दाङ डढेलो : ६ वर्षमा ३९ हजार हेक्टर वनमा आगलागी

दाङ– दाङमा बितेका छ वर्षमा ३९ हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार ६ वर्षमा जिल्लाका ३ सय ९६ स्थानमा गरी ३९ हजार ७ सय ६३ दशमलव नौ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। जसमा एक जनाको मृत्युसँगै लाखौँ मूल्यका काठ तथा बहुमूल्य जङ्गली जटिबुटी नष्ट भएका छन्।

कार्यालयका अनुसार बितेका ६ वर्षमा सबैभन्दा धेरै आगलागी आर्थिक वर्ष २०७२/०७३ मा भएको थियो । उक्त वर्ष जिल्लाका एक सय ५३ स्थानमा आगलागीका कारण २४ हजार नौ सय ६१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए। जसबाट राष्ट्रिय वनको ढिकुरेमा घाटगड्डी गरेर राखिएका विभिन्न जातका ८४ थान गोलिया ( ४ सय २० दशमलव २३ घनफिट काठ ) जलेर नष्ट भएका थिए। त्यस्तै सोही वर्ष डढेलोले देउखुरीको बगारबाबा सामुदायिक वन क्षेत्रको सतवरियामा असना जातका ६ थान गोलिया (एक सय १४ दशमलव १८ घनफिट काठ) जलेर नष्ट भएका थिए। वन संरक्षणमा उपभोक्ताहरू जागरुक नहुँदा धेरै वनजङ्गलमा आगलागी भएको सूचना अधिकारी केसीले बताए।

त्यस्तै २०६९/०७० मा तीन हजार दुई सय ५० हेक्टर जङ्गलमा आगलागी भएको थियो । उक्त वर्ष घोराहीको अम्बे सामुदायिक वनमा लागेको आगो निभाउन खोज्दा घोराही उपमहानगरपालिका वडा नं. १८ अम्बारपुर निवासी नमलाल थापाको मृत्यु भएको थियो । सोही वर्ष जिल्लाका ३८ स्थानमा आगलागी भएको वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७०/०७१ मा जिल्लाका एक सय १६ स्थानमा गरी जम्मा ६ हजार ६ सय ११ दशमलव ५ हेक्टर वन क्षेत्र र आर्थिक वर्ष २०७१/०७२ मा जिल्लाका १४ स्थान आगलागी हुँदा जम्मा ६ सय हेक्टर वन क्षेत्रमा क्षति भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केसीले बताए।

सूचना अधिकारी केसीका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाका ५४ स्थानमा ४ हजार दुई सय २० हेक्टर र आर्थिक वर्ष २०७४÷०७५ मा एक सय २१ हेक्टरमा मात्र आगलागी भएको छ । गत वर्ष समय–समयमा पानी परेकाले धेरै वनजङ्गल क्षति हुन नपाएको वन कार्यालयले जनाएको छ। गतवर्ष जिल्लाका २१ स्थानमा मात्र आगलागी भएको थियो। विगतको तुलनामा यस वर्ष धेरै स्थानमा आगलागी भएको छ। डिभिजन वन कार्यालयका अनुसार यस वर्ष हालसम्म जिल्लाका २६ स्थानमा आगलागी भएको छ। जसमा एक हजार पाँच सय हेक्टर बढी वनमा क्षति पुगेको छ। अहिले पनि जङ्गल क्षेत्रमा आगलागी भइरहेकाले तथ्याङ्क बढ्न सक्ने सूचना अधिकारी केसी बताउँछन्। उपभोक्ताहरू सचेत नहुँदा धेरै स्थानमा आगलागीका घट्नाहरू भएका हुन्। वन संरक्षणमा सरकारले लाखौँ रुपैयाँ खर्च गर्ने गरे पनि होसियारी नअपनाउँदा आगलागीले बर्सेनी ठूलो क्षति हुने गरेको छ।

डढेलो नियन्त्रणका लागि जिल्ला वन कार्यालयले सामुदायिक वनहरूमा अग्नि रेखा निर्माण, वन डढेलो सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया, सचेतनामूलक गोष्ठी, तालिमसँगै सञ्चार माध्यमहरूबाट सूचना प्रकाशन तथा प्रशारण गर्दै आएको केसीले बताए। त्यस्तै अग्नि नियन्त्रण कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने समूह÷संस्था÷निकायलाई पुरस्कृतसमेत गर्दै आइरहेको छ।

वन पैदावर चोरी सिकारी गर्ने, राम्रो घाँस पलाउँछ भन्ने र अनावश्यक झाडी नष्ट गर्ने सोचका कारण समूहका सदस्यहरूबाट समेत आगलागी हुने गरेको छ । त्यस्तै वन समूहका पदाधिकारी एवम् सदस्यबीचको रिसिबी र हेलचेक्र्याइँका कारण पनि जिल्लामा आगलागीका घट्नाहरू हुने गरेका छन्।

वन जङ्गलमा आगो लगाउनेलाई जरिवाना गर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म जिल्लामा कसैलाई कारबाही भएको छैन।

आगलागीका कारण नौ जनाको मृत्यु
गत मंसिर २७ गते बगलाचुली गाउँपालिका–८ गुराँसेमा सोलारको ब्याट्री पड्किएर नवराज पुनको घरमा आगलागी भयो। उक्त आगलागीमा परी सात वर्षीय कृष्ण पुन, पाँच वर्षीय अस्मिता पुन र दुई वर्ष छ महिनाकी अञ्जु पुनले ज्यान गुमाए।

त्यस्तै पुस १३ गते बबई गाउँपालिका वडा नं. ७ पातुखोला स्थित धनबहादुर बोटेको घरमा आगलागी हुँदा बोटेकी आमा ७५ वर्षीय डल्ली बोटेको मृत्यु भयो । चुरोट खाँदा कपडामा सल्किएको आगो घरमा लाग्दा बोटेको घरमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदबिक्रम शाहले बताए। आगलागी सम्बन्धी सामान्य सावधानी नअपनाउँदा धेरै आगलागीका घट्ना भएको उप्रहरी नायव उपरीक्षक शाह बताउँछन्।

शाहका अनुसार जिल्लामा यो वर्ष आगलागीका कारण नौ जनाको मृत्यु भएको छ। जसमा ३ जना पुरुष, ३ जना बालक र ३ जना बालिका रहेका छन् । आगलागीका कारण पुसमा बबई गाउँपालिका ७ निवासी रामकली घर्तीका दश वर्षीय छोरा राजु घर्ती, राप्ती गाउँपालिका वडा नं. १ बगासोती निवासी हिमाल रानामगरकी करिब एक वर्षीय छोरी सङ्गीता रानामगर, राप्ती गाउँपालिका वडा नं. ७ छोड्की सिसहनियाँ निवासी ८० वर्षीय जिउरखन चौधरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी दलबहादुर खत्रीका चार वर्षीय छोरा हिमाल खत्री र सुनसरी जिल्ला घरभइ तुलसीपुरमा व्यवसाय गर्दै आएका अजय उदाउँको मृत्यु भएको प्रहरीले जनाएको छ । खत्रीको दाना पकाउँदै गर्दा डेक्चीमा पसेर र अजयको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरी गाउँमा काम गर्दै गर्दा विद्युत सटभइ आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगलागीका कारण एक करोड ३४ लाख ३५ हजार छ सय २० रुपैयाँ बराबरको क्षति भएको छ।

दाङ जिल्लामा यो वर्ष एक सय ३ वटा आगलागीका घट्ना भए जसमा चार जना घाइते भएको प्रहरीले जनाएको छ। आगलागीका कारण ७० वटा कच्ची घर, ३ वटा पक्की घर र ३१ वटा गोठमा क्षति पुगेको छ। आगलागीका कारण यो आर्थिक वर्ष जिल्लामा ३७ वटा चौपायाको मृत्यु हुनका साथै आठ वटा चौपाया घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए।

आगलागीका घट्ना बढ्दै गएपछि जिल्ला दैवी उद्धार समितिले गाउँपालिकाहरूलाई दमकल किन्न निर्देशन दिएको छ। गर्मी मौसम सुरु भएसँगै जिल्लामा आगलागीका कारण ठूलो मात्रमा धनजनको क्षति हुन थालेपछि सक्रियता बढाएको हो। ‘बर्सेनी आगलागीका घट्ना हुने र त्यसवाट ठूलो मात्रमा क्षति हुन थालेपछि समितिले जिल्लाका दशैवटा स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ’, समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने, ‘छलफलमा आगलागीका घट्नाहरूलाई न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्नेदेखि स्थानीय तहहरूमा दमकलको व्यवस्था अनिवार्य रूपमा गर्ने निर्णय भएको छ ।’ अहिले जिल्लाका दश वटा स्थानीय तहहरू मध्ये घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकासँग मात्र दमकलको व्यवस्था छ । बाँकी सात वटा गाउँपालिकामा दमकलको नहुँदा आगलागीले ठूलो क्षति हुने गरेको छ । कतिपय स्थानमा जङ्गलमा लागेको आगो बस्तीमा आएर ठूलो क्षति गर्ने गरेको छ।

Facebook Comments