलबहादुर डगौंराको पीडा पनि उस्तै छ। ४० वर्षदेखि गाईगोरुको गोठालो गर्दै आएका उनले जंगल फडानीले चरीचरनमा समस्या भएको बताए।

‘पहिला कञ्चनपुरको लालझाडीमा चराउन जाल्थे। त्यहाँ पनि चराउन दिएनन्। त्यसपछि चराउने ठाउँ नभएपछि पशु पाल्न पनि कम गरे,’ डगौराले भने, ‘अहिले मोहना नदी किनारामा चराउँदै आएको छु। यो भारत हो।’

Facebook Comments