एक वर्षमा थप तीन लाख जनसंख्यामा खानेपानी पुर्‍याउने लक्ष्य

काठमाडौँ— खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/०७७ सम्ममा आधारभूत खानेपानीको पहुँच ९२ प्रतिशत नागरिकसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

हाल कुल जनसंख्याको ८८.२ प्रतिशतमा मात्र आधारभूत खानेपानीको पहुँच पुगेकोमा तीनवटै सरकारमार्फत् खानेपानी आयोजना निर्माण गरेर ९२ प्रतिशतमा पहुँच पु¥याउने लक्ष्य मन्त्रालयले अघि सारेको हो। सोही अनुसार आगामी आर्थिक वर्षको बजेटमा तराईमा ४० हजार, पहाडमा १० हजार र हिमालमा ५ हजार जनसंख्या लाभान्वित हुने ठूला आयोजना प्रस्ताव गरिएको छ।

१३ वटा सह–लगानीमा सञ्चालित आयोजना, १३ वटा खानेपानी सुधारका आयोजना र ४ वटा तेस्रो शहरी खानेपानी आयोजना आर्थिक वर्ष २०७६/०७७ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ खानेपानी मन्त्रालयले सरकारलाई बजेटमा समेट्न प्रस्ताव पठाएको हो। यी खानेपानी आयोजनाबाट मात्र थप २ लाख २६ हजार जनसंख्या खानेपानीको पहुँचमा पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, १४ वटा सुख्खाग्रस्त क्षेत्रमा सञ्चालित आयोजनामध्ये ४ वटा आयोजना पनि आगामी आर्थिक वर्षभित्र नै सम्पन्न गरेर १ लाख ७ हजार जनसंख्यालाई खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ।

संघस्तरबाट सञ्चालित ३ सय ९७, विश्व बैंकको सहयोगमा सञ्चालित ५ सय ४७ र विभिन्न तहका सरकारलाई हस्तान्तरण गरिएको ४ हजार ५७ आयोजना यथाशीघ्र सम्पन्न गर्ने पनि मन्त्रालयले जनाएको छ। ‘आधारभूत खानेपानीको पहुँचलाई वृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम प्रस्ताव गरिएको छ,’ खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले भने, ‘पहाडमा आधारभूत खानेपानी पु-याउने र तराईमा आर्सेनिकरहित खानेपानीको पहुँच बढाउने सरकारको नीति छ।’

संयुक्त राष्ट्रसंघले सन् २०१० मा सुरक्षित खानेपानी र सरसफाइको पहुँचलाई मानवाधिकारको रुपमा घोषणा गरेपछि नेपालले पनि प्रतिवद्धता जारी गरेको थियो। सोही अनुसार सरकारले सन् २०१७ सम्म शतप्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी पु-याउने घोषणा गरेपनि लक्ष्य प्राप्ति हुन सकेको छैन। नेपालको संविधानको धारा ३५ (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ।

Facebook Comments