‘वन विभागले अनुगमन नगर्दा विरुवाको उपयोग सुनिश्चित भएन’

काठमाडौँ – वनजंगल तथा बोट बिरुवासँग प्रत्यक्ष सरोकार राख्ने निकाय वन विभागले देशभर भएको वृक्षरोपणको अभिलेख राखेर अनुगमन नगर्दा उत्पादित बिरुवाको उपयोग भएको सुनिश्चित हुन नसकिएको महालेखा परीक्षकको छपन्नौँ प्रतिवेदनले जनाएको छ।

महालेखा परीक्षकको प्रतिवेदन २०७५ का अनुसार वन विभागले देशभर भएको वृक्षरोपणको अभिलेख राखेर अनुगमन नगर्दा उक्त बिरुवा सरेको, हुर्केको तथा त्यसको उपयोग भए नभएको विषयमा सुनिश्चित हुन सकिने अवस्था छैन।

उक्त अनुगमनले नेपालको कुल क्षेत्रफलमध्ये ६५ हजार ४२२ वर्ग कि.मि. (४४.४५ प्रतिशत)निकुन्ज र वन क्षेत्रले ओगटेको र बाँकी ८१ हजार ७९७ वर्ग कि.मि. (८१ लाख ७५ हजार ९ सय हेक्टर) मा मानव बस्ती, कृषि योग्य जमिन, उद्योगधन्दा रहेको देखाएको छ।

प्रतिवेदनका अनुसार विगत १० वर्षमा सरकारी निकायबाट मात्र १४ करोड ४५ लाख १९ हजार बिरुवा उत्पादन भएको देखिन्छ। तर, विभागले बिरुवा उत्पादनपश्चात अभिलेख राखेपनि अनुगमन भने नगरेकाे प्रतिवेदनमा उल्लेख छ।

Facebook Comments