जैविक विविधता संरक्षणकर्मीलाई डब्लुडब्लुएफको संरक्षण पुरस्कार (फोटो/भिडियो)

काठमाडौँ – डब्लुडब्लुएफ(वल्र्ड वाइल्डलाइफ फण्ड) नेपालले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसरमा जैविक विविधता संरक्षणमा लागेका तीन व्यक्ति र दुई संस्थालाई ‘संरक्षण पुरस्कार २०१९’ प्रदान गरेको छ।


काठमाडौँमा आइतबार आयोजित एक समारोहबीच डब्लुडब्लुएफले संरक्षणमा उनीहरूको भूमिका तथा योगदानका लागि संरक्षण पुरस्कार प्रदान गरेको हो।

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल,महोत्तरी, रानीबारी सामुदायिक वन उपभोक्ता समिति, पाल्पाका माधव प्रसाद अर्याल, गोरखाका निमा लामा तथा दाङका उमाकान्त पन्तलाई डब्लुडब्लुएफ नेपाल संरक्षण पुरस्कार २०१९ बाट सम्मानित गरिएको हो। स्वतन्त्र छनोट समितिबाट छानिएका उनीहरूलाई व्यक्तिका हकमा जनही रू पचास हजार र संस्थाका हकमा जनही रू एक लाख प्रदान गरिएको थियो।

त्यसैगरी उक्त कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा उच्च तहमा अध्ययन गर्नका लागि सातजना विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो। मनोज न्यौपानेलाई चन्द्र गुरुङ् स्मारक छात्रवृत्ति प्रदान गरिएको थियो भने प्रतिभा खत्रीलाई जिलियन बलिङ् स्क्लाइफर स्मारक छात्रवृत्ति, मनिशा कोइराला तथा सानु चौधरीलाई जेनिफर हेड्ली स्मारक छात्रवृत्ति, सञ्जु राउत तथा तेम्बा गुरुङ्लाई मिंग्बा नोर्बु शेर्पा स्मारक छात्रवृत्ति र सेनिवा नेम्बाङ्लाई डब्लुडब्लुएफ नेपाल संरक्षण स्मारक छात्रवृत्ति प्रदान गरिएको थियो।
फाेटाे/भिडियाे : अमिष रेग्मी

Facebook Comments