‘अबको दुई वर्षभित्र धरहरा पुनर्निर्माण सम्पन्न हुन्छ’

काठमाडौ –धरहरा निर्माण गरिरहेको रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले धरहरा पुनःनिर्माण तोकिएको समयमै सम्पन्न गर्ने बताएका छन्।

विहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउँदै सरकारसँगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण तीव्र गतिमा अगाडि बढेको बताए।

धरहरा पुनःनिर्माणको क्रममा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूसँग छलफल सम्पन्न भइसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उनले सुनाए। महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफूहरूको लक्ष्य रहेको र निर्धारित मितिमै लक्ष्य पूरा हुने विश्वास दिलाए।

करिब ४२ रोपनी क्षेत्रफलमा बन्ने धरहरा निर्माणको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालयपनि स्थानान्तरण भइसक्ने भएका कारण आफूहरूलाई थप मार्गप्रशस्त हुने उनको भनाइ छ।

प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भइसकेको पनि उनले जनाए। अब बन्ने धरहरा जनसंख्याको वृद्धिलाई मध्येनजर गरेर निर्माण गरिने भएका कारण अत्याधुनिक सुविधायुक्त हुने उनी बताउँछन्।

कुल तीन अर्ब ४५ करोडको लागतमा निर्माण हुने धरहरा करिव दुई हजार वर्षसम्म टिक्न सक्ने र ९ रेक्टरसम्मको भूकम्प थेग्न सक्ने उनको दाबी छ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरूको बारेमा प्रकाश पारेका छन्।

आफूले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौँ रकम संकलन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाइसकेको पनि उनले जानकारी गराए।

कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनाशनै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा राखेका छन्।

देशमा निर्माणाधीन आयोजनाहरूको निर्माण कार्यमा ढिलासुस्ती देखिँदै आएपनि धरहरा निर्माणको लक्ष्य सरकारले समयमै सक्नुपर्ने उनको धारणा छ ।

कार्यक्रममा धरहरा सम्वत ००५ को क्यालेण्डर सार्वजनिक गरिएको थियो ।

Facebook Comments