कर्णालीमा राष्ट्रिय नदी शिखर सम्मेलनः ‘नदीलाई प्राकृतिक रूपमै उपयोग गराैं’

सुर्खेत–कर्णाली नदी दीगो संरक्षण र सदूपयोगलाई केन्द्रमा राखेर बिहीबार तेस्रो शिखर सम्मेलन–२०७५ सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मेलनकाे उद्घाटन गरे।

मुख्यमन्त्री शाहीले कर्णाली नदीको ‘स्टोरिज प्रोजेक्ट’ बनाएर सिंचाइ, खानेपानीसँगै अन्य आवश्यकता परिपूर्ति सकिने बताए। ‘ कर्णालीबाट अहिलेसम्म कुनै चिज प्राप्त गर्न सकिएको छैन,’ उनले भने, ‘अहिले पनि ठूला ठूला देश पानी संकलन गर्न लागेका छन् ।सरकारले विज्ञहरुले निकालेका निष्कर्षलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ।’

नयाँ कोर्ष अगाडि बढेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले विकासका सम्भावना अध्ययन गर्नुपर्ने बताए। ‘आलोचना र विरोध गरेर मात्र विकास सम्भव छैन,’ उनले भने, ‘गरिबीको परिचय बदल्नु छ। आर्थिक समृद्धिका सम्भावना पहिचान गर्नुपर्नेछ। नदीले इतिहास चिनाउँछ। नदीसँग इतिहास जोडिएको हुन्छ। नदीसँग सभ्यता पनि जोडिएको छ। यसको पनि संरक्षण र सम्वद्र्धनसँग पनि जोडिएको छ।’

जलस्रोत विज्ञ समेत रहेका पूर्वमन्त्री दीपक ज्ञवालीले नदी दोहन र संरक्षणबीचको चपेटामा परेको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको बताए। ‘हामी विकासका धेरै गलत बाटोमा हिँडिरहेका छौँ। पहिला विकास थिएन। सभ्यता भन्ने शब्द छ। सभ्यता, विकास र समृद्धि क्रमिक रुपमा आइरहेका शब्द हुन्,’ विगतबारे चर्चा गर्दै उनले भने, ‘तर, अहिले सरकारमा बसेकाले भनेको जेसुकै पनि विकास भइरहेको छ। अरुले भनेको विकास होइन भनिएको छ। यो नै कुविकास हो। दोहन, संरक्षण र व्यवस्थापन त्रिकोणात्मक चपेटामा अलमलिएका छौं।

भारततीर पानी दोहन बढेकाले कन्चपुर तीरको पानी तह घटिरहेको उल्लेख गर्दै जलस्रोत विज्ञ ज्ञवालीले भने, ‘नेपालको जलस्रोत भनेको नै विद्युत भन्ने भ्रममा हिँड्यौं। सिंचाइका लागि पानी नै चाहिन्छ। पानी जलविद्युतका लागि हो कि सिंचाइका लागि हो कि खानका लागि हो यो टुडंगो लागेको छैन।’ भारतले १११ वटा नदीहरु जलमार्ग विकास गर्ने भनेकोमा कर्णाली ३७ नम्बरमा परेको छ।

त्यसैले अपर कर्णाली परियोजना नेपालको हितमा नरहेको बताउँदै उनले भने, ‘यो नेपालका लागि होइन, यो निर्यात गर्ने योजना हो। विजुली निर्यात गर्ने योजना हो। यो कुविकासको चरम नमुना हो। ठूलो लाभबाट बन्चित हुन्छौं र यसको असर रानी जमरा सिंचाइ आयोजनासम्म हुन्छ।’

कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष प्राडा पुण्यप्रसाद रेग्मीले कर्णालीको विकासको मोडल बेग्लै हुनुपर्ने धारणा राखे। ‘हामी अहिले अलि दुविधामा छौं। तर, विकास अघि बढाउँदा वातावरणसम्म अलिअलि द्वन्द्व हुन्छ,’ उनले भने, ‘यहाँ यो भाषा, संस्कृति कला, धर्म र इतिहास फरक छ। जमिनमा र पानीमा पनि धनी छौं। त्यसैले अध्ययन र अनुसन्धान जरुरी छ।’

प्राकृतिक स्रोतसाधनको सही सदुपयोगका लागि गहन छलफल जरुरी रहेको उनको भनाइ छ। कर्णाली प्रदेशको विकासको अवधारणा पत्र तयार भइरहेको र नदीको महत्वलाई अझ उजागर गरेर अघि बढने उनले प्रतिवद्धता जनाए।

कांग्रेस नेता जीवनबहादुर शाहीले विवेकशील विकास हुनुपर्ने बताए। ‘हामी नेपालमा सप्रेको कामलाई बिगारदिन्छौं। हामी स्थानीय ज्ञान र परम्पराहरु भत्काउदैछौं। प्राकृतिक रुपमा धेरै धनी छौं। तर मानसिक रुपमा हामी धेरै गरीब छौँ,’ उनले भने, ‘सन्तुलित विकास गर्नुपर्छ।’

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली नदीको सम्भावनाको बौद्धिक बहस सुरु भएको बताए। ‘नदीलाई प्राकृतिक रुपमै बग्न दिनुपर्छ । र, प्राकृतिक रुपमै उपयोग गर्नुपर्छ भन्ने कुरालाई स्थानीय तहबाट बहस गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले कर्णालीलाई एटटा समृद्धि र स्रोतको रुपमा प्रयोग गर्ने परिकल्पना गरेका छौं । यो प्राप्तिका लागि अर्को अवधारणा पनि समात्नुपर्ने हुनसक्छ।’

नदीलाई प्राकृतिक रुपमै राख्न चुनौती र प्रतिकुलता सिर्जना गर्ने उल्लेख गर्दै सभामुख शाहीले भने, ‘यसको उपयोग गरेर पनि समृद्धि हासिल गर्न सक्छौ भन्ने बुझाउन सकियो भने यो सम्मेलनको उद्देश्य प्राप्त हुन्छ। वातावरण पर्यटनबाट पनि गर्न सक्छौं। बढीभन्दा बढी यसको उपयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा व्यापक छलफल हुनेछ भन्ने विश्वास लिएको छु।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिहं बुढाले कर्णाली नदी र यस क्षेत्रलाई पर्यटकीय र साहसिक पर्यटन क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताए।

युसएडको आर्थिक सहयोगमा नेपाल वातावरण पत्रकार समूह, नदी संरक्षण संस्था, युथ एलाइन्स फर इन्भारोमेन्ट, कर्णाली प्रदेश सरकारलगायतले सम्मेलनको आयोजना गरेका हुन। उद्घाटन सुर्खेतमा भए पनि बाँकी सबै कार्यक्रम दैलेखको राकममा हुने भएको छ।  युएसएड पानी परियोजनाका प्रमुख निलु बस्न्यातका अनुसार राकममा सञ्चालन हुने सम्मेलनमा विकासको, ज्ञानको आदानप्रदान, कर्णालीमा भइरहेको अनुसन्धान र अध्ययनबारे छलफल हुनेछ।

भारत, बंगलादेश, अमेरिका र रसियाका गरी करीब १५ जना अनुसन्धानकर्ताहरु आएका छन्।  कार्यक्रम नदी, पानी, संरक्षणका क्षेत्रमा सक्रिय संस्था र विज्ञहरुले आआफ्नो तर्फबाट कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। सम्मेलनका अन्य गतिविधीहरु कर्णाली नदीकै किनारमा हुने भएका छन्।

कार्यक्रममा ३० मिनेटको कर्णाली नदी (कैलाश पर्वतबाट गंगासम्म) वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो। ४४ दिने कैलाशदेखि गंगासम्मको यात्रालाई समेटेर यो वृत्तचित्र बनाइएको हो। तेस्रो नदी शिखर सम्मेलनमा २ सय जना सहभागी छन्। यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरू, नदी संरक्षणकर्मीहरु, सरकारी पदाधिकारी, संचारकर्मीहरु, संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता छ।

पहिलो र दोस्रो नदी सिखर सम्मेलन क्रमशः सुनकोशी र त्रिशुलीमा भएकोमा तेस्रो कर्णालीमा भएको हो। कर्णालीको उदगम स्थललाई माप्सा खवाब भनिन्छ। कर्णाली बेसिनमा हिउँ चितुवादेखि पाटेबाघ, डल्फिन, हात्तीसम्म पाइन्छन्।

कैलाशबाट हुम्ला हुँदै बगेर आउने कर्णाली नदी घाघरा हुँदै गंगामा मिसिन्छ। कर्णाली नदी बेसीनमा १.४ अर्ब जनसंख्या आधारित छ। कर्णाली प्रदेश कर्णाली नदीको स्वच्छ पानीको राजधानी भन्दा फरक पर्दैन। कर्णालीको उदगम स्थललाई माप्सा खवाब भनिन्छ।

कर्णालीको कुल लम्बाई १ हजार ८० किलोमिटर छ, नेपालमा मात्र ५ सय ७ किलोमिटर छ। तिब्बतियन संस्कृति, बुद्धिष्ट संस्कृति, खस, आर्य राजी राउटे, सोनाहा, राजीहरु कर्णाली बेसिनमा निर्भर छन्, भने हिउँ चितुवादेखि पाटेबाघ, डल्फिन, हात्तीसम्म पाइन्छन्।

Facebook Comments