के यो बर्खामा उठ्ला काठमाडौँकाे फोहोर ?

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले बर्खाको समयमा फोहोर व्यवस्थापनमा समस्या नहुने आश्वस्त पारिरहे पनि उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलका स्थानीयवासी भने आन्दोलनको तयारीमा छन्।

काठमाडौँ महानगरसँगै उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको ककनी गाउँपालिका २ स्थित सिसडोलका स्थानीय आफ्ना माग पुरा नभएको भन्दै आन्दोलनको तयारीमा लाग्दै गर्दा आगामी बर्खामा फोहोर व्यवस्थापनमा गत वर्षकै जस्ताे भद्रगाेल हुने देखिन्छ।

बर्खालाई लक्षित गरेर फोहोर व्यवस्थापनको सम्पूर्ण तयारी भइरहेको काठमाडौँ महानगरको दाबी छ। महानगरका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठ याे बर्खामा फोहोर व्यवस्थापनको सम्पूर्ण तयारी भइरहेकोले गत वर्षको जस्तो स्थिति नआउने बताउँछन्।

श्रेष्ठका अनुसार बर्खाका लागि हाल फोहोर विसर्जन गर्ने स्थानभन्दा केही तल ‘भिलेज वान’ र ‘भिलेज टु’ मा तय गरिएको छ। वर्षा लागेसँगै फोहाेरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको उनको भनाइ छ।

‘भिलेज वान र भिलेज टु मा हामीले फोहोर विसर्जन गर्ने भनेका छौं,’ उनले भने, ‘गत वर्षमा जस्तो यो वर्ष हामीलाई फोहोर व्यवस्थापनमा समस्या आउँदैन्।’ सिसडोलसम्मको सडक निर्माणको काम पनि सम्पन्न भइसकेको उनले जनाए।

महानगरले फोहोर व्यवस्थापनलाई सहज बनाउन घर–घरमै फोहोर व्यवस्थापन गर्ने नीति बनाइएको र सोही अनुसार कार्य सञ्चालन भइरहेकोले यसपाली गत वर्षको जस्तो समस्या नआउने श्रेष्ठ बताउँछन्। उक्त कार्यक्रमपछि पनि सडकमा फोहोर फलिएको पाइएमा ५ हजारदेखि १ लाख जरिवाना हुने उनले बताए।

तर, सिसडोलमा भएका समस्याहरूका विषयमा आफूहरूले पटक पटक जानकारी गराउँदा पनि महानगरले बेवास्ता गरेकाले संघर्ष समिति निर्माण गरी आन्दोलनको तयारी गरिएको ककनी गाउँपालिका २ का वडाअध्यक्ष केदार पौडेल बताउँछन्।

‘हामीले पटक–पटक महानगरको ध्यानाकर्षण गराउने कोशिस गर्‍यौं,’ उनले भने, ‘अब आन्दोलन बाहेक कुनै विकल्प छैैन।’

बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेको महानगरले दाबी गरेपनि प्रत्यक्ष देखिने काम केही पनि नभएको उनको तर्क छ।

‘व्यवस्थापन गर्ने स्थानको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिदा थप समस्या भएको हो,’ उनले थपे, ‘१२ वर्ष बितिसक्दा पनि समयमा नै विकल्प नखोज्दा अहिले कामपालाई व्यवस्थापन गर्न समस्या भएको छ।’

सिसडोलमा फोहोरका थुप्राहरू अस्तव्यस्त रहेकोले यो बर्खामा पनि गत वर्षको जस्तै समस्या उत्पन्न हुने स्थानीय लव घिमिरे बताउँछन्।

गत वर्षको समस्यालाई दोहोरिन नदिनको लागि महानगरले सडक विस्तारको काम गरेपनि बर्खासम्मा काम सम्पन्न नहुने उनको दाबी छ।

‘फोहोर त पहिलाको जस्तो जताततै छरिएका छन्,’ उनले भने, ‘बाटोको काम त भइरहेको छ तर बर्खा भन्दा अगाडि काम सकिँदैन्।’

सिसडोलमा फोहोर भरिँदै गएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई सहज गर्नका लागि शहरी विकास मन्त्रालयले निर्माण गरिरहेकाे बञ्जरे डाँडा ल्याण्डफिल साइटमा आगामी असारबाट केहीमात्रामा फोहोर विसर्जन गर्न दिने भएको छ।

तर, सिसडोलबाट दुई किलोमिटर पर रहेको बञ्चरे डाँडासम्म पुग्नका लागि सडक भने राम्रो नभएकोले फोहोर त्यहाँसम्म पुर्‍याउन समस्या हुने सिसडोलका स्थानीय घिमिरेको भनाइ छ।

बर्खामा बञ्चरे डाँडामा फोहोर फाल्ने कुरा आएको छ। तर, अहिलेसम्म त्यहाँ पुग्ने बाटो गतिलो बनाइएको छैन्, उनले भने, यही तरिकाले अगाडि बढ्दा बर्खासम्ममा पनि बाटो बन्ने देखिँदैन, अनि कसरी लान सकिन्छ बञ्चरेमा फोहोर?’

गत वर्ष काठमाडौँबाट फोहोर बोकेर गएका गाडी ल्यान्डफिल साइटमा पुग्न र फर्कन धेरै समय लाग्ने, पुग्न नसकेर बाटोमै रोकिनुपर्ने लगायतका समस्या देखिएको थियो। गाडी बीच बाटोमै रोकिएपछि उपत्यकाका चोक चोकमा फोहोरका डंगुर त्यतिकै अलपत्र परेका थिए। बर्खामा यसरी चोक चोकमा फोहोर थुप्रदा महामारी र विभिन्न रोग फैलन सक्ने त्रास रहँदै आएको छ।

उपत्यकाबाट दैनिक करीब १ हजार २ सय मेट्रिक टन फोहर निस्कन्छ। काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। यसका लागि दैनिक ३ सय ३० गाडीहरू फोहोर बोकेर सिसडोल जान्छन्।

Facebook Comments