हाम्रो जैविक विविधता, हाम्रो खाना, हाम्रो स्वास्थ्य

मानव पनि जैविक विविधताको एउटा कण हो । मानवको जीवनलाई सार्थक बनाउन वा अस्तित्व कायम गर्न पनि जैविक विविधता आवश्यक छ । तर पछिल्ला वर्षहरूमा मानवकेन्द्रित एवम् तत्कालै स्वार्थ सिद्ध गर्ने किसिमका क्रियाकलापले गर्दा जैविक विविधतामा क्षति भइरहेको छ । जतिबेला मानिसको उत्पति हुँदै थियो (आजभन्दा एक करोड ३० लाख वर्षअघि) उबेलाको जैविक विविधताको करिब १० प्रतिशत मात्र अहिले बचेको छ । अहिले चाहिँ कति रहेको छ भन्ने सन्दर्भमा यकिन तथा एउटै तथ्याङ्क पाइन्न । जस्तैः जैविक विविधताको विश्वव्यापि सम्मेलन (सन् १९९२) ले भनेको छ , ‘जम्मा एक करोड ३० लाख प्रजाति रहेका हुनसक्छन् , पहिचान खुलेका १७ लाख प्रजाति मात्र छन् । बाँकी चिन्न सकिएको छैन ।’ त्यस्तैः विश्व संरक्षण संघ (आयुसीएन २००८) ले भनेको छ , ‘यो धर्तीमा जम्मा तीन करोड प्रजाति रहेका छन्, तीमध्ये १८ लाख प्रजातिको पहिचान खुलेको छ ।’ यी दुवैले एउटा कुरा देखाएका छन् कि जति जैविक विविधता रहेको अनुमान गरिएको छ त्यसको अति कमको मात्र वैज्ञानिकहरू नामकरण गर्न सफल भएका छन् ।

लेखक : रामचन्द्र अधिकारी

अहिलेको जीव जगतमा मानिस सबैभन्दा ठूलो नेता तथा जैविक विविधताको निर्धारक पनि हो । जैविक विविधताका फाइदाको कुरा मानिसकै सन्दर्भमा जोडेर गरिन्छ । मानिसको जीवन पनि जैविक विविधतामै आश्रित छ । आधारभूत तथा अतिरिक्त आवश्यकताको पूर्ति गर्ने सामग्री अन्य जीवहरूबाट नै प्राप्त हुन्छ ।

यस धरामा हालसम्म चिनिएका खाद्यमूल्य भएका जम्मा वनस्पति दुई लाख ५० हजार प्रजाति छन् । तीमध्ये ३० हजार प्रजाति खानयोग्य छन् र मात्र सात हजार प्रजातिको खेतीपाती गरिन्छ । बाँकी जङ्गली अवस्थामा नै छन् । मानिसलाई जति क्यालोरी चाहिन्छ त्यसको पूर्ति जम्मा ३० प्रजातिले गर्दै अएका छन् । यसको आशय के भने मानिसको खाना जैविक विविधतामा आधारित छ । तर जैविक संसारमा भएका जीवहरूलाई अधिकतम रूपमा मानिसले आफ्नो भान्सामा ल्याउन सकेको छैन ।

मानिसको स्वास्थ्य असल राख्न पनि जैविक विविधता चाहिएको छ । स्वच्छ हावा, स्वच्छ पानी वा स्वच्छ वातावरण कायम गर्न जैविक विविधताको ठूलो भूमिका छ । औषधी जे जति बनेका छन् अधिकांश जैविक विविधताकै उत्पादन हुन् । त्यसमा पनि आजको विश्वमा ८० प्रतिशत मानिसले वनऔषधीको अप्रशोधित रूप प्रयोग गर्छन् । यसको एलोपेथिक प्रयोग गरे पनि आयुर्वेदिक पनि यतिले प्रयोग गर्छन् भन्ने हो । एलोपेथिक पनि जति छन् धेरैजसो जैविक प्राकृतिक स्रोतबाटै बनाइएका छन् ।

त्यसैले यस वर्षको विश्व जैविक विविधता वर्षको नारा ‘हाम्रो जैविक विविधता, हाम्रो खाना र हाम्रो स्वास्थ्य’ राखिएको छ । हरेक वर्ष आज अर्थात् मे २२ तारेखका दिन विश्व जैविक विविधता दिवस मनाइन्छ । यो दिवस सन् १९९२ को जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको प्रस्तावमा सन् १९९३ मा डिजाइन गरी २००२ देखि मनाउन थालिएको हो । जैविक विविधता सङ्कटमा पर्दै आइरहेको वर्तमान परिप्रेक्ष्यमा यो दिवसको सार्थकता तथा महत्व अझै बढेको छ । जैविक विविधताको बारेमा जनचेतना जगाउन र दिगो विकासको लक्ष्य हासिल गर्नलाई यो दिवस मनाउने गरिएको हो ।

जैविक विविधिता दिवसको यस वर्षको नाराले दिगो विकास लक्ष्यका छ वटा एजेण्डालाई सम्बोधन गरेको छ । आशा राखिएको छ कि यो नाराले(दिगो विकास लक्ष्य) एसडीजी २ अर्थात् भोकमारी हटाउन सहयोग गर्छ । त्यसैगरी एसडीजी ३ को असल स्वास्थ्य, ६ को स्वच्छ पानी, १३ को जलवायु कार्य, १४ को पानीभित्रको जीवन र १५ को जमिनमा रहने जैविक विविधतालाई छोएको छ ।

यस धर्तीमा आजका दिनमा ब्याक्टेरिया चार हजार प्रजाति, सूक्ष्मजीवहरू ८० हजार प्रजाति, ढाड भएका जनावरहरू ५२ हजार प्रजाति, ढाड नभएका जनावरहरू १२ लाख ७२ हजार प्रजाति, ढुसी ७२ हजार र वनस्पति दुई लाख ७० हजार प्रजातिको अस्तित्व पहिचान भएको विभिन्न संस्थाहरूका वेभसाइटहरूमा जनाइएको छ । तर संसारको जति जैविक सम्पति वा विविधता छ सोको ७० प्रतिशत अष्ट्रेलिया, ब्राजिल, चीन, भारतलगायत जम्मा १२ वटा देशले हिस्सा जमाएका छन् ।

जैविक विविधता जति बलियो रहन्छ मानिसको जीवनको ग्यारेन्टी पनि उति नै हुने हो । त्यसो भएमा मानिसले सजिलै खानेकुरा जुटाउन सक्छ, भनेजस्ता र चाहिएजस्ता खानेकुरा खान पाउँछ । परिणामस्वरुप स्वास्थ्य पनि बलियो हुने हो । सम्झौँ न हाम्रो भान्सामा खानेकुराको विविधता हुनु र नहुनुमा कति फरक छ ।

स्वास्थ्य असल राख्न जैविक विविधता जोगाउनु पर्ने रहेछ भन्ने चेत आए पनि जोगाउन भने ठूलो चुनौति छ । नेचर नामको विश्वप्रसिद्ध विज्ञान पत्रिकाको एक लेखमा लेखिएको छ – ‘हाम्रो खानामा प्रयोग हुने तीन सय प्रजातिका वनस्पति अति नै सङ्कटापन्न अवस्थामा पुगेका छन् । उच्च खाद्यतत्व भएका दुई सय ३७ सङ्कटापन्न र दुई सय ६७ दुर्लभ भएका छन् ।’

जैविक विविधताको समूहगत विलय (मास एक्स्टिन्सन) हुँदै आएको अर्को खतराको सूचक तथ्याङ्क हाम्रा बीचमा छ । सन् १९७० देखि २००५ सम्म आइपुग्दा जमिनबासी ३३ प्रतिशतले जीवहरूको संख्यामा कम भएर आयो । उसैगरी समुद्री जीवको संख्यामा १४ प्रतिशतले कमी भएको थियो । कम लवणयुक्त पानी (फ्रेस वाटर) मा बस्ने जीवहरूको संख्या उक्त ३५ वर्षको अवधिमा ३५ प्रतिशतले नै झरेको तथ्याङ्क बाहिर आएको छ । अबको दशकमा १० लाख जीवजन्तु मासिने प्रक्षेपण विश्व वैज्ञानिकहरूको हालै सम्पन्न एक सम्मेलनले गरिसकेका छन् । वातावरण र विकासका लागि अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले जनाएअनुसार ल्याटिन अमेरिका, अफ्रिका, दक्षिण पूर्वी एशियामा कृषिकै कारणले जैविक विविधता मूलतः विनाश भइरहेको छ । सन् १९६१ देखि २००७ सम्ममा चीनमा कृषिजमिन ६१ प्रतिशतले वृद्धि भएको छ । दक्षिण एशियामा ४० प्रतिशतले कृषिभूमि बढेको पनि सोही संस्थाले उल्लेख गरेको छ । यसले के जनाउँछ भने जैविक विविधता मासियो कृषि क्षेत्र बढ्यो । त्यसो भए कृषि विविधता बढ्यो ? त्यो पनि होइन कृषिमा विविधता उँभो लागेको छैन । सीमित तथा उच्च मात्रामा उत्पादन दिने किसिमका बालीनालीको मात्र प्रभुत्व देखिएको छ । यो राम्रो कुरा होइन । आज विश्वमा हेर्ने हो भने धेरै मानिसले एकै किसिमको खानेकुरा खान थालेका छन् । यो पनि उस्तै नराम्रो कुरा हो ।

पछिल्लो एक सय वर्षमा ९० प्रतिशत कृषिजन्य पदार्थको विविधता समाप्त भएको छ । घरेलु जनावरका आधाजसो बीउ मासिएका छन् । विकासे वा हाइब्रिडले स्थान जमाएको छ । अहिले खास मस्त्यक्षेत्र जे जति छन् तिनीहरूको १७ प्रतिशत औधी दोहनमा परेका छन् । रैथाने खानेकुरा हराउँदै गएका छन्, आदिवासीका सीप मिसिएका परिकार हराएका छन्, स्थानीय उत्पादन लोप भएर गए अनि परम्परागत औषधी पद्धति पनि लोप हुन थालेको छ । आज चाउचाउ चाउमिन, ममजस्ता खानेकुरा विश्वप्यापि बनेका छन् । पिजा, बर्गरले बजार जमाउँदै आएको छ । नेपालमै केही वर्षअघिसम्म पहाडका मानिस र तराईका मानिसको भान्सामा निकै भिन्नता हुन्थ्यो तर आज खास त्यस्तो छैन । पहाडमा अधिकांश खेतीपाती मासिएको छ तराईकै उत्पादनले पहाडलाई ख्वाइरहेको छ । यो अवस्था आउनु भनेको स्वास्थ्य र जैविक विविधताको हिसाबले अति खराब हो । तसर्थ यस वर्षको जैविक विविधताको नारा यसबमोजिम तय भएको रहेछ । जब खाद्यवस्तुको विविधता मासिन्छ तब कुपोषण, मोटोपना र यीबाट सिर्जित रोगको प्रकोप बढेर आएको ठहर सम्बन्धित विज्ञहरूले गरेका छन् ।

अर्को एउटा यस्तो तथ्याङ्क छ कि विगत ५० वर्षमा खाद्यान्न उत्पादनमा तीन सय प्रतिशत वृद्धि भएको छ र खानेदरमा १५ प्रतिशत बढेको छ । यसको अर्थ पहिला एक किलो खान्थ्यो कोही मानिसले एक दिनमा भने अहिले एक किलो एक सय ५० ग्राम खान्छ । उत्पादनमा वृद्धि त भयो तर केही निश्चित बालीको मात्र खेतीपाती गरेर उत्पादन बढाइएको हो । यो होइन कि कृषिजन्य जीवको विविधतामा पनि वृद्धि भयो । आजको विश्वका मानिसको भान्सामा चामल, गहुँ, मकै, केही दलहनले अड्डा जमाएका छन् । तर पूर्खाहरूको हेर्दा सात हजार प्रजातिका जीव फरक जातिका वा फरक सँस्कृतिका वा फरक भूगोलका मानिसहरूले फरक किसिमले खानमा प्रयोग गर्थे ।

नेपाल जैविक विविधतामा धेरै धनी छ । नेपाल सरकार कृषि मन्त्रालयले सन् २०१७ मा प्रकाशन गरेको खाद्य र कृषिका लागि नेपालको जैविक विविधता भन्ने अंग्रेजी भाषाको पुस्तकमा उल्लेख भएअनुसार यहाँ एक सय १८ प्रकारका पारिस्थितिक प्रणाली, १२ प्रकार पर्यावरणीय क्षेत्रहरू र आठ प्रकारका हावापानीका क्षेत्रहरू छन् । नेपालमा पाइने करिब सात हजार प्रजातिका वनस्पतिमध्ये सात सय ९० प्रकारका खानहुने किसिमका छन् । तीमध्ये पाँच सय ७७ प्रजातिको खेतीपाती गरिन्छ । उही पुस्तकमा लेखिएअनुसार तीमध्ये चार सय ८४ प्रजाति चाहिँ रैथाने किसिमका छन् भने ९३ प्रजाति आयातित छन् । करिब दुई सय २४ प्रजाति खाद्ययुक्त वनस्पति जङ्गली अवस्थामा नेपालमा छन् । यो अवस्थालाई कृषि विविधताको असल पक्ष मान्न सकिन्छ । तर खाद्यन्नको प्रभुत्व हेर्दा खुशी हुने ठाउँ छैन । कुल खाद्यान्न पूर्तिको ४५ प्रतिशत चामलले धानेको छ । यसैगरी २० प्रतिशत मकैले, १८ प्रतिशत गहुँले पाँच प्रतिशत कोदो र ३ प्रतिशत आलुले लिएको छ । बाँकी अन्य बालीनालीले हाम्रो खानेकुराको माग पूरा गरिरहेका छन् । विज्ञहरू भन्छन् यसमा अझै विविधता हुन जरुरी छ । यस्तो खानेकुराले सन्तुलित भोजनको काम गर्न सक्दैन र रोगबाट सुरक्षित राख्न नि सक्दैन ।

हाल विश्वमा मिचाहा प्रवृति भएका जीवहरूले शासन जमाइरहेका छन् । सन् १९७० यता ७० प्रतिशत मिचाहा जीवले मिचेर २० प्रजातिका स्थानीय खाद्यतत्व युक्त वा मानिसले खाइरहेका जीव अति सङ्कटमा परिरहेका छन् ।

वायोडाइभर्सिटी इन्टरनेशनल भन्ने संस्थाले अनुमान लगाएअनुसार सन् २०५० सम्ममा प्रत्येक साल कृषि विविधतामा दुई प्रतिशतले गिरावट आइरहन्छ । यस्तो स्थितिले निरन्तरता पाएमा जैविक विविधतामा क्षति, खाद्यान्न विविधितामा क्षति र मानव स्वास्थ्यमा क्षति त निश्चित भयो । यसका साथै सँस्कृति र साँस्कृतिक विविधतामा समेत खलल पुग्छ । विश्व खाद्य तथा कृषि संगठनका निर्देशक ग्राजिएनोडा सिल्भाले भनेका छन्–‘ खानेकुरा जो हामी खान्छौँ, यो प्रोटिन र भिटामिनको मात्रा मात्र होइन, यो हाम्रो फरक सभ्यताको आधार पनि हो ।’

जैविक विविधताको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । जति जैविक विविधता उति नै हाम्रो खानेकुरामा पनि विविधता आउँछ अनि खानेकुरामा जति विविधता उति नै हाम्रो असल स्वास्थ्य कायम हुन्छ । सँधै स्वास्थ्यवद्र्धक खानेकुरा खान पाइन्छ । यसकारणले यस वर्षको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसले दिएको सन्देशलाई विस्तार तथा अनुसरण गरौँ ।

Facebook Comments