आठबीस नगरपालिका दैलेखले वातावरणमैत्री सडक निर्माण गर्ने

अमृता के.सी

राकम दैलेख– कर्णाली प्रदेशको दैलेख जिल्लामा रहेको आठबीस नगरपालिकाले वातावरणमैत्री सडक निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय सरकार गठनपश्चात ग्रामीण सडक निर्माणको अत्याधिक माग हुने हुँदा बाटो बनाउनु पर्ने तर वातावरणीय प्रभाव मूल्याङ्कन नगरी डोजरबाट बाटो निर्माण गर्दा क्षति व्यहोर्नु परिरहेको सन्दर्भमा आठबीस नगरपालिकाले उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपाल वातावरण पत्रकार समूहको आयोजनामा आठबीस नगरपालिकामा अव्यवस्थित बाटो निर्माणले निम्त्याएको समस्या तथा वातावरणमैत्री बाटो निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा भएको पानी छलफलमा स्थानीय जनप्रतिनिधिहरूहले आगामी दिनमा वातावरणमैत्री बाटो निर्माण गर्ने र निर्माणपश्चात अनिवार्य रूपमा वृक्षारोपण गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खड्गप्रसाद उपाध्यायले वातावरणमैत्री सडक निर्माणका विषयमा आफूहरूलाई पूर्ण जानकारी नभएको, इन्जिनियरले गरे भैहाल्छ भन्ने सोचाइका कारण सडक निर्माणमा कमजोरी भएको स्वीकारे । उनले आगामी दिनमा वातावरणमैत्री बाटो निर्माण गर्ने प्रतिबद्धता समेत जनाए । उनले भने,‘पहिले हामीले सडकमा पौने दुई करोड रुपैयाँ खर्च ग-र्यौ तर यसपटक असी पचासी लाख रुपैयाँ मात्रै छुट्टाएका छौँ । अब हामी बनेका बाटालाई नै गुणस्तरीय बनाउनेतर्फ अग्रसर भएर लाग्ने र खानेपानीका मुहान सुक्न नदिने गरी काम गर्छौँ ।’

सोही छलफलमा नगरपालिकाका नगर उप—प्रमुख दिपा बोहराले वातावरण प्रभाव मूल्याङ्कन गर्ने कुरा प्राथमिकतामा नपर्दा समस्या भएको स्वीकार गर्दै बाटो बनाएका स्थानमा वृक्षारोपण गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पानी छलफलमा बोल्दै आठबीस नगरपालिका वडा नम्बर ६ सिंगासैनकी निशा रिमालले भनिन्,‘पहिले गाउँमा बाटो निर्माण हुँदा पानीका मुहानसमेत भत्काइयो । पछि वातावरणमा यसले कस्तो असर गर्छ भन्ने सोचिएन तर अहिले खानेपानीको समस्या हुन थालेको छ । उनले भनिन्,‘बाटो बनाउँदा पानीका मुहानहरूको ख्यान गरिएन । अहिले बाटो नजिकका पानीका मुहानहरू पुरिँदै र सुक्दै गएका छन् ।’

बाटो बनाउनुअघि बनाउनका लागि उपयुक्त हुन्छ कि हुँदैन भन्ने विषयमा कुनै पनि अध्ययन एवं परीक्षण भएन । वातावरणीय प्रभावलाई अध्ययन नगरी बाटो बनाउँदा पानीका मुहान सुक्ने मात्र नभइ बनाइएका बाटोकै कारण वर्षायाममा पहिरो जाने र बाटो अवरुद्ध हुने, खेतीयोग्य जमिन पुरिने र घरबस्ती सार्नुपर्ने लगायतका समस्याहरू निम्तीने गरेका छन् ।

पानी छलफलमा सहभागी स्थानीयहरूले नगरपालिकाका जनप्रतिनिधि तथा डोजर चालकहरूप्रति आक्रोश पोखेका थिए । कार्यक्रममा वडा नम्बर ६ कै तेजबहादुर नेपालीले आफूले आफ्नो जग्गा दिँदादिँदै पनि आफूलाई नसोधेर घर नै क्षति हुने गरी डोजर चलाएर बाटो खनिएको गुनासो गरे ? उनले भने,‘ मेरो जमिनमा मेरो अधिकार हुन्छ कि हुँदैन ? मेरो घरमाथिबाट बाटो खनिएको छ । म घरमा नहुँदा मलाई नै नसोधेर बाटो खनिएको छ । पहिरो आउने स्थानबाट बाटो खनिएको छ । अहिले मेरो घर जोखिममा छ । ’

वडा नम्बर ७, का नगेन्द्र शाहीले मानिसले खनेर बनाएका बाटामा अहिलेसम्म पहिरो गएको छैन तर डोजर प्रयोग गरेर बनाएका बाटामा जताततै पहिरो जाने समस्या देखिएको छ । त्यसैले यस कुरामा नगरपालिकाले समयमै ध्यान दिनुपर्ने सुझाव दिए ।

वडा नम्बर ७ कै स्थानीय ओमप्रकाश तिमिल्सीना आठबीस नगरपलिकामा बनेका सडकहरूमा नाली नभएको, बाटो बनाउँदा अनिवार्य रूपमा नाली बनाउने र वृक्षारोपण गर्ने नियम बनाइ दिए बाढी र पहिरोको समस्या नआउने बताउँछन् ।

पानी छलफलमा सहभागी विभिन्न वडामा स्थानीयहरूले वातावरणमैत्री सडक निर्माण नहुँदा आफूहरूले वर्षायाममा भोग्नुपर्ने समस्याका बारेमा बोलेका थिए । वडा नम्बर ९ का स्थानीय दिनेश सिजापतीले बाटो नगएको आफ्नो वडामा बाटो लैजाँदा बाटाकै कारणले अहिलेसम्म पहिरो गहिरहेको उल्लेख गदै बाटोबाट सन्तुष्ट नभएको बताए । उनले भने,‘ रामघाटदेखि वडा नम्बर सम्म बाटो रामघाट सिंगासैन सम्म २१ मिटर र्याप टु भन्नेले मानिसद्वारा खनेको बाटो राम्रो भएको तर डोजरले खजेको १५ सय मिटर बाटोले बाढीपहिरो गएकाले हामी बाटोप्रति सन्तुष्ट छैनौँ । नगरपालिकाले त्यस्तो क्षति हुने गरी बाटो निर्माण गर्नु भएन । ’

सडक निर्माण गर्दा प्राविधिकले गरेको सर्वे अनुसार बाटो निर्माण नहुँदा बाढी पहिरो,वनजङ्गल विनाश तथा पानीका मुहान सुक्ने जस्ता समस्याहरू आउने र वातावरणमा असर पुगिरहेको आठबीस नगरपालिकाका इन्जिनियर सुमित कुमार दासले बताए । उनले भने,‘हाल १३ जना प्राविधिकको दरबन्दी रहे पनि २ जना मात्रै प्राविधिक छौँ । योजना २ सय देखि ३ सय हुन्छन् । जसले गर्दा हामीहरूलाई काम गर्न अप्ठ्यारो भइरहेको छ । ’

एक बाटो एक प्राविधिक भने पनि प्राविधिक सर्वे गर्न र कार्य सम्पन्न गर्ने बेलामा मात्रै लैजाने भएकाले सर्वे अनुसारको काम नहुने बताए । ‘यहाँ बाटो मात्रै चाहिन्छ त्यो बाटो वातावरणमैत्री छ कि छैन् ? यसले पछि असर गर्छ कि गर्दैन् भन्ने कसैलाई चासो नै हुँदैन ।’ इन्जिनियर दासले भने,‘ हामीले प्रश्न गर्ने बेला योजना सक्किसकेको हुन्छ ।’

सर्वे र डिपिआर रिर्पोट गरेर दिदाँ पनि त्यो अनुसारको काम जनप्रतिनिधि एवं बाटो निर्माण उपभोक्ता समितिले नगर्ने गर्दा यस्ता समस्याहरू आउने गरेको एवं बायो इन्जिनियरिङ गर्नका लागि छुट्याएको रकमसमेत प्रयोग नगर्ने गरेको बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दैलेखका अध्यक्ष मणिराम शर्माले बाटो बनाइसकेपछि वृक्षारोपण नगर्दा बाढीपहिरो जाने जोखिम बढिरहेको बताएका थिए । कार्यक्रममा स्कोटउडसनका हरित पूर्वाधार विज्ञ सन्तोष पन्थी ग्रामीण बाटो निर्माण गर्दा ३ ओटा चरणमा ध्यान दिएर काम गर्न सके मात्रै दिगो र वातावरणमैत्री सडक निर्माण हुने बताए । उनले भने, ‘योजना तर्जुमाको चरण, कार्यान्वयनको चरण र मर्मतसम्भारको चरणमा नै व्यापक रूपमा ध्यान दिनुपर्छ अनि मात्रै दिगो विकास हुन्छ । ’

बाटो निर्माण अधि योजना बनाउँदा नगरपालिकाको सडक गुरूयोजनाअनुसार आफ्ना कार्ययोजनाहरू लैजानुपर्ने, वातावरणलाई प्रभाव पार्छ कि पार्दैन भन्ने विषयमा वातावरणीय अध्ययन, भौगर्भिक अध्ययन महत्वपूर्ण हुने बताए । बाटो बनाउँदा क्षति कम र लाभ बढी लिने गरी काम गर्नुपर्ने र बनाउने बाटोमा कुन सवारी साधन गुडाउने भन्ने उद्देश्य निर्धारण गर्नु अत्यन्तै आवश्यक पर्ने कुरा बताएका थिए ।

पानी छलफलमा सहभागीहरूबाट आएका जिज्ञासाहरूलाई नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षहरूले जवाफसहित प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सबै वडाका वडाध्यक्षहरू,बाटो निर्माण उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, पीडित,मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो । पानी छलफलमा गरिएका प्रतिवद्धताहरू निम्नानुसार छन्:

प्रतिवद्धताहरू

आठबीस नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण र वातावरण प्रभाव मूल्याङ्कन गरेर मात्रै सडक निर्माण गरिनेछ र वातावरणमैत्री सडक निर्माण गरिनेछ ।

-बाटो निर्माण गर्ने क्रममा आवश्यक मात्रामा वायो इन्जिनेरिङ् प्रविधि निर्माण गरिनुका साथै निर्माण सम्पन्न भइसकेपछि अनिवार्य रूपमा वृक्षारोपण गरिनेछ ।

-बाटो निर्माण गर्दा स्थानीय जनशक्तिलाई परिचालन गरी बाटो निर्माण गरिनेछ । र मानिसद्वारा सम्भव नभएको स्थानमा मात्रै डोजर प्रयोग गरिनेछ ।

-सडक निर्माण क्रममा क्षति पुगेका स्थानीयलाई उचित सर्वेक्षण गरेर क्षतिपूर्ति प्रदान गरिनेछ ।

-सडक निर्माण उपभोक्ता समिति गठन गर्दा आइ.ई.ई र ई.आइ.ए गर्नका लागि आवश्यक प्राविधिकलाई पनि समावेश गराइनेछ ।

-स्थानीयबासी ,सडक उपभोक्ता समिति र नगरपालिकाबीच समन्वय गरी सहमतिका आधारमा सडक निर्माण गरिनेछ ।

-नगरपालिकाले योजना अनुरुप कार्य भए नभएको समय समयमा अनुगमन र मूल्याङ्कन गरी आगामी दिनमा सो अनुगमन मूल्याङ्कनमा आधारित भइ कार्य गरिनेछ ।

-नगरपालिकाले आगामी दिनमा सीमित बजेटमा गुणस्तरीयतालाई ध्यान नदिइ लामो सडक निर्माण गर्न भन्दा छोटो दुरीको गुणस्तरीय सडक निर्माण जोड दिइनेछ ।

-गुरूयोजनामा आधारित रही सडक निर्माणका लागि बजेट विनियोजन गरी सोहीअनुरुप कार्य गरिनेछ ।

Facebook Comments