विद्युतीय फोहोरको भयावह अवस्था

संसारमा चार अर्ब ६८ करोड मानिसले मोबाइल फोन सेट बोक्छन्। उनीहरूले औसतमा १८ महिनामा सेट परिवर्तन गरी नयाँ लिन्छन् भन्ने एउटा आँकडा छ। पुराना सेट त्यतिकै फालिन्छ र यी विद्युतीय फोहोरको रुपमा वातावरणमा रहन्छन्।

यस पृथ्वीका सबैमध्ये एक अर्ब ४० करोड घरमा घटीमा एउटा टेलिभिजन सेट छ। औसतमा दुई वर्षमा त्यसलाई फालिँदो रहेछ। प्रत्येक सेकेन्डमा आठ सय वटा ल्यापटप विद्युतीय फोहोरको रुपमा वातावरणमा मिसिइरहेका छन्। यही किसिमले अनुमान लगाऔँ सात अर्ब ७० करोड विश्वजनसंख्याले कति यस्ता विद्युतीय तथा पारमाणविक सामग्री प्रयोग गर्लान् ?

बहुराष्ट्रिय कम्पनी एप्पलले मात्र सन् २०१३ मा ७९ करोड ६० लाख वटा इलेक्ट्रोनिक सामग्री बनाएर बजारमा ल्याएछ। काम नलाग्ने भएपछि ती सामग्री फोहोरको रुपमा वातावरणमा मिसिन्छन्। संयुक्त राष्ट्रसंघका अनुसार यस्तो फोहोर सालिन्दा पाँच करोड मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ।

विद्युतीय फोहोर भन्नाले विद्युतीय सामग्री जस्तैः बिग्रेका रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, मोबाइल, एलसीडी, प्लाज्मा टिभी, रेफ्रिरेजेरेटर, एअर कुलर, एसी मेसिन, एटिएम, कम्प्युटर, भिसा कार्ड, सीपीयू, सीडी प्लेयर, लुगा धुने मेसिनलगायतका विद्युतीय उपकरणहरु पर्छन्। यसका साथै चिकित्सा विज्ञानमा प्रयोग हुने एक्स–रेदेखि इसीजी रेकर्ड गरिने क्याथोड–रे ट्यूव हुँदै रोग निदानमा र उपचारका लागि चाहिने विद्युतीय औजार सबै विद्युतीय फोहोर हुन्। विद्युतीय फोहोरलाई ई–वेस्ट वा डिजिटल फोहोर वा इलेक्ट्रोनिक फोहोर पनि भन्ने गरिएको छ।

आजको युग कम्प्युटरको पनि परिस्कृत रुप डिजिटल प्रविधिको हो। सबै मानिस यस प्रविधिसँग गाँसिइसकेका छन्। मानव जीवनको न्यूनतम आवश्यकता वा जीवनको जीउने आधार नै बनेको छ, डिजिटल प्रविधि। मानौ न मोबाइल, टिभी, कम्प्युटरआदिसँग अभ्यस्त भइसकेको हाम्रो जीवन यी वस्तुविहीन भयो भने कति खट्पट् लाग्दो हो।

तसर्थ यस्ता फोहोरको उत्पादन वर्सेनि बढेर आइरहेको छ। संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनईपी) का अनुसार आगामी दशकमा अहिलेको भन्दा मात्रा पाँच सय गुणा वृद्धि हुनेछ। अमेरिका एक्लैले वर्षको तीन करोड वटा कम्प्युटर र दश करोड वटा मोबाइल फोन फ्याँक्छ। युरोपका देशहरुले १० करोड वटा फोन सेट सालिन्दा उत्पादन गरिरहेका छन् र त्यति नै संख्यामा फोहोरको रुपमा हुत्याइरहेका पनि छन्।

यसरी प्mयाँकिएका सामान अधिकांश नेपालजस्ता गरीब मुलुकतिर मानिसमार्फत् वा अन्य व्यपारिक माध्यमबाट पठाइन्छ। विकसित देशबाट करीब ८० प्रतिशत यस्तो फोहारजन्य सामग्री वा बिग्रिन लागेका उपकरण गरीब वा अविकसित देशतिर निकासा हुन्छन्। अमेरिकाको न्यूयोर्कबाट त्यहाँ प्रयोग गर्न मनाही गरिएका वा दोस्रा हाते बन्न लायक इलेक्ट्रोनिक्स ९० प्रतिशत दक्षिण एशियाली मुलुकमा भित्र्याइन्छ। अनि त अविकसित देशलाई –‘खाइ न पाइ छालाको टोपी लाई’ भनेजस्तो भएको छ। ती आयु समाप्त भइसकेका सामग्री आउँछन् केही दिन चलाएपछि यहाँबाट पनि फोहोरको डंगुरमा पुग्छन्।

एक अध्ययनले देखाएको छ कि नेपालमा मात्र कम्तीमा ५५ मेट्रिक टन ई–वेस्ट हरेक वर्ष भित्रिने गरेको छ। यो करीब सात प्रतिशतले सालैपिच्छे बढ्दै आएको पनि छ। जति रोजगारी खोज्दै विदेश जाने मानिस बढे वा विदेश आउजाउ बढ्यो उति नै ई–वेस्ट बढेको छ। साथी सर्कल वा परिवारको कोही मानिस बाहिर गयो भने उनीबाट उपहार आशा गर्ने, बाहिरबाट फर्कँदा साथीभाइ र आफन्तको मन राख्न वा राम्रै कमाइ भएको प्रमाणित गर्न उनीले पनि यस्तै इलेक्ट्रोनिक्स ल्याउने खालको प्रवृति बसेको छ। यो प्रवृतिले बुझौँ वैदेशिक रोजगारीसँगै ई–फोहोर पनि बढेको छ नेपालजस्ता देशमा।

सन् २०१७ सम्ममा काठमाडौंमा मात्र १८ हजार मेट्रिक टन यस किसिमको फोहोर जमिसकेको छ। नेपाल सरकारको वातावरण विभागले चाहिँ १७ हजार सात सय ३० मेट्रिक टन छ–भनेको छ। उता विकसित देशले त्यसरी सल्टाउन नसेकेका चाहिँ त्यहीँ खतरनाक फोहोरको रुपमा जम्मा भइरहेका छन्।

यता ल्याइएका पनि लामो समय प्रयोगमा आउँदैनन् र फोहोर नै बन्ने हुन्। सबै किसिमका फोहोरको थुप्रोमा यस्ता विद्युतीय वा डिजिटल वा इलेक्ट्रोनिक्स फोहोरको हिस्सा आश्चर्यजनक किसिमले बढेर आएको छ। युरोपियन कमिशनले गरेको एक अध्ययनले भन्छ– युरोपमा ६१ लाख टन जम्मा फोहोरमा ३३ लाख टन चाहिँ यस्तो फोहोर पाइएको थियो। अर्को एउटा तथ्यांकमा उल्लेख भएको छ कि जति हानिकारक मानिएको (अस्पतालजन्य वा अन्य अकार्बनिक फोहोर छ) त्यसको ८५ प्रतिशत अंश ई–वेस्टले लिएको छ।

ई–वेस्ट वातावरणीय र जैविक स्वास्थ्यमा साह्रै खतरनाक मानिन्छन्। एउटा विद्युतीय उपकरणमा साधारणतया ६० वटा हानिकारक तत्वहरु रहेका हुन्छन्। हालसम्मको अध्ययनले देखाएको छ कि यस किसिमका थोत्रा वस्तुमा एक हजार किसिमका हानिकारक पदार्थ हुन्छन् । यी वस्तु जलाउँदा क्यान्सर लगाउने पदार्थहरु (कार्सिनोजेन्स) निस्किन्छन् । त्यसैगरी डाइअक्सिन र फ्यूरान्स जस्ता शक्तिशाली भयङ्कारी वस्तुहरु वातावरणमा मिसिन्छन् । त्यसैले जलाएर नष्ट गर्नु पनि मूर्खता हुनेछ।

कम्प्युटरको सीपीयूमा लिड, क्याड्मियम्, बेरिलियम्, ब्रोमिनेटेड पदार्थहरु, प्mलेम रिटार्डडेन्टजस्ता वस्तुहरु हुन्छन्। सीपीयू जल्दा वा कुनै किसिमले नाश हुँदा पनि यी हानिकारक रसायन हाम्रो वातावरण र शरीरमा आइपुग्छन्। यी सबैले क्यान्सर लगाउने हुन्। लिड भनिने गह्राैं धातु जुन सबै ई–वेस्टमा हुन्छ त्यसले स्नायुकोष, छाला र मृगौलालाई क्षति गर्छ। साथै सबै ई–वेस्टमा हुने मर्करीको पनि यस्तै असर हुन्छ । आर्सेनिक र क्याड्मियम्ले पनि स्नायुलगायतका कोषहरुको बनावटमा गम्भीर असर गर्ने हुन् । सबैजसो डिस्प्ले गर्ने मोनिटर वा स्क्रीनमा फोस्फोर्स भन्ने तत्व हुन्छ यो अति विषालु मानिन्छ।

ई–वेस्टको एउटा अवयव हेक्साभ्यालेन्ट क्रोमियमले सोझै डिएनएमा क्षति पुर्याउने हो। परिणाममा उत्परिवर्तन भई अपांग बच्चा जन्मिने, गर्भ बिग्रिने वा अन्य कुनै आनुवांशिक समस्या देखा पर्ने हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार अर्को वस्तु बेरिलियमले एउटा रोग लगाउँछ त्यसको नाम नै बेरिलियम डिजिज हो। यस्ता फाहोरमा हुने पोलिक्लोरिनेटेड बाइफिनाइलले मानव स्वास्थ्यमा सोझै आपत्तिजनक आक्रमण गर्दछ।

चीनमा हालै गरिएको एक अनुसन्धानको प्रतिवेदनमा उल्लेख गरिएको छ–अघिल्ला वर्षहरुभन्दा धान खेतमा क्याड्मियम, लिड,मर्करी,निकेल,तामा, र अरु स्वास्थ्यलाई हानि गर्ने वस्तु तीन सय गुणा बढी पाइयो । डाइओक्सिन अघिल्ला वर्षहरुभन्दा एक सय गुणा बेसी पाइएको थियो। यो तथ्यले बताउँछ– त्यस्ता सामग्री क्षयीकरण हुँदा हानिकारक वस्तुहरु माटो र पानीमा पनि पुगिसकेका छन्।

घातक मानिएका ई–वेस्टलाई यतिकै थुपार्दा पनि डंगुर बढेर ठूलो समस्या भएको छ। ब्याट्रीयुक्त यी जति छन् ती वस्तुको विष्फोटनको संभावना पनि उतिकै रहन्छ। जलाउँदा झन् हानिकारक पदार्थ धुँवामार्फत सबैतिर फैलिने भो।
जति यस्ता फोहोर छन् त्यसको ८५ प्रतिशत चाहिँ अव्यवस्थित तरिकाले फ्याँकिने गरेको छ। यस तथ्यले यस्ता फोहोरको हानिलाई झन् भयावह बनाइदिएको छ।

ई–वेस्टलाई व्यवस्थापन गर्न अरु फोहोर व्यवस्थापन गरेजस्तै ‘चार वटा आर’सूत्र लगाउनु पर्ने हुन्छ। हालको स्थितिः साढे १२ प्रतिशत मात्र पुनः चक्रण हुने गरेको छ। पुनःचक्रण गर्ने हो भने दुई वटा तरिकालाई रसायनिक वैज्ञानिकहरुले सिफारिस गरेका छन्। ती हुन् पगाल्ने र क्रिओजेनिक किसिमले गलाउने। यदि पुनः चक्रण गरेमा निकै ठूलो आर्थिक फाइदा पनि हुने निश्चित छ।

किनभने अधिकांश यस्ता सामग्रीमा सुन,चाँदी,हिरा,तामा वा अन्य यस्तै प्रकारका बहुमूल्यवान् वस्तुहरु जड्ती गरिएका हुन्छन्। पुनः चक्रण गर्न सकेमा वातावरणीय र मानवीय स्वास्थ्यमा पर्ने असर कम भएर आउने छ। पुनः प्रयोग केही हदसम्म नगरिएको होइन तर यसो गर्नु पनि मूर्खताको प्रयोग गर्दै जोखिम मोल्नु नै हो। किनभने मिति समाप्त भइसकेका इलेक्ट्रोनिक्स प्रयोग गर्नु निकै ठूलो खतरा मोल्नु नै हो। यी सामग्रीको उत्पादनमा नै कमी ल्याउनुपर्ने कुरामा पनि आवश्यकताले मागेको र आधारभूत आवश्यकता भएको हुनाले बल गर्न सकिने स्थिति भएन। बरु लामो आयु हुने गरी सामग्री बनाउन जरुरी भएको छ। अहिलेको अवस्थामा ल्यापटपको आयु दुई वर्ष मात्र मानिन्छ। आशय यो हो कि–बढी टिकाउ भएमा फोहोरको रुपमा चाँडै फ्याँकिदैन थियो।

यसप्रकारको फोहोरमैलालाई व्यवस्थित गर्नका लागि अफ्रिकन देश केन्या र केही युरोपियन मुलुकहरुले संयुक्त प्रयास सुरु गरिसकेका छन्। उनीहरुले यसलाई नियमन गर्न एउटा फ्रेमवर्क बनाएका छन्। तथापि उनीहरुले यसलाई पार नलाग्ने चुनौतिका रुपमा लिएका छन्। यता भारतले पनि ई– वेस्टलाई न्यूनिकरण गर्न सन् २०१६ मा एउटा अध्यादेश पारित गरेको छ। सो अध्यादेशमा भनिएको छ कि समय गुज्रिएका वा फोहोरको रुपमा बाहिरबाट आउँदै गरेका विद्युतीय वस्तुलाई देश भित्रिन रोक लगाउने। नेपाल यस सन्दर्भमा उति सचेत र सजग भएको पाइन्न।

यो भयानक वातावरणीय समस्याले नेपाल झन् धेरै गाँजिएको हुनसक्छ। धेरै नेपालीहरु वैदेशिक रोजगारीमा रहेका आधारमा र माथि बयान गरेअनुसारका प्रक्रिया र प्रवृत्तिका आधारमा नेपाल त ई–वेस्टको डम्पिङ साइट नै भएको होला कि, यथेष्ट अनुसन्धान गर्न आवश्यक भइसक्यो। यस्ता फोहोरमैलाको उचित किसिमले व्यवस्थापन गर्न नीति तत्काल निर्माण गरी कार्यान्वयनमा आउन पनि साहै्र आवश्यक भइसकेको छ ।

इमेलः[email protected] 
(लेखक अधिकारी एमएस्सी (प्राणी शास्त्र इकोलोजी एण्ड इन्भाइरोमेन्ट विशिष्टिकरण), एमएड (स्वास्थ्य शिक्षा स्वर्णपदक विजेता हुन्)

लेखकबाट थप : खानेपानीको सुविधाबाट कसैलाई पछाडि नपारियोस्
युट्रोफिकेशनले आक्रान्त जलाशय
सिमसार संरक्षणका चुनौति

Facebook Comments