बतालु गाउँको कथा : बर्सेनी पहिरो र डढेलो

कालिकोट– कालिकोटको खाडाचक्र नगरपालिका–११ मा पर्छ बलातु गाउँ । ३५ घरधुरी रहेको बलातु गाउँ प्रत्येक बर्खामा पहिरो र सुख्खायाममा डढेलोको जोखिम पर्दै आइरहेको छ।

बलातु गाउँ दुइतर्पmका ठूला–ठूला पहाडको बीचमा पर्छ। गाउँको माथिल्लो भागमा सल्लाको वन छ। यहाँ बर्सेनी डढेलो लाग्छ। माथिल्लो भागको वनमा डढेलो लाग्दा पुरै बस्तीलाई नै जोखिम हुन्छ।

डढेलो पहिरोको कारणमध्येको एक हो। डढेलो लागेको जमिन कमलो हुने हुँदा यस्तो क्षेत्रमा पहिरोको जोखिम पनि बढी नै हुने गर्छ। बलातुका स्थानीयले पहिरोका कारण बर्सेनी क्षति पनि भोगिरहेका छन्। हरेक वर्ष पहिरोले जनधनको क्षति गर्छ।
‘हामीलाई समस्या हुन्छ नि। डढेलो लागेपछि दाउरा, घाँस पाइँदैन। माथिबाट रुख ढुङ्गा लडेर बस्तीमा आउँछन्,’ खाडाचक्र नगरपालिका ११ का अग्रबहादुर शाहीले बताए।

पहिरोले हरेक वर्ष दुःख दिने गरेको स्थानीय लाइता शाही बताउँछिन्। ‘घरै लैजान्छ भन्ने डर हुन्छ। हामीले त पहिरो आइहाल्यो भने बच्नलाई भनेर अर्को घर पनि बनाएका छौँ। सधैँ डरै डरमा बस्नु पर्छ,’ उनले भनिन्।

बलातुका स्थानीयले वर्षायाम त्रासमा नै बिताउनु पर्छ। प्रकोपको त्रास उनीहरूको आवाज र अनुहारमा झल्कन्छ।
‘बाढीले लैजान्छ कि भन्ने डर छ । पहिरोले खेतबारीमा पनि क्षति पुर्‍याउँछ। आफैँलाई लैजाला भन्ने पिर पनि हुन्छ। के खाने के लाउने भन्ने चिन्ता हुन्छ, डरै डर छ,’ खाडाँचक्र नगरपालिका ११, कालिकोटका औला कामीले भने।

आजभोलि भने यस्तो जोखिम अलि कम भएको छ। स्थानीयले पहिले जस्तो क्षति व्यहोर्नु परेको छैन । डढेलोबाट कसरी बच्ने र यसको नियन्त्रण कसरी गर्ने भन्ने कुरा सिकिसकेका छन्।

‘हामीले तालिम लिएका छौँ। सामुदायिक वन बनाएका छौँ । आगो लागिहाल्यो भने पनि हामी नियन्त्रण गर्न सक्छौँ,’ खाडाचक्र नगरपालिका–११, कालिकोटका अग्रबहादुर शाहीले भने।

नगरपालिकाले आजभोलि प्रकोप पहिचानको काम गरिरहेको छ । कस्ता प्रकारका प्रकोपको जोखिम छ भन्ने कुरा पहिचान भएपछि रोकथाम तथा नियन्त्रणका योजना बन्ने छन्। बलातुमा प्रकोप नियन्त्रणका लागि वडा अध्यक्ष पुष्पराज गिरी सधैँ सक्रिय रहन्छन्। उनकै नेतृत्वमा वडा कार्यालयले प्रकोप नियन्त्रणका दीर्घकालीन योजनाहरू बनाइरहेको छ।

‘हामीसँग सुरक्षित बस्ती विकासको कार्यक्रम छ। जोखिम भएको स्थानमा जाली लगाउने लगायतका काम भएका छन्। हामीले सबै पक्षसँग सहयोगको लागि पहल गरिरहेका छौँ । वृक्षरोपणका काम पनि छन्। डढेलो पूर्ण रूपमा नियन्त्रण गर्न सके मात्रै पनि धेरै समस्या समाधान हुन सक्छ,’ खाडाँचक्र नगरपालिका– ११ का वडा अध्यक्ष पुष्पराज गिरीले भने।

वडा कार्यालयले दीर्घकालीन मात्र नभइ आपत्कालीन समस्या समाधानका लागि पनि योजना बनाएको छ। यस्ता योजनामा भने स्थानीयको सहभागिता प्रमुख हुनेछ।

‘हामीले आपत्कालीन रूपमा जोखिमबाट बच्नको लागि सूचना प्रवाहको काम गर्ने तयारी गरेका छाैँ। आपतकालीन अवस्थामा कसरी जोगिने भनेर सचेत गराउने काम छन्,’ वडा अध्यक्ष गिरीले भने।

पछिल्लो समय यहाँका स्थानीयले पनि तापक्रम र वर्षामा आएको परिवर्तन महसुस गरेका छन्। पानी पर्ने तरिका तथा खेतबारीको उत्पादकत्वमा परिवर्तन भएको अनुभव गरेका छन्।

‘पहिले त पानी राम्रो पथ्र्यो । लामो समयसम्म झरी लाग्थ्यो। आजभोलि त कस्तो भो कस्तो। पानी पर्‍यो भने धेरै पर्छ , परेन भने पर्दै पर्दैन,’ खाडाचक्र नगरपालिका ११, कालिकोटका प्रेमबहादुर शाहीले भने।

वातावणमा हुँदै गएको परिवर्तनका कारण प्राकृतिक प्रकोपको स्वरूप र प्रभावमा पनि परिर्वत हुँदै गएको पाइन्छ। स्थानीयले पनि अनुकूलनका लागि केही उपायहरू अवलम्बन गरिरहेकै छन्।

स्थानीय पनि डढेलो र पहिरो जस्ता प्रकोप नियन्त्रण गर्न सजग छन्। आफ्नो स्तरबाट गर्न सकिने सबै कामका लागि उनीहरू तत्पर छन्।

‘हामीले श्रमदानमा तटबन्ध निर्माण गरेका छौँ। बोट विरुवा पनि रोपेका छाैँ। हामीलाई सबै भन्दा आवश्यक कुरा भनेको तटबन्ध हो,’ खाडाँचक्र नगरपालिका ११ कालिकोटका जोवन शाहीले भने।

वडा कार्यालयले योजना निमार्णसंगै स्थानीयलाई सचेत बनाउने काम पनि गरिरहेको छ। यसले गर्दा प्रकोप नियन्त्रण र सचेतनाको कामसँगै अगाडि बढिरहेका छन्।

‘स्थानीयको सहभागितामा स्थानीय सरकारले यस्ता कामको समन्वय गर्दा प्रकोप नियन्त्रण सहज हुन्छ,’ वडा अध्यक्ष गिरीले भने । खाडाचक्र नगरपालिका वडा नम्बर ११ को कार्यालयको समन्वय र यहाँका स्थानीयको सहभागितामा भएको यस्तो कामले यो कुरालाई पुष्टि गरेको छ।

Facebook Comments