ल्याण्डफिल साइट नहुँदा बस्ती नजिकै फोहोर

तनहुँ – तनहुँको भिमाद नगरपालिकामा ल्याण्डफिल साइटको अभावमा बस्ती नजिकै फोहरमैला फालिँदा स्थानीयवासी मर्कामा परेका छन्। भिमाद बजारमा सङ्कलित फोहरमैला भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमानास्थित सेती नदीको तिरमा फालिँदा स्थानीयवासी मर्कामा परेका हुन्।

स्थानीयवासी एकबहादुर रानाले फोहोर जलाएको धुवाँ र दुर्गन्धले गर्दा यहाँका स्थानीयवासीलाई सास्ती भएको बताए। “नदी छेउमा खुलारुपमा फालिएको फोहोरले वातावरणलाई प्रदूषित बनाएको त छ नै, फोहरलाई व्यवस्थापन गर्न गलत तरिका अपनाएर आगो लगाई दिँदा दुर्गन्धले बस्तीमा बसि नसक्नुभएको छ,” उनले भने।

भिमाद नगरपालिकाले स्थापना भएको दुई वर्ष बितिसक्दा पनि फोहोर फाल्ने उचित ठाउँको व्यवस्थापन गर्न सकेको छैन । अव्यवस्थित तवरले नदी छेउमा खुलारुपमा फोहर फ्याँक्ने गरिएको छ। नदी छेउमा फ्याँकिएको फोहरलाई खाडलमा पुरेर व्यवस्थापन गर्नुको सट्टा जलाउने गर्दा धुवाँको मुस्लो र दुर्गन्धले स्थानीयवासी हैरान भएका छन्।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने जिम्मा तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइलाई दिइएको छ। एकाइ सभापति चतुर्भुज सुवेदीले भने व्यवस्थित तरिकाले नै फोहोरको डम्पिङ गर्ने गरेको बताए। बजारमा सङ्कलित फोहोरलाई सेतीको तिरमा लगेर पुर्ने गरेको उनको भनाइ छ।

उनका अनुसार फोहोर फाल्न उक्त ठाउँलाई छनोट गर्दा बस्ती थिएन। अहिले बस्ती बाक्लिदै गएपछि स्थानीयवासी प्रभावित भएको आफूहरुले पनि महसुस गरेको उनले जानकारी दिए। उनका अनुसार फोहर फाल्नलाई वैकल्पिक स्थानको खोजी भइरहेको छ। उनले भने, “ल्याण्डफिल्ड साइट बनाउन नगरसँग प्रस्ताव गरिएको छ। जग्गाको खोजी भइरहेको छ।”

भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले फोहर व्यवस्थापन गर्न ल्याण्डफिल साइट निर्माण गर्न ग्गाको खोजी गरिएको बताए। रासस

Facebook Comments