काठमाडौँ आउने बित्तिकै मुखभरि छरिएको धुलोले अझै पनि छाडेको छैन

काठमाडौं— आहा ! अन्ततः काठमाडौँको यात्रा तय भयो । विगत केही वर्षदेखि चितवनमा अध्ययनरत म लामो पर्खाइपछि काठमाडौँतर्फ हानिएँ । बिहान ७ बजेको गाडी चढेँ । भाइ १ वर्षअगाडि नै काठमाडौँ आइसकेको थियो । स्नातक तह तेस्रो वर्ष सकिए लगत्तै मेरा पनि पाइला काठमाडौँतिर मोडिए ।

जिन्दगीमा पहिलो पटक देशको ठूलो सहर भनौँ अथवा राजधानीको यात्रा भएकाले मन चङ्गा भइरहेको थियो । मैले सुन्ने गरेका राजधानीका नकारात्मक घटनाहरू, त्यहाँ गएर झेल्नुपर्ने समस्या त एक ठाउँमा छँदै छन् तर मेरो कल्पनामा केवल राजधानीसँगै जोडिएका सुन्दर परिदृश्य आइरहेका थिए।

भाइले हरेक दिन फोनमा कुरा गर्दा उसले झेलेका समस्याहरू सुनाउँदै भन्थ्यो,‘सवा दस बजे पुग्नुपर्ने कलेज आठ बजे नै खाना खाएर तयार हुनुपर्छ ।’ म अचम्म मान्दै सोध्थेँ, ‘दुई घण्टा लाग्छ ?’ भाइ झर्को मान्दै भन्थ्यो, ‘हाँस्छेस्, दुई घण्टा त सामान्य हो । कहिले काहीँ त पहिलो कक्षा नै छुट्छ ।’

मास्क नलगाई हिँड्न सकिँदैन । सडकमा जताततै खाल्डाखुल्डी मात्रै छन् । अझ मलाई त काठमाडौँ मन नपर्नुको अर्को कारण भनेको हिलो होे, लामो सास तान्दै भन्थ्यो । हप्तामा एकदिन बिदा हुने कलेज त्यही दिन धारोमा पानी नआएर नुहाउन तथा कपडा धुन पनि साह्रै समस्या भएको कुरा सुनाउँथ्यो । उसका यस्ता कुराले एकछिन त साह्रै तनाव दिन्थ्यो अनि फेरि हाँसेर उसका कुरा उडाउँदै भन्थेँ, म आएसी सबै ठिक हुन्छ । (कत्ति न जादु मेरै हातमा भएर काठमाडौँको समस्या क्षणभरमै समााधान गर्दिने जस्तो)

यात्राको क्रममा काठमाडौँमा हुने समस्याभन्दा पनि चाँडै पुगेर अनुभव बटुल्नेमा मेरो ध्यान केन्द्रित भइरहेको थियो । गाडी आफ्नै रफ्तारमा चलिरहेको थियो । मेरो मन भने काठमाडौँ पुगिसकेको थियो । कति बजे पुगिन्छ, कहाँ आइपुगियो भन्ने कुरामा अनविज्ञ नै थिएँ । बेलाबेला झ्यालबाट बाहिर हेर्थँे, घरमाथि टाँगिएका बोर्डहरूमा लेखिएको नाम ठम्याउन नपाउँदै हराउँथ्यो । रफ्तारमा चलिरहेको गाडीले पढ्नै दिएन । कतिपय ठाउँमा आधा अक्षरमात्र पढ्न भ्याउँथेँ त कतै हेर्दाहेर्दै बिलाउँथ्यो । उकुसमुकुस मनलाई शान्त बनाउन जब झ्यालबाट बाहिर आँखा डुलाएँ तब देखियो थानकोट । भाइले पहिलो पटक काठमाडौँ आउँदा ४ घण्टासम्म जाममा परेको ठाउँ तर म भने फुरुङ्ग पर्दै थिएँ किनकि थानकोटमा जाम थिएन ।

तर भाइले सुनाउने गरेको धुलोको भने नराम्रोसँग अनुभव गरेँ । झ्यालबाट बाहिर हेर्न नपाउँदै, सिधा अगाडिबाट धुलाकोे मुस्लो स्वाट्ट आएर अनुहार नै छोप्यो । एकछिन त निसास्सिएँ । कल्पना नै नगरेको धुलोले एक्कासि अनुहार छोपिदियो । अनि झ्याल लगाएर बन्द झ्यालबाट धुलोमय काठमाडौँको परिवेशलाई नियाल्दै हिडेँ । जाम भएन, यो कुरामा चाहिँ मन फुरुङ्ग थियो । एकछिनपछि गाडी टक्क अडियो, यसो झ्यालबाहिर नियाल्दै गर्दा आँखाहरूले कलङ्की भनेर लेखेको दृश्य ठम्याए । आहा १ कलङ्की आइसकेछ ।

कोटेश्वर कलङ्की सडक निर्माणअन्र्तगत पर्ने कलङ्की अण्डर पास बन्दै छ भन्ने कुरा विभिन्न सञ्चार माध्यमबाट थाहा पाएकी थिएँ । कलङ्की आइसकेको थाहा पाएसँगै अघिल्तिर बन्दै गरेको सडक त्यही होला भन्ने अनुमान लगाएँ । यति सोचिसक्दा पनि गाडी भने अगाडि बढेन अनि अचम्म मान्दै चालक दाइलाई सोधेँ, ‘दाइ, किन रोक्नुभएको ?’ चालकले हाँस्दै भने, ‘जाममा परेर रोकेको हो बैनी ।’ अनि भाइले सुनाएको (४ घण्टा जाममा परेको किस्सा) सम्झँदै भनँे, ‘अब, कति समय जाममा परिन्छ ?’ ‘खै, भन्न सकिन्न ।’ जामको नियन्त्रण गर्न ट्राफिक प्रहरीहरू हातको इसाराले सवारी चालकहरूलाई जाऊ, रोकको सङ्केत गर्दै थिए । त्यसबाट अर्को कुरा पनि थाहा भयो कि काठमार्डौँको व्यस्त सडक कलङ्कीमा ट्राफिक लाइटको अभाव रहेछ । अघिसम्म फुरुङ्ग पर्दै आएको मेरो मन एकपछि अर्को समस्याले चिसो बनायो । करिब १ घण्टाको लामो जामपछि फेरि गाडी अगाडि बढ्यो ।

कलङ्की आएपछि फोन गरेस्, म लिन आउँछु भन्दै भाइले भनेको कुरा झल्याँस्स सम्झेँ । हतार हतार गर्दै फोन गरेँ, ‘सुमन, म कलङ्की आइपुगेँ ।’ वनस्थली चोकमा लिन आउँछु भन्दै फोन राख्यो । कलङ्कीको धुलो खाँदै, झ्यालबाट देखिने फोहोर मैलाको गन्ध लिँदै करिब १५ मिनेटपछि वनस्थली चोक आइपुगेँ । चोकमा पुगेर नजर डुलाएँ दुब्लाएको मान्छे देखियो मेरो भाइ । किन दुब्लाइस् ? मेरो मुखबाट फ्याट्ट निस्क्यो । भाइले सिधा जवाफ दियो, ‘धुलोे र फोहोरले मोटाउन दिएन । अनि कस्तो लाग्यो तँलाई काठमाडौँ ?’ आउन नपाउँदै के भन्नु ? पख न केही दिन भन्दै कोठातर्फ लाग्याँै । कोठामा पुगिसक्दा करिब ३ बजेको थियो । नुहाई धुवाई गर्नुप¥यो भनेको, पानी थोरै छ, पु¥याएर नुहाएस् भन्ने कडा जवाफ आयो भाइबाट । ठिकै छ पानी धेरै खर्च नगरे पनि पु¥याइपु¥याइ चाहिँ किन ? नुहाउँदा–नुहाउँदै पानी जान्छ, अनि थाहा पाउँछेस् । त्यसपछि मसँग बोल्ने शब्दै भएन । पानी अड्कलेर नुहाएँ ।

केही समयपछि दिदी आउनु भयो । एकछिन सन्चो बिसन्चोका कुराहरू भए । खाना पकाउने तरखर गर्दैगर्दा खानेपानी सकिएछ । जार देखाउँदै पानी ल्याउनुपर्छ म गएर आउँछु भन्दै दिदी निस्कनुभयो । पछिपछि गएर कहाँबाट ल्याउने हो पानी ? प्रश्न गरेँ । खिस्स हाँस्दै, दिदीले भन्नुभयो, ‘कहाँबाट हुनु पसलबाट ।’ बिचरा म जारमा ल्याएको पानीले नै काठमाडौँ बासीको तिर्खा मेटिरहेको छ भन्ने कुराबाट एकदमै अनविज्ञ थिएँ ।

काठमाडौँमा धेरै आफन्तहरू छन् तर साथीहरू भने एकदम कम । हामीसँगै स्नातक पढेकी जानुका पनि यतै नजिकै बस्ने रहिछे । म आएको थाहा पाएर फोन गरी । काठमाडौँ आएको भोलिपल्ट नै घुम्न जाऊँ भन्दै बोलाएपछि खुसी हुँदै गएँ । खरिबोटबाट माइक्रो चढेपछि थाहा भयो, यहाँ त गाडीभित्र पनि उस्तै पीडा रहेछ । १ मिनेट अगाडि पुगेकाले सिटमा बस्न पाएँ । एकपछि अर्को गर्दै यात्रीहरू भरिभराउ माइक्रोमा थपिँदै गए । त्यसपछि अनुभव भयो, सर्वसाधारणका समस्या । रफ्तारमा चलेको गाडी एक्कासि लैनचौरमा गएर रोकियो । १५, २० मिनेटको जामपछि फेरि अघिकै प्रक्रियामा गाडी कुद्यो । त्यसपछिको हाम्रो यात्रा भृकुटीमण्डपमा गएर रोकियो ।

साथीसँग घुम्दै जाँदा कति जेब्रा क्रसिङ्ग नभेटेर तनाव भयो । आकाशे पुलको उस्तै अभाव । पहिलो चोटि आकाशे पुल तर्दै गर्दा खुब भाग्यमानी ठानेँ । मख्ख पर्दै सडकमा तँछाडमछाड गर्दै कुदिरहेका गाडीको ताँतीलाई नियाल्दै पारि गएँ । भृकुटीमण्डप, पुरानो बसपार्क, रत्नपार्क तथा सुन्धाराका सडक पेटीहरू व्यापारीले बिस्कुन सुकाएजस्तै पसल फिँजाएर राखेकाले हिँड्नै मुस्किल भयो । मान्छेहरू एकअर्कालाई धकेल्दै, तँछाडमछाड गर्दै हतारमा हिडिँरहेका देखिन्थे ।

यत्तिकैमा साथीले एउटा किस्सा सुनाउँदै भनी, ‘यस्तै भिडमा मेरो मोबाइल हराएको थियो, सचेत भएर हिँड है ।’ झोलाको सानो गोजीमा राखेको मोबाइल हिँड्दाहिँड्दै हराएछ । त्यो सुन्दा झनै डर लाग्यो । घुमघामबाट फर्कने बेलामा ठूलो पानी प¥यो । जमलबाट माइक्रो चढेका हामीले उभिएरै यात्रा गर्नुप¥यो । मान्छे नै मान्छेका बीचमा कागती निचोरेझै च्यापिन पुगेँ । न रुन सकियो न हाँस्न । न कसैलाई दुःख सुनाउन नै । जसलाई हेर्दा पनि उही पीडा झल्किएको देखेँ । यस्तो लाग्यो, ‘काठमाडौँमा गाडीको सिटमा बस्न पाउनेहरू साँच्चै भाग्यमानी ।’

मेरा काठमाडौँका दिनहरू आज पनि यसरी नै बितिरहेका छन् । काठमाडौँ आउने बित्तिकै मुखभरि छरिएको धुलोले अझै पनि छाडेको छैन । सडकपेटी हिँड्दा फोहोर छैन, आनन्दले हिँड्छु भन्ने छैन, प्रत्येक पटक नाक छोपेर दुर्गन्धबाट जोगिँदै हिड्नु परेको छ । बाटो काट्न पर्याप्त जेब्रा क्रसिङ्ग छैनन्, भएका पनि मेटिएका छन् । आकाशे पुलको पनि हालत उस्तै छ । धारोमा पर्याप्त पानी आउँदैन । कम्ती पीडा छ र ।

काठमाडौँमा मेरा सुरुवातका २ दिनमा मैले जस्तो समस्या भोगेकी थिएँ, आज पनि हालत उस्तै छ । देशको राजधानी मानिने काठमाडौँमा आउने अधिकांश मानिसहरूको मेरो जस्तै कल्पना हुँदैन जस्तो लाग्दैन । सरकार व्यावहारिक कामभन्दा पनि भाषणमा मात्र सीमित देखिन्छ । सरकारलाई प्रश्न गर्न मन लाग्यो । आखिर कहिलेसम्म हामीले यस्ता समस्या भोग्नुपर्ने सरकार ?

Facebook Comments