मर्मत र जनशक्तिकाे अभावमा प्रयोगविहीन छन् अस्पतालका उपकरण

काठमाडौँ – देशका विभिन्न अस्पतालले महंगो मूल्यमा खरिद गरेका उपकरणहरू मर्मत नहुनुका साथै सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन बन्दै गइरहेका छन्।

यसले एकातिर सर्वसाधारणले समस्या भोगिरहेका छन् भने अर्काेतर्फ करोडाैँ घाटा भइरहेको छ। तर, यसलाई मर्मत गर्ने र संचालन गर्नेतर्फ भने कसैको पनि ध्यान पुगेको छैन्। विशेषज्ञ तथा पूर्वाधार अभावका कारण उपकरणको उपयोग हुन नसकेकोले सेवा सञ्चालनमा असर परेको देखिन्छ। उपकरण खरिदमा भएको खर्च उपलब्धिविहीन भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमोडाइलोसिसको लागि उपलब्ध १२ मेसिनमध्ये स्वास्थ्य सेवा विभागबाट गत वर्ष प्राप्त २ मेसिन सञ्चालन हुन नसकी भण्डारमा राखेको देखिन्छ। बाँकी १० मेसिनबाट दैनिक ३० जनालाई डाइलोसिस सेवा उपलब्ध गराए तापनि पर्याप्त मेसिन अभावका कारण सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त मेसिन शुरुवातदेखि नै सञ्चालन हुन नसकेकोले यसप्रकारको मेसिन खरिद स्वीकार गरी हस्तान्तरण गर्ने पदाधिकारी जिम्मेवारी हुनुपर्ने देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ अप्रेसन थिएटर रहेकोमा शल्यचिकित्सा सेवाको लागि आवश्यक सि.आर्म २ मात्र रहेको, ओ.टी. टेबल अत्यन्तै पुरानो भएकोले सेवा प्रदान गर्न समस्या रहेको, बच्चाको विशेषज्ञ चिकित्सक भए तापनि शल्यक्रियाको लागि आवश्यक सामग्री अभावमा सेवा उपलब्ध नभएको, अप्रेशन थिएटरमा आर.आर.ट्ली, फ्ल्यास अटोक्लेभको अभाव रहेको देखियो। स्वास्थ्य सेवा विभागबाट प्राप्त अटोक्लेभ मेसिन गुणस्तरहीन भएकोले काम नलाग्ने भई प्रयोगविहीन अवस्थामा रहेकोले सेवा प्रवाहमा असर परेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

Facebook Comments