चट्याङबाट मर्नेको संख्या बढ्दो, आठ वर्षमा ८ सय ४१ को मृत्यु

काठमाडौँ – प्राकृतिक विपद् मध्ये चट्याङबाट मृत्यु हुनेकाे संख्या अन्यकाे तुलनामा बढी भएकाे राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेकाे एक तथ्यांकले देखाएकाे छ। विगत आठ वर्षमा चट्याङ लागेर मृत्यु हुनेको संख्या ८ सय ४१ पुगेको  केन्द्रले  उल्लेख गरेकाे छ।

हाकाहाकीसँग कुरा गर्दै केन्द्रका उपसचिव वेद खनालले चट्याङबाट २०७५ सालमा मात्रै ६८ जनाको मृत्यु भएको र ४ सय घाइते भएको बताए।

अघिल्लो वर्षहरूको तुलनामा यो वर्ष मृतकको संख्यामा कमी आएपनि बाढी र पहिरोबाट भन्दा चट्याङ लागेर मृत्यु हुनेको संख्यामा वृद्धि भएको उपसचिव खनाल बताउँछन्।

२०७४ सालमा चट्याङबाट एक सय ५ जनाको मृत्यु भएको थियो भने २ सय ८४ जना घाइते भएका थिए। केन्द्रको सार्वजनिक गरेको ८ वर्षको तथ्यांक हेर्दा बाढीबाट ६ सय ८२ र पहिरोबाट ८ सय १८ जनाको मृत्यु भएको देखिन्छ। नेपालमा चट्याङको पूर्वानुमान गर्ने संयन्त्र नभएकाले चट्याङबाट मृत्यु हुनेहरूको संख्या बढेको खनालको भनाइ छ।

चट्याङबाट वर्षेनि सयौँ घाइते भइरहेकाले सरकारले निशुल्क उपचारको व्यवस्था गरेको उपसचिव खनालले जानकारी दिए। “घइतेहरूको उपचार सरकारले गरिरहेको छ” खनालले भने, “घइतेहरूलाई अस्पतालसम्म लग्ने यातायातको व्यवस्था पनि निशुल्क छ।”

कुन जिल्लामा कति क्षति?
चट्याङबाट सबै भन्दा धेरै मकवानपुर जिल्लाका मानिसहरू बढी प्रभावित भएका छन्। मकवानपुरमा यो वर्ष चट्याङबाट मर्नेको संख्या ७ र घाइतेको संख्या ५६ रहेको छ। पश्चिम रुकुममा २० जना घाइते भए भने दाङमा १ जनाको मृत्यु हुँदा ८ जना घाइते भए।

उदयपुरमा ३ जनाको मृत्यु भयो भने १३ जना घाइते भए। इलाममा ९ जना घाइते भए। त्यसैगरी खोटाङमा १ जनाको मृत्यु हँदा ५ जना घाइते भएका छन्। अछाममा २ जनाको मृत्यु तथा ६२ जना घाइते भए। प्यूठानमा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। अर्घाखाँचीमा ३ जनाको मृत्यु र ४ जना घाइते भए। डडेल्धुरामा ४ जनाको मृत्यु र २१ जना घाइते भएका छन्।

अहिलेको मौसम चट्याङका दृष्टिले झनै जोखिमपूर्ण बन्दै गएकाले उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूको भनाइ छ। सावधानी अपनाउन नसक्दा चट्याङबाट मृत्यु हुनेहरूको संख्यामा बढेको विज्ञहरूको दाबी छ।

चट्याङ के हो ?
चट्याङ वातावरणमा हुने प्राकृतिक प्रकृया मध्येको एक हो। अकाशबाट जमिनतर्फ खस्ने एक विद्युतीय प्रवाहलाई चट्याङ भनिन्छ। दुई वटा विद्युतीय चार्जहरूबीचको घर्षणबाट उत्पन्न हुने प्रकाश,ताप र ध्वनिको प्रवाह चट्याङ हो।

वर्षायाममा वायुमण्डलमा विपरित दिशाका तीव्र गतिको वायु एक आपसमा ठोक्किदा वा घर्षण हुँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई चट्याङ भनिन्छ। यो अचानक हुने विद्युतीय विस्फोटन हो ।

कसरी हुन्छ घर्षण ?
सूर्यको तापक्रमले जमिनको सतहको तापक्रम पनि बढ्छ। यसले गर्दा पृथ्वीको सहतमा रहेको समुन्द्र, नदी, ताल, महासागरआदिबाट वाष्पीकरण विधिबाट पानीका कणहरू माथितिर उढ्दै जान्छन्। बादल जति जति माथि पुग्दै गयो त्यति नै गह्रौ हुँदै जान्छ । र बादलमा परिणत हुँदै जान्छ। यसरी धेरै नै माथि पुगेपछि अत्यधिक चिसोले गह्रौ भएको बादल तलतिर खस्न थाल्छ । यस्तो अवस्थामा तलबाट माथितिर गइरहेका अन्य पानीका कणहरूसँग ठोक्किन पुग्छ र घर्षण उत्पन्न हुन्छ।

यसरी तलबाट माथितिर जाने बादलमा हुने ऋणात्मक चार्ज र माथितिरबाट तल झर्ने धनात्मक चार्जबीचको ठक्करले करेन्ट पैदा हुन्छ र चट्याङ बन्छ।

चट्याङका प्रकार
चट्याङ सामान्यतया तीन प्रकारको हुन्छ।
१) बादलभित्रै उत्पन्न हुने वा बादलभित्रै रहने चट्याङ – यो चट्याङ एउटै बादलभित्रका कणहरूबीच घर्षण भइ उत्पन्न हुन्छ। यस्तो चट्याङ बादलभित्रै हुने भएकाले जमिनसम्म आइपुग्दैन
२) बादल बादलबीचको चट्याङ – यो चट्याङ बादल–बादलबीच सामान्य ठक्करबाट उत्पन्न हुने चट्याङ हो यो पनि सामान्यता जमिनसम्म आइपुग्दैन
३) बादल र जमिनबीचको चट्याङ – बादलबीचको ठक्करबाट उत्पन्न भएर जमिनसम्म आइपुग्ने चट्याङलाई बादल र जमिनबीचको चट्याङको रुपमा लिन सकिन्छ। यो निकै नै खतरनाक हुन्छ। यो पनि दुई प्रकारको छ। एउटामा बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्ज जमिनतिर पर्छ भने अर्को माथिल्लो भागबाट धनात्मक चार्ज जमिन तर्फ खस्छ।

सामान्यतया एक पटक पर्ने चट्याङमा पाँच हजारदेखि २ लाख एम्पियरसम्मको विद्युतीय करेन्ट प्रवाह हुने बताउँछन् चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा। उनका अनुसार बादलको तल्लो भागमा रहेको ऋणात्मक चार्जमा कम र माथिल्लोको धनात्मक चार्जमा धेरै विद्युतीय प्रवाह हुन्छ।

चट्याङको असर
सामान्यतया चट्याङ लागेका जनावर वा मानिसको मृत्यु भएको पाइन्छ। तर चट्याङमा परेर मर्ने मात्र होइन धेरै मात्रामा घाइते पनि हुने गर्दछन् । चट्याङ विशेषज्ञ शर्माका अनुसार चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ।

चट्याङबाट बच्ने उपाय
हुन त चट्याङ प्राकृतिक कुरा हो कहाँ कहिले पर्छ सजिलै थाहा पाउन सकिँदैन। तर पनि चट्याङ परेको बेलामा केही सावधानी अपनाउन सकिने हो भने यसको क्षतिबाट बच्न सकिन्छ। चट्याङविद शर्मा यसको क्षतिबाट बच्च यस्ता सुझाव दिन्छन्।

  • पानी परेको समयमा सकभर घरबाहिर ननिस्कने
  • घर बाहिर भएसकेसम्म चाँडो गरी घरभित्र बस्ने
  • घरका विद्युतीय सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, फोन आदि चट्याङ परेको समयमा प्रयोग नगर्ने
  • दिनको तीन बजेदेखि राती आठ बजेसम्म चट्याङ पर्ने हुनाले उक्त समयमा सकेसम्म घरबाहिरका काम नगर्ने घरभित्रै बस्ने
  • यदि बाहिर भएर घर जान नसक्ने अवस्था भएमा सानो सानो रुखहरूको छेवैमा रुखको उचाइ बराबरको दूरीमा टुक्रुक्क बस्ने ।
  • यदि ठूला रुख आसपासमा भए सकभर त्यसबाट टाढै रहने।
  • चट्याङ लागेर कोही घाइते भए तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्र लैजाने
Facebook Comments