प्रदूषित हुँदै, पुरिँदै फोक्सुण्डो

फोक्सुण्डो, रिग्मो (डोल्पा)– झ्वाट्ट हेर्दा गाढा नीलो देखिन्छ, फोक्सुण्डोको पानी । यहाँ आइपुग्ने आगन्तुकलाई आफ्नो स्कूले जीवनमा ‘फाउन्टेन पेनमा भरेको नीलो मसीको याद आउँछ । हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुण्डो ।

ताल किनारको पानीको रंग भने हरियो देखिन्छ । हरियो कपडा ओछ्याए जस्तै । पानी भित्रका ढुङ्गा त्यत्तिकै टल्किन्छन् । मुखबाट फ्याट आइहाल्छ, वाह ! कति सफा । वास्तविकता भने अर्कै छ ।

फोक्सुण्डो तालको पश्चिमबाट तालमा मिसिएको गागर खोला ।

जब तपाईँ बिस्तारै तालको वरिपरि घुम्नु हुन्छ वा पुरै ताललाई आँखामा कैद गर्न ४ हजार मिटरभन्दा माथि तीन घण्टा उक्लिएर उत्तरपश्चिमतर्फको भ्यू प्वाइन्ट पुग्नु हुन्छ । यही यात्रामा तपाईँलाई थाहा हुन्छ, ताल कसरी प्रदूषित हुँदैछ र पुरिँदैछ । तालबाट निस्किएको पानी फोक्सुण्डो झरनामार्फत खोलामा परिणत हुन्छ, त्यो खोला पनि त्यत्तिकै प्रदूषित हुँदैछ । खोला प्रदूषणको दृश्य त निकुञ्ज प्रवेशसँगै सुरु हुन्छ ।

तीन हजार ६ सय ३५ मिटर उचाइमा रहेको फोक्सुण्डो तालमा जम्मा हुने पानीको आधार क्षेत्र भनेको त्यस वरपरका उच्च पहाड र हिमश्रृङ्खला हुन् । उपल्लो डोल्पाका उच्च पहाडहरू यार्सागुम्बा सङ्कलन गर्ने क्षेत्र हुन् । ‘किरा टिप्न आउनेहरूले गर्दा ताल हरेक वर्ष फोहोर हुँदै गइरहेको छ, ताल किनारकै पूर्वमा अवस्थित थासुङ छोर्लिङ गुम्बाका उपप्रमुख लोटोई लामाले भने ।

सुलिगाढ रिग्मोबीच खण्डमा पर्ने फोक्सुण्डो खोला किनारमा फालिएका फोहोरहरु ।

उनका अनुसार यार्सागुम्बा सङ्कलकहरूले आफूसँगै माथि लगेका फोहोरहरू फिर्ता लिएर जाँदैनन् । त्यहीँ पुर्छन् । दुई महिनासम्म बसेर गरेको सबै फोहोर वर्षायाममा बगेर तालमै आउँछ । दिसापिसाब, जङ्क फुडका खोलहरू, पुराना र थोत्रा कपडा र जुत्ताहरू, रक्सीका बोतल र क्यानहरू समेत तालमै आइपुग्छन् । केही फोहोर वस्तुहरू अहिले पनि तालभित्र देख्न सकिन्छ । ‘ती सबै तालमै आउँछन्, लामाले भने । उनका अनुसार असार साउनमा ठूलो वर्षा हुन्छ । यससँगै वरपरको क्षेत्रमा पहिरो जान्छ र पहिरोसँगै सबै फोहोर तालमा आउँछ ।

पानी परियोजनाका फोक्सुण्डो–सुलिगाँढ जलाधार क्षेत्र व्यवस्थापन विज्ञ आङबहादुर लामाका अनुसार तालको जलाधार क्षेत्रमा पनि यार्सा सङ्कलन गर्नेहरूको मेला लाग्छ । ‘उनीहरूले गरेको सबै फोहोर फोक्सुण्डो, गाँगर र सागर खोला हुँदै तालमा आउइरहेको हुन्छ ҆, उनले भने । लामाका अनुसार फोहोरको समस्या बढ्दो छ । प्राकृतिक कारणहरूले गर्दा ताल पुरिने समस्या पनि हरेक वर्ष बढिरहेको छ ।

‘फोक्सुण्डो ताललाई सबैभन्दा खतरा पश्चिमबाट त्यसमा मिसिने फोक्सुण्डो खोलाको छ । यसले हरेक वर्ष वर्षायाममा ठूलठूला ढुङ्गा, गेगर, लेदोमाटो र काठहरू बगाएर ल्याउँछ । गाँगर खोलाबाट पनि तिनै वस्तुहरू तालमा आउँछन्, उनले भने । लामाका अनुसार उत्तरपूर्वबाट मिसिने सागर खोलाबाट ठूला वस्तुहरू त्यति आउँदैनन् । माटो पानीसँगै मिसिएर आउँछ ।

फोक्सुन्डो तालको पश्चिम उत्तरबाट तालमा मिसिएको फोक्सुण्डो खोला ।

यी खोला तालको पानीको मुख्य स्रोत हुन् । त्यसो त ताल वरिपरिका पहाडमा जमेको हिउँ पनि यही तालमा खस्छ । फोक्सुण्डो तालको जलाधार क्षेत्रमा ताल वरपर र उपल्लो डोल्पाका पेरिकपुवा, छुसाङ, मेदोक्ती, पेलुङ्ग, नाओरिपा, सागर जस्ता उच्च पहाडी क्षेत्र पर्छन् । यी यार्सागुम्बा सङ्कलन गर्ने क्षेत्र हुन् । यार्सागुम्बा सङ्कलकहरूले गरेको सबै फोहोर तालमै आउँछ । निकुञ्जले यसवर्ष जेठ १४ गतेदेखि यार्सागुम्बाको सङ्कलन खुला गरेको छ ।

लामाको अनुभवमा तालको गहिराइ हरेक वर्ष केही न केही घटिरहेको छ । ‘तर कति घटिरहेको छ भन्ने कुरा अध्ययन अनुसन्धानबाट मात्र थाहा हुन्छ, ҆उनले थपे ।

जल तथा मौसम विज्ञान विभागको २००४ को अध्ययनले पानी प्रदूषण हुनुका प्रमुख कारण र चुनौतीमा ताल वरिपरिको भू–क्षयीकरण र बढ्दो होटल निर्माणलाई लिएको छ । तालको गहिराइलाई लिएर स्थानीय बासी र सरकारबीच ठूलो मतान्तर छ । विभागले यसलाई मुलुकको दोस्रो गहिरो ताल भन्छ । सन् २००४ को मापनमा विभागले यसको गहिराइ १४५ मिटर मात्र उल्लेख गरेको छ । स्थानीय बासीले सुरुदेखि भनिएको ६५० मिटर गहिराइलाई नै आधिकारिक मान्नुपर्ने अडान राखेका छन् । ‘६५० बाट एकैचोटी कसरी १४५ मिटर भयो ? हामीलाई कारण चाहियो ҆, फोक्सुण्डो ताल संरक्षण समितिका अध्यक्ष रिग्जिन आङग्याल बुढाले भने । त्यसैले सरकारले यही महिनाफेरि तालको गहिराइ नाप्दैछ ।

 

ताल वरपर छरिएका फोहोरहरु

विज्ञ लामा भन्छन्, ‘ताल पुरै फोहोर भो भन्न त नमिल्ला तर संरक्षण, पर्यटन र फोहोर व्यवस्थापनको योजना नबनाइ यसैगरी अघि बढ्ने हो भने यो पनि फेवाताल जस्तै हुन्छ । ҆

यार्सागुम्बा सङ्कलकहरू मात्र नभइ यहाँका स्थानीय बासी, होटल व्यवसायी, आन्तरिक र बाह्य पर्यटकका गतिविधिले पनि ताल वरपरको क्षेत्र फोहोर भएको देखिन्छ । तालभित्र र छेउछाउमा फोहोर छरपस्ट देख्न पाइन्छ । रक्सी र टनिक वाटरका क्यानका डब्बा, थोत्रा जुत्ता, कपडाहरू उपल्लो डोल्पा प्रवेश मार्गमा छरपस्ट देखिन्छन् ।

तालको आँगनमा रहेको शे–फोक्सुण्डो गाँउपालिका ८ को रिग्मो गाँउमा फोहोर व्यवस्थापनको एकीकृत योजना छैन । तलबाट ल्याइएका रक्सीका बोतल, क्यान, जङ्क फुडका खोलहरू व्यवस्थापन गर्न स्थानीय निकायले गाउँपालिका र वडाले कुनै योजना बनाएको छैन । यहाँ सञ्चालन भइरहेका होटलहरूले काठको डस्विन त राखेका छन् । तर डस्विनमा जम्मा हुने सबै फोहोर खाल्डोमा हाल्छन् । त्यसमा सिसाका बोतल, क्यान, पोलिथिन लगायत सबै हुन्छन ।

शे–फोक्सुण्डो गाँउपाकिा वार्ड न. ८ का अध्यक्ष निमा लामा (होटल व्यवसायी पनि हुन्) का अनुसार होटल व्यवसायीहरूले आफूले उत्पादन गरेको सिसा र पोलिथिनजन्य फोहोर खाल्डो खनेर गाड्ने गरेको बताउँछन् । ‘हामी फोहार व्यवस्थापनको दिगो उपाय खोजिरहेका छौँ ҆, उनले भने ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त वार्डेन प्रमोदकुमार यादवले स्थानीय व्यवसायी र सर्वसाधारणले माथि लगेर प्रयोग गरेका कुनै पनि वस्तुहरू फिर्ता ल्याएको आफूलाई जानकारी नभएको बताए । ‘त्यो पनि निकुञ्जले गर्ने काम हो ? ҆, उनको प्रश्न थियो । त्यसो त निकुञ्ज प्रवेश गरेर माथि उक्लिँदै गर्दा फोक्सुण्डो खोला किनार किनारमा स्थानीय व्यवसायी र सर्वसाधारणले फालेका फोहोरको डङ्गुर प्रसस्त देखिन्छ । ती फोहोर त्यही खोलामा खसेका दृश्यहरू सामान्य छन् । निकुञ्ज प्रशासनले सुलिगाँढदेखि फोक्सुण्डोबीचको बाटोमा कहिँकतै पनि फोहोर फाल्ने भाँडो राखेको पाइँदैन ।

यादव भने जनशक्ति अभाव र भौगोलिक विकटताले गर्दा फोहोर व्यवस्थापनमा समस्या आएको दाबी गर्छन् । ‘स्थाीिय व्यवसायीबाहेक यार्सागुम्बा सङ्कलन गर्न बाहिरबाट आउनेहरूलाई रक्सीलगायत वस्तुहरू माथि लैजान अनुमति छैन । आफूले गरेको फोहोर आफैँले व्यवस्थापन गर्नुपर्छ । तर कसैले गरिरहेका छैनन् ҆, उनले भने, ‘हामीले नियन्त्रण गर्न सकिरहेका छैनौँ । ҆

जाडो महिना सुरु हुनुभन्दा पहिले तल झरेका व्यवसायी र सर्वसाधारण वैशाखको पहिलो सातादेखि माथि उक्लिन थालेका छन् । उनीहरूले खच्चर र चौरीलाई बोकाएर हरेक दिन फोक्सुण्डो हुँदै उपल्डो डोल्पामा पेय पदार्थसहित खाद्यान्न ओसारिरहेका छन् । हरेकदिन सयौँको संख्यामा खच्चर र चौरी सामान बोकेर माथि जान्छन् । यीसँगै आन्तरिक र बाह्य पर्यटक पनि आउन थालेका छन् । बाह्य पर्यटकहरू क्याम्प स्थापना गरेर बाटोमा बास बस्दै माथि उक्लिन्छन् । क्याम्प राख्नेहरूले पनि फोहोर गर्ने गरेको स्थानीयको गुनासो छ ।

Facebook Comments