‘बजेटमा विद्युतीय सवारीसाधनको प्रवर्द्धन समेट्नु पर्छ’(भिडियाे)


काठमाडौँ
— सरकारले २०७१ मा वातावरणमैत्री सवारी तथा यातायात नीति जारी गर्‍यो। उद्देश्य थियो, वायु प्रदूषणको कारकमध्येको एउटा पेट्रोलिय पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई घटाउँदै लैजाने र विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने ।

तर, नीति जारी भएको ६ वर्ष पुग्दासम्म कार्यविधि बनेको छैन, भने नेपालमा विद्युतीय सार्वजनिक सवारीसाधन प्रवद्र्धन हुन सकेको छैन।

विद्युतीय सवारीसाधन आयात गर्दा भन्सार शुल्कमा सहुलीयत दिँदै आएपनि कार्यविधि र सवारी सञ्चालनका लागि आवश्यक संरचना नबन्दा मूर्त रूप लिन सकेको छैन।

सरकारले केही महिना अघि मात्र ३ सय वटा विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भनेका थिए, ‘वैशाखभित्र बस खरिद गर्छाैँ।’

तर, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन केही दिन मात्र बाँकी रहँदासम्म खरिद प्रक्रिया, सञ्चालन विधि, आवश्यक कार्यक्रमको टुंगो नै छैन।

बरू पेट्रोलियम पदार्थ भण्डारणका लागि देशका विभिन्न ठाउँमा भण्डारण केन्द्र बनाउने योजना सरकार छ। भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइनको काम धमाधम हुँदैछ । जसले पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रवद्र्धन हुने देखिन्छ ।

विहीबार ललितपुरमा एक पत्रकार सम्मेलनकाे आयाेजना गरी नेपाल वातावरण पत्रकार समूह, स्वच्छ उर्जा नेपाल र नेपाल विद्युतीय परिवहन संघले आर्थिक वर्ष २०७६/०७७को बजेटमा विद्युतीय सवारी साधनको वृद्धि, विकास र प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू ल्याउन सरकारसँग आग्रह गरेका छन्।

साे कार्यक्रममा बाेल्दै नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेशराज श्रेष्ठ भने, ‘आज पनि पेट्रोलियम पदार्थबाट चल्ने बस ल्याउनु भनेको आगामी २० वर्षसम्म पनि निरन्तरता दिनु हो । ’

पछिल्लो समय सरकारी ओहोदामा रहेका पदाधिकारीका लागि विद्युतीय सवारीसाधन खरिद गर्ने परिपाटी बढेको छ, भने निजी सवारीसाधन पनि विद्युतीय नै किन्ने क्रम बढेको छ।

तर, सार्वजनिक यातायातलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नुको विकल्प नरहेको बताउँछन्, स्वच्छ ऊर्जा नेपालका अध्यक्ष समेत रहेका वातावरणविद् भुषण तुलाधार। उनी भन्छन्, ‘काठमाडौँमा हरेक वर्ष प्रदूषणको दर बढ्दो छ, त्यसको एउटा कारण डिज, पेट्रोलबाट चल्ने गाडी पनि हुन्। विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न सकेमा वातावरण सुधारको काम गर्न सकिन्छ।’

त्यसैगरी कार्यक्रममा बाेल्दै नेपाल वातारण पत्रकार समूहका अध्यक्ष कसमस विश्वकर्माले अधिकांश मुलुक डिजेल तथा पेट्रोलियम पदार्थबाट चल्ने गाडी विस्थापित गरेर विद्युतीय गाडी प्रवद्र्धनमा लागेका बेला नेपालले पनि त्यही बाटो अबलम्बन गर्नुपर्ने बताए।

Facebook Comments