अनुमति बिना रुख काटेको भन्दै क्षतिपूर्तिकाे माग

कैलाली–डिभिजन वन कार्यालय कैलालीले अनुमति बिनै ३९ रुख काटेको भन्दै सडक विभागसँग १० लाख क्षतिपूर्ति माग गरेको छ।

धनगढी बिपिनगर गड्सेरा दिपायल दु्रत मार्ग आयोजनाले वातावरणीय प्रभाव मुल्याङकन(आईईई) नगरी र वनबाट अनुमति नलिइ रुख काटेको भन्दै ९ लाख ९० हजार ६७ रुपैयाँ ७५ पैसा र दाउराको १२ हजार ३ सय २० रुपैयाँ क्षर्तीपुर्ती माग गरेको जिल्ला वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले बताए।

धनगढी–दिपायल द्रुत मार्गको कैलाली खण्डमा ३९ वटा रुख वनसँग अनुमति बिना काटेको उनले बताए। राष्ट्रिय वनमा ३४ र भवानी सामुदायिक वनमा ५ वटा रुखहरू काटेर काठ बेपत्ता पारिएको उनको भनाइ छ।

सहकार्यबिनै रुख कटान गरेर काठ गायब पारिएकोले सडक विभागले क्षतिपूर्ति दिए मात्र काम अगाडि बढ्न दिने उनी बताउँछन्।

प्रमुख बुलनले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रतिवेदन बुझाइसकेको र वन विभाग तथा सडक विभागमा बुधवार प्रतिवेदन बुझाउने तयारीमा रहेको बताए। ‘सडक क्षेत्रमा कैलालीतर्फ सात सय ७९ वटा रुखहरू काट्न पर्ने देखिएको छ। तर, स्याउले हुँदै हाट्खोली सडकको दायाँबायाँ ६० रुख काटेर फालेको देखिन्छ,’उनले भने,‘३९ रुखहरू भने बाटोभित्र गाडेको अवस्थामा भेटिएको छ।’

३९ रुखको क्षतिपूर्ति दिनुपर्ने, अन्य रुखको दाउरा, गोलिया बनाउनुपर्ने माग वनले राखेको छ। वन मन्त्रालयले सडक क्षेत्रमा पर्ने रुखहरू अनुमति विना काटिएको भन्दै कुनै प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको छ।

Facebook Comments