जलवायु परिवर्तनले सखाप पार्दैछ कफी खेती

काठमाडौँ— ती कृषक आफ्नो एकान्तमा रहेको र मरूभूमि जस्तै बनेको कफी खेतीमा उभिइरहेका छन् । कफीका बोटका पातहरू छिद्र परेका र ओइलाएका छन् । अर्काे पटक कफी उत्पादन हुनेमा शङ्का नै छ।

गत वर्ष उनका दुई भाइ र बहिनीले जीवन यापनका लागि राम्रो विकल्पको खोजीमा होन्डुरसको पर्वतीय भागमा रहेको सानो कफी खेती छोडे । उनीहरू उत्तरी भूभागतर्फ बसाइँ सरे । उनीहरूको लक्ष्य भनेको अमेरिका जानु हो । गत फेब्रुअरीमा ती कृषकका १६ वर्षीय छोरा पनि उत्तरी भूभागतर्फ लागे । उनका बाबुआमाले उनलाई गाउँमा नै बस्न आग्रह गरे तर मानेनन् । सेन्ट्रल अमेरिकन मुलुक होन्डुरसको कृषि जीवन अहिले निकै चुनौतिपूर्ण छ । एकातिर गरिबी कायम छ। अर्काेतिर सरकारले अन्तराष्ट्रिय रूपमा बढेको वस्तुको मूल्यका विषयमा राम्रो ध्यान दिएको छैन।

कृषक, वैज्ञानिक र उद्योगीका अनुसार नयाँ चुनौतिले कृषि उत्पादनलाई बर्वाद गरिरहेको छ । जीवन यापन कष्टकर हुँदा कृषकहरू बिस्तारै अमेरिकातिर बसाइँ सरिरहेका छन् । यसको एउटौ कारण हो– जलवायु परिवर्तनले कृषिमा पारेको असर । उनीहरूले भोगेका दुःखका बारेमा यतिबेला वैज्ञानिकहरूले पनि बोलिरहेका छन् । तापक्रममा निरन्तर भइरहेको बृद्धि, विषम मौसमी अवस्था र भविष्यवाणी गर्न नसकिने मौसमले वातावरणमा असर गरिरहेको छ । जस्तो कि पानीको आवश्यकता जतिबेला छ त्यतिबेला पानी नपर्ने, जतिबेला पानीको आवश्यकता छैन त्यतिबेला बढी पानी पर्ने प्रवृत्ति बढिरहेको छ।

जसले प्रत्यक्ष रूपमा कफी उत्पादन चक्रलाई असर गरेको छ भने विषादीको प्रयोगले व्यापकता पाएको छ । ती अवरोधले कतै उत्पादन घटाएको छ भने कतै चाहिँ पुरै उत्पादनलाई नै खत्तम बनाको छ। एकातिर गरिबी छ अर्काेतर्फ कफी खेतीको यो अवस्था, यसले कृषकलाई निकै चिन्तित बनाएको छ। वैज्ञानिकहरूका अनुसार सेन्ट्रल अमेरिकी मुलुकहरू जलवायु परिवर्तनका दृष्टिले बढी संवेदनशील छन्।

अनि यस क्षेत्रको ठूलो जनसंख्या कृषि रोजगारीमा निर्भर छ। होन्डुरसमा मात्रै २८ प्रतिशत जनसङ्ख्या कृषि रोजगारीमा निर्भर रहेको छ । विश्व बैंकले यहाँको जीवनयापन जोखिममा रहेको आँकलन गरेको छ । गत वर्ष विश्व बंैकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मेक्सीको र सेन्ट्रल अमेरिकन मुलुकका १४ लाखभन्दा बढी मानिसले आगामी तीन वर्षमा आफ्नो मुलुक छोडेर बसाइँ सराइ गर्ने प्रक्षेपण गरेको छ । अमेरिकाले पछिल्लोपटक सेन्ट्रल अमेरिकन मुलुककलाई लक्षित गरेर लाखौँ डलर सहयोग गरेको छ।

सो रकम विशेष गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नमा केन्द्रित रहेको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले होनडुरस, ग्वाटेमाला लगायतका मुलुकहरूले उत्तरतर्फको बसाइँ सराइलाई कम गर्न नसकेको भन्दै यी मुलुकलाई दिँदै आएको वैदेशिक सहयोग कटौती गर्ने चेतावनी दिएका छन् । आलोचकहरूले अमेरिकाले गर्न लागेको दण्ड ठीक नभएको र सहयोग कटौती भएमा ती मुलुकहरूले समस्यासँग जुध्न नसक्ने दावी गरेका छन् । यसले कृषकहरूलाई आफ्नोे खेती छोडेर अमेरिकातर्फ लाग्न बाध्य पार्ने आलोचकहरूको भनाइ छ।

यदि डोनाल्ड ट्रम्पले होन्डुरसलाई दिँदै आएको सहयोगमा कटौती गरेमा यसले बेरोजगारी बढाउने र बसाइँ सराइलाई अझ बढावा दिने त्यहाँका कफी बिक्रेताहरूको भनाइ छ । यसले गर्दा कृषि गर्न चाहनेहरूले आफ्नो पेसा छोड्ने सम्भावना अझ बढी हुनेछ।

फ्रिदी ओनन, भिसेन पेना माथि उल्लेख गरिएका कृषक हुन जसका दाजुभाइ, बहिनी र एक जवान छोरोले कृषि खेतीलाई पूर्ण रूपमा छोडिसकेका छन् । उनी कफीको बिरुवा नजिक गए र त्यसबाट एउटा पात टिपेर देखाए । त्यो पात पहेँलो भइसकेको थियो । जलवायु परिवर्तनको असरका कारण नै कफीमा सो समस्या देखिएको हो । उनले लगाएको ७० प्रतिशत कफी खेती पूर्ण रूपमा प्रभावित भएको छ । रोग निवारण गरेर कफी उत्पादन गर्ने सम्भावना न्यून रहेको छ।

‘जलवायु परिवर्तनले कृषि क्षेत्रलाई नराम्रोसँग असर गरेको छ,’ उनले भने । यति मात्र होइन, केही कफीका रूखहरू निर्धारित समयभन्दा दुई महिना अगाडि नै फुल्न थालेका छन्। जसले उत्पादन प्रणालीलाई नै असर गर्ने डर उनको छ । उनले आफूले अनुमान गरेको भन्दा फरक भइरहेको बताए। यस क्षेत्रको औसत तापक्रम विगत केही दशकमा नै दुई डिग्रीले बढेको छ । जसले कफी उत्पादनलाई निकै असर गरेको छ। तापक्रम वृद्धिले गर्दा कृषकहरू उच्च अल्टिच्युटमा जग्गा खोज्न लागेका छन् । यति मात्र होइन कतिपयले त कफी खेती र पेसा नै परिवर्तन गर्न थालेका छन् । वैज्ञानिकहरूले लामो समयदेखि मौसम सम्वन्धी डाटाको अभाव रहेको बताएका छन्।

विश्वका अन्य भागको अवस्था हेर्ने हो भने पनि हिंसा र गरिबीपछि जलवायु परिवर्तन नै बसाईसराईको कारण बन्ने गरेको छ। कतिपय कृषक अहिले नै गरिवीको मारमा रहेका छन् अव कृषि उत्पादनमा कमी आएका कारण उनीहरु अब जीवन यापन गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । कफी मात्र होइन अन्य कृषि उत्पादनहरुमा समेत जलवायु परिवर्तनले गम्भीर असर गर्न थालेको छ । विभिन्न अध्ययनका अनुसार सन् २०५० सम्म सेन्ट्रल अमेरिकामा कफीको लागि योग्य जमिन ४० प्रतिशतले घट्ने छ।

नोट : न्यूयोर्क टाइम्स र अन्य सञ्चार माध्यममा आएका समाचारहरूको भाव अनुवादको आधारमा तयार पारिएको हो ।

Facebook Comments