स्मार्ट डस्टबिन रित्तै, सडकभरी फोहोर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फोहोर फाल्नका लागि उपत्यकाका ६० स्थानमा स्मार्ट डस्टबिन (आधुनिक फोहर सङ्कलन गर्ने भाँडो) राखेपनि प्रयोगविहीन जस्तै बनेको छ।

हेर्दा निकै ठूलो आकारको देखिने स्मार्ट डस्टबिनमा मानिसहरूले फोहोर फाल्नुको सट्टा सडकमा फालिरहेका छन्।
डस्टबिनको बारेमा उचित प्रचारप्रसार गर्न नसक्दा डस्टबिनको प्रयोग हुन नसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्।

उनी स्मार्ट डस्टबिनका बारेमा सर्वसाधारणलाई प्रचारप्रसार गरेर जानकारी दिन नसक्दा सोचेजस्तो प्रयोगमा आउन नसकेको स्वीकार्छन्।

डस्टबिन कसरी प्रयोग गर्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउन नसक्नु मुख्य कमजोरी भएको डंगोलको भनाइ छ।
“जनस्तरमा चेतना जगाउन नसकिएको हो” उनले भने,“ अब महानगरले प्रचारप्रसारमा विशेष पहल गर्ने योजना बनाइरहेको छ ।”

महानगर स्मार्ट डस्टबिन थप गर्ने योजनामा नभएपनि भएकाहरूको प्रयोग प्रभावकारी बनाउनेमा केन्द्रित भएको उनको दाबी छ।

“यस डस्टबिनको अर्को विशेषता के हो भने यहाँ मोबाइल पनि चार्ज गर्न मिल्छ ।” उनले थपे । चार्जर र दिशा देखाउने नक्सा भएकाले पनि स्मार्ट डस्टबिन बहुआयामिक भएको उनको तर्क छ।

“फोहोर डस्टबिन हाल्नुपर्छ भनेर कसैलाई पनि सिकाउनु पर्दैन्” उनले भने, “हामीले प्रचार कम भयो भन्ने सुझावहरू धेरै नै पाएका छौं सायद अब छिटै कार्यक्रमहरू पनि सार्वजनिक पनि हुन्छन् होला।”

प्रयोगमा ल्याउनु अगाडि नै प्रचार गर्नु भन्दा रखिसकेपछि प्रचार गर्दा आमजनमानसमा प्रभावकारी हुने डंगोलको बुझाई छ।
अहिले माइतीघर मण्डल, बिजुलीबजार, बानेश्वर, कोटेश्वर, गौशाला, मित्रपार्क, दरवारमार्ग, सुन्धारा, सहिदगेट, विमानस्थल, थापाथली, टुँडिखेल, पुतलिसडक मिनभवन, तीनकुने, चाबहिल टेकु, त्रिपुरेश्वर, माइतीघर, बबरमल, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, रत्नपार्क, शान्तिवाटिकालगायतका ६० स्थानमा स्मार्ट डस्टबिन राखिएको छ।

Facebook Comments