सगरमाथा मापन टोली भोली बिहान चुचुरो पुग्ने

काठमाडौँ – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी विभागका मापन टोली भोली(बुधबार) विहान शिखरमा पुग्ने भएका छन्।

नापी विभागका सूचना अधिकारी समेत रहेका निर्देशक दामोदर ढकालका अनुसार नापी विभागका दुई सदस्य बुधबार विहान दुई बजे सगरमाथाको शिखरमा पुग्नेछन्।

हाल साउथ पोलमा पुगेका उनीहरू हावाको गतिमा तीव्रता आएसँगै रोकिनुपरेको र मौसममा परिवर्तन भए बुधबार विहान चुचुरोमा पुग्ने निर्देशक ढकाल बताउँछन्।

उनका अनुसार सगरमाथाको उचाइ नाप्न विभागका ४ जना २७ चैतमा काठमाडौँबाट प्रस्थान गरेका थिए। टोलीका दुई सदस्य सगरमाथाको आधार शिविरमा बसिरहेका छन् भने दुई जना आरोहण गरिरहेका छन्। टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्।

ती मध्ये प्रमुख नापी अधिकृत गौम र नापी अधिकृत कार्की आरोहणको क्रममा छन्।

२०७२ को भूकम्प पछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विज्ञहरूको धारणा आएपछि नापी विभागले पहिलो पटक तीन वटा विधिबाट सगरमाथाको उचाइ मापन शुरु गरेको हो।

परिशुद्ध समतलन नापी प्रणाली, त्रिकोणमितीय समतल नापी विधि र जीएनएसएस प्रविधिमार्फत् सगरमाथाको उचाइ मापन भइरहेको निर्देशक ढकालको भनाइ छ।

हाल आरोहण गरिरहेका दुई जना शिखरमा पुगेसँगसँगै सगरमाथाको उचाइ मापन कार्य लगभग लगभग सकिने निर्देशक ढकाल बताउँछन्। ‘अब बाँकी भनेको टुप्पोमा पुगेर मापन गर्नु हो, उनले भने, त्यसपछि निस्केको डाटा हेरेपछि सगरमाथाको वास्तविक उचाइ थापा पाउन सकिन्छ।’

यसअघि चीन तथा अन्य राष्ट्रहरूले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले भने गरेको थिएन्। सन् १९५४ मा तत्कालीन सर्भे अफ इण्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर बताएको थियो भने सन् २००५ मा चीनले गरेको सर्भे अनुसार सगरमाथाको उचाइ समुद्री सतहदेखि ८ हजार ८ सय ४४ मिटर मात्र रहेको थियो।

हाल सगरमाथाको प्रमाणित उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको छ। सन् १८५४ मा ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले समतलन नापी विधिबाट सगरमाथाको उचाइ मापन गरेका थिए।

Facebook Comments