डडेल्धुरा–आलिताल गाउँपालिका वडा नम्बर ७ को एक गाउँ। गाउँमा भर्खरै कच्ची सडक पुगेको छ। कोइलानी पुग्न बुडर बुढितोला सडकको घरेलुबाट ६ किलोमिटर कच्ची बाटोको यात्रा गर्नु पर्छ। गाउँमा पुुरुषहरू देखिँदैनन्। धेरै जसो रोजगारीका लागि भारत गएका छन्। गाउँमा भएकाहरू पनि बजार गएका छन्। गाउँ नजिकै प्राथमिक विद्यालय छ। यहाँका बालबालिका यहीँ विद्यालयमा पढ्छन्।
यो गाउँमा एउटा मात्रै पानीको मुहान छ। यो यहाँका ४२ घरपरिवारको साझा मुहान हो। पहिलेपहिले जसोतसो यही एउटा मुहानबाट पानीको आवश्यकता टथ्र्यो। तर यो आजकल सुक्न थालेको छ । यसले गर्दा स्थानीय समस्यामा परेका छन् ।
‘पानीको दुःख छ। वैशाख, जेठमा त झनै दुःख हुन्छ। के गर्ने यस्तै छ। दुःख त गर्नै पर्यो,’ आलिताल गाउँपालिका–६, कोइलानीकी गङ्गा बोहोराले भनिन्।
मुहान वरिपरिको वनक्षेत्र घट्दै गयो। स्थानीयलाई वातावरणीय श्रोतको उपभोग कसरी गर्ने भन्ने ज्ञान थिएन। यसको प्रत्यक्ष असर पानीको मुहानमा पर्दै गयो। मुहान सुक्न थालेपछि मात्र स्थानीय केही सचेत भए। प्राकृतिक स्रोतको जथाभाबी दोहनले समस्या निम्त्याउने रहेछ भनेर उनीहरूले बुझ्न थाले।
‘पानीको मुहान संरक्षणका लागि रूख रोप्नु पर्छ भन्ने चेतना भयो। त्यसैले रूख रोपी रहेका छाैँ। आँप, बाँस जस्ता रसिलारसिला रूखहरू रोप्नुपर्छ। मुहानको वरिपरि पनि रूख विरुवा रोप्नु पर्छ। यसो गरेपछि पानी बढ्छ जस्तो लाग्छ,’ आलिताल गाउँपालिका–४, कोइलानीकी पार्वती जोशीले भनिन्।
भएको पानीको मुहान सुकेपछि टाढा–टाढाबाट पानी ल्याउनु पर्ने अवस्था आयो। विभिन्न सघं संस्थाको सहयोगमा गाउँमा केही धाराहरू त बने । तर पनि पानी पर्याप्त भएन। स्थानीयले बिस्तारै आफ्नै श्रोत संरक्षणको उपाय खोज्न थाले । अनि संरक्षणको काम सुरु भयो र यसले नतिजा पनि दिन थालेको छ।
जलीय जैविक विविधताको संरक्षणमा ठूलो भूमिका हुन्छ। स्थानीयको सक्रियता बिना संरक्षण सम्भव हुँदैन। कोइलानीका स्थानीय पानीको मुहान सुक्न थाले पछि जागरुक भए। उनीहरूले पानीको संरक्षणका लागि प्राकृतिक उपायहरू अपनाए। उनीहरूले गरेको कामले अहिले सकारात्मक नतिजा दिइरहेको छ।
स्थानीयले थालेको संरक्षणको कामको अगुवाइ सिद्ध भगवती कालिका सामुयिक वन कोइलानीका अध्यक्ष हर्क विष्टले गरेका छन्। विष्टले पहिले स्थानीयहरूलाई संरक्षणको महत्व बुझाए। स्थानीयले पनि चाँडै कुरा बुझे। अहिले मुहान संरक्षणका लागि विभिन्न काम भइ रहेका छन्।
‘मुहानभन्दा माथि चेक ड्यामहरू, पोखरीहरू बनायाैँ। त्यहाँ विभिन्न प्रजातिका बोटविरुवा लगाएका छौँ। धेरै काम भइ रहेका छन्। त्यसले मुहानमा पानीको मात्रा बढाउन सहयोग गर्छ,’अध्यक्ष विष्टले भने।
स्थानीयले मुहानको वरिपरि बोटविरुवा लगाएका छन। माथिल्लो भागमा रिर्चाज पोखरी, आइब्रो तथा ड्यामहरू बनाइएका छन्। अहिले मुहानमा पानीको मात्रा बढेको स्थानीयहरू बताउँछन्।
‘अहिले त पानी बढेको छ । नभए त आजभोलि यति धेरै पानी हुँदैन थियो,’ अध्यक्षले भने। कोइलानी गाउँको वरिपरि पुरानो सालको वन छ। वन स्रोतको अव्यवस्थित प्रयोगका कारण नयाँ विरुवा हुर्कन सकेका छैनन्। स्थानीयले संरक्षणको काम थालेको १ वर्ष भयो। वनक्षेत्रमा चरिचरण पनि बन्द गरिएको छ। यसले गर्दा वन क्षेत्रको वृद्धि गर्न सहयोग पुग्ने स्थानीयको बुझाइ छ।
‘हामीले खाल्डो सिस्टम, रिर्चाज सिस्टम ल्यायाैँ। मुहानमा कसरी पानी बढाउन सकिन्छ भनेर त्यही अनुसारका काम गर्ने गरेका छाैँ,’ आलिताल गाउँपालिका–४ का कर्णबहादुर विष्टले भने।
मुहानमा पानी बढे पनि पानी पर्याप्त छैन। अहिले जनसङ्ख्याको चाप निकै बढेको छ । यसलाई धान्न गाउँभन्दा तल रहेको अर्को मुहानको पानी ल्याउनु पर्ने हुन्छ । संरक्षण अगुवा हर्क विष्ट गाउँपालिकाको सहयोग लिने योजनामा छन् ।
‘ केही लगानी गाउँपाकिालेले गरिदिने हो भने केही रकम सामुदायिक वनबाट हामी लगानी गर्ने छौँ । त्यति गरेर मुहान भएको स्थानमा अलि घेरबार गर्न सके राम्रो हुने थियो,’ अध्यक्ष विष्टले भने।
गाउँपालिकाले सबै ठाउँमा खानेपानी पुर्याउने योजना बनाइ रहेको छ। भौगोलिक विकटताका कारण योजना सञ्चालन गर्न केही समस्या हुने भए पनि सबैलाई पानीको सहज पहुँचमा पुर्याउने प्रतिबद्धता गरेको छ।
‘खानेपानीका मुहान संरक्षण गर्ने हाम्रो नीति नै छ। मुहानमा पानी रिर्चाजको मात्रा बढाउन आवश्यक क्रियाकलाप गर्ने भन्ने छ। हाम्रोमा पानीको धेरै समस्या छ। हामी भएका पानीका स्रोतको संरक्षणमा संवेदनशील छाैँ,’ आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले भने।
हर्क विष्टले विभिन्न उपाय र अभियानमा सबैलाई सहभागी गराउँदै आएका छन्। स्थानीय पनि उनको कामसँग खुसी छन्।
‘मुहानको संरक्षण कसरी गर्ने, के काम गर्ने , के नगर्ने सबै कुरा हामीलाई बताउनुहुन्छ। राम्रो काम गर्नु हुन्छ। हामीखुशी छौँ,’ आलिताल गाउँपालिका–४ की पार्वती जोशीले भनिन्।
कोइलानीका स्थानीयले समयमै प्राकृतिक स्रोतको व्यवस्थित उपभोग कसरी गर्ने भन्ने कुरा बुझे। त्यही अनुसारका क्रियाकलाप सञ्चालन गरे र त्यसको परिणाम पनि प्राप्त गरे । स्थानीयको सहभागितामा हुने यस्ता अभियानले धेरै किसिमका प्राकृतिक जोखिमलाई न्यूनीकरण गर्न सघाउँछ । उनीहरूको काम अनुकरणीय छ।