माछापालनका लागि ३५ हेक्टर जलाशय विस्तार

धनगढी– कैलाली र कञ्चनपुरमा यो वर्ष माछापालनका लागि जलाशय विस्तार गरिने भएको छ।कैलाली र कञ्चनपुरमा माछापालनका लागि ३५ दशमलव शून्य एक हेक्टर जलाशय विस्तार गरिने भएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष ३५ हेक्टर जमिनमा नयाँ पोखरी निर्माण गर्न लागेको जनाएको छ।
मन्त्रालयका अनुसार दुई जिल्लाका ६९ जना किसानहरूले नयाँ माछापोखरी निर्माण गर्दैछन्। कैलाली जिल्लामा ३९ जना र कञ्चनपुरमा ३० जना किसानले नयाँ माछापोखरी निर्माण गर्ने भएका हुन्।

माछापालनका लागि  निर्माण गरिएकाे कृतिम जलाशय । तस्वीरःमस्त्य विकास केन्द्र कैलाली

मन्त्रालयले नयाँ माछापोखरी निर्माण गर्न किसानलाई प्रतिहेक्टर तीन लाख रुपैयाँ अनुदान रकम दिने मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत डा.विद्याधरप्रसाद खनालले बताए।

मन्त्रालयले ३५ हेक्टर जमिनमा नयाँ माछापोखरी निर्माण गर्ने लक्ष्यसहित एक करोड पाँच लाख बजेट विनियोजन गरेकोे उनको भनाइ छ।

कैलालीमा रहु, नैनी, माहुर, कमनकार्प, मासकार्प, सिल्भरकार्प, विगहेड, लगायत जातका माछा उत्पादन हुँदै आएको छ।
कैलालीमा विगत लामो समयदेखि नै तीव्ररुपमा कृतिम जलाशय विस्तार गरी माछापालन गर्नको संख्या बढ्दो छ। कैलालीमा एक सय ८० हेक्टर कृत्रिम जलाशयमा माछापालन हुँदै आएको छ।

Facebook Comments